आज चन्द्रमास अनुसार चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि वायपुत्रु हनुमानको जन्मोत्सव ! अनेकानेक गुणले भरिपूर्ण भएका बुद्धिमान, ज्ञानी, बलशाली, वीर पराक्रमी भगवान्को दर्जा पाएका हनुमान जन्मोत्सव भक्तिभावले हर्षोलास पूर्वकमानौं र मनाऔं ।
नायेवं वेगवान् वायुर्गरुडो न मनस्तथा ।।
यथायं वायुपुत्रस्तु क्रमतेऽम्बरमुत्तमम् ।। -वा.रा.उत्तर३५।२६
जुन प्रकारले उँचा आकाशमा वेगपूर्वक उडिरहेका छन् । त्यस्तो वेग क्षमता न त उनकै पिता स्वयं वायुमा छ, न त गरुडमा छ भने न त मनमानै हुनसक्छ यस्ता हनुमानको उत्पत्ति तथा उनका लीलाका बारेमा केही रहस्यहरू उल्लेख गर्ने अनुमति चाहन्छु ।
विभिन्न पुराणहरूमा हनुमानका बारेमा धेरै रहस्यहरू भएकाले ती सबै रहस्य यहाँ वणर्न गर्न गाह्रो पर्दछ । त्यसर्थ यहाँ केही रहस्यात्मक दृष्टान्त मात्र वणर्न गरेको छु । हुन त हनुमानलाई वाली र सुग्रीव दुवैसँग भएको बल बराबरको बलशाली छन् भनी भानुभक्तीय रामायणमा लेखिएको छ ।
हनुमान विनाको रामायण पनि कल्पना गर्न सकिने देखिंदैन । प्रथमतः सीता खोजमा समुद्र लंघन, लक्ष्मण मुर्छा भएको बेला संजीवनी बुटी पत्ता लगाई अति शिघ्र पहाडै बोकेर लिएर आउन समर्थ भएको र रामाश्वमेध यज्ञमा भगवान् शङ्करसँग बराबरी युद्ध गर्न सक्ने हौसला तथा सामर्थ्य भएका, अझ रावण सँगको युद्घमा राम लक्ष्मण सुतेको अवशर पारि राक्षसले मायाद्वारा हरण गरी पाताल लगि नरबली दिन ठिक पारेको समयमा उनले चतुर्याँईंपूर्वक राम लक्ष्मणलाई पाताललोकबाट मुक्त गराएरआफ्नो पुरुषार्थ देखाएको दृष्टान्त कसैमा छिपेको छैन ।
हनुमान विनाको रामायण पनि कल्पना गर्न सकिने देखिंदैन । विभिन्न पुराणहरूमा हनुमानका बारेमा धेरै रहस्यहरू भएकाले ती सबै रहस्य यहाँ वणर्न गर्न गाह्रो पर्दछ । हुन त हनुमानलाई वाली र सुग्रीव दुवैसँग भएको बल बराबरको बलशाली छन् भनी भानुभक्तीय रामायणमा लेखिएको छ ।
तसर्थ, यहाँ पनि हनुमानको केही लीला प्रस्तुत गरेको हूँ । रामायणका रहस्यहरूलाई अध्ययन गर्दा रामभक्त हनुमानका विषयमा तथा उनको उत्पत्तिको बारेमा पनि अध्ययन तथा सन्धान गर्नु हाम्रो समाजका धर्मानुरागीको परम कर्तव्य हुन आउँछ । त्यसर्थ, यहाँ भगवान् महावीर हनुमान्को उत्पत्तिको विषयमा केही रहस्य उद्घाटन गर्ने धृष्टता गरेको छु । यसमा केही फरक तथा अन्यथा हुन गएमा सकारात्मक सुझावको अपेक्षा गर्दछु ।
हनुमानको जन्मका सम्बन्धमा खोज गर्दाराम जन्मको प्रसङ्गलाई नै जोडेर अध्ययन गर्नु पर्ने देखी सोही बमोजिम यहाँ पनि राम जन्मकै पृष्ठभूमिबाट अनुसन्धान गरिएको छ । राजा दशरथले ऋष्यश्रृङ्गनाम गरेको ऋषिद्वारा पुत्रेष्ठि यज्ञ गर्दा स्वयं अग्नि देवबाट जुन दिव्य पायश प्राप्त भएको थियो, स्वयं अग्नि देव प्रकटभै दिव्य पायश दशरथलाई दिनु भयो, यस्तै वालमीकि रामायणमा प्रजापति पुरुष प्रकट भएको भनिएको छ ।
त्यो पायश गुरु वशिष्ठको आज्ञाले राजा दशरथले आफ्ना तीनवटै रानीहरूलाई खान दिए जब रानीहरूले त्यो पायश हातमा लिएका थिए त्यसै बखत एउटा बाझ (गृद्धिनी) आएर कैकेयीको हातबाट उक्त पायश लुटेर लगिन् । कैकेयीको भाग लुटिएपछि दशरथका दुई वटी रानी कौशल्या र सुमित्राले कैकेयीलाई आ-आफ्नो भागबाट आधा-आधा पायश खान दिए । त्यो पायश खाएपछि रानीहरू गर्भवती भए ।
लुटेर लगेको पायश बाझीनीले (गृद्धिनी) जंगलमा तपस्या गरीरहेकी अञ्जनी नामक वाँदर्नी छेउ खसाली दिएको र त्यो पायश वायुद्वारा कपडा उडाएर अञ्जनीको गुप्ताङ्गमा प्रवेश भएपछि उनी गर्भवति भई हनुमानको जन्म भएको भनी विभिन्न रामायणमा उल्लेख गरेको पाइन्छ । हनुमानको जन्म प्रसङ्गलाई शास्त्रहरूमा पनि फरक-फरक मतद्वारा व्याख्या गरेको पाइन्छ ।
यसरी विभिन्न शास्त्रहरूलाई अध्ययन तथा विश्लेषण गर्दा विभिन्न रहस्यहरू उद्घाटन हुन जान्छ । हनुमानलाई स्मरण गर्दा वा प्रार्थना गर्दा वायुपत्र, पवन पुत्र, अञ्जनीबाट जन्म भएकोले अञ्जनी पुत्र र अञ्जनीका पति राजा केशरीको छोरा भएकोले केशरीनन्दन भनिन्छ । भगवान् शिवद्वारा भगवान् रामसँगै जन्म लिई रामको कार्यमा सहयोग पुर्याउन हनुमान भै जन्म लिएको भन्ने दृष्टान्तहरू पनि कुनै कुनै पौराणीकज्यूहरूले पुराणको वाचनका क्रममा ब्याख्या गरेको पाइन्छ । तसर्थ, हनुमानलाई रुद्रावतार, रुद्राँश, द्वादशरुद्र भनेर पनि पुकार्ने गरीन्छ ।
भगवान् रामले आफ्नो जन्म कुन उद्देश्यबाट प्रेरित छ त्यस उद्देश्यलाई मूर्तरूप दिन हनुमानको जन्म पनि सँगै गराएको हो किनकी राजा दशरथको यज्ञबाट प्राप्त पायशलाई शापित गिद्धिनीद्वारा जंगलमा पुर्याईएको, आफूलाई परेको शापमा वानरको सहायता लिनु परोस् भन्ने भएकोले भगवान् लाई सहयोग गर्ने वानर पनि त दिव्य, प्रभावशाली तथा देवांश नै हुनु पर्यो । त्यसर्थ, आफ्नै जन्म सँगसँगै एउटै यज्ञबाट उत्पन्न हुने निधो गरी प्रपञ्च रचिएको भान हुन्छ । यी सबै दृष्टान्तहरूलाई चिन्तन गर्दा एउटा नयाँ रहस्य उद्घाटन हुन आउँदछ । यसै गरीः
मारुतस्यौरसः श्रीमान् हनूमान नाम वानरः ।।
वज्रसंहननोपेतो वैनतेयसमो जवे ।।
सर्ववानरमुख्येसु बुद्धिमान् बलवानपि ।।
ते सृष्टा बहुसाहस्रा दशग्रीववधोद्यताः ।।-वा.रा बालकाण्ड १७।१६-१७
हनुमान नाम गरेका ऐश्वर्यशाली वानर वायुदेवको औरश पुत्र हुन् । उनी वज्रसमान शरीर भएका सुद्दृढ छन् भने हिड्न तथा उड्नमा गरुड समान छन् ।श्रेष्ठ वानरमा यी हनुमान सवभन्दा बुद्धिमान् बलवान् थिए यस प्रकार कयौं हजार वानरहरूको उत्पत्ति भयो र ती सवै वानरहरू रावण मार्नका खातिर उद्यत भएका थिए ।
हनुमानको जन्मलार्ई चिन्तन गर्दा र आनन्द रामायणमा उल्लेख गरेको श्लोक
चैत्र मासि सिते पक्षे हरि दिन्यां मघाऽभिदे ।।
नक्षत्रे च समुत्पन्नो हनुमान् ऋपुसूदन ।।-आन्नद रामायण सारकाण्ड सर्ग १३। १६२
चैत्र महिनाको शुक्ल पक्षको हरि दिन (हरि दिन भनेको हरि भगवान्को दिन अर्थात् एकादशीलाई बुझाउँछ) एकादशी मघा नक्षत्र भन्ने बुझाउँदछ । (तर नेपालमा हनुमान जयन्ती भनेर चैत्र शुक्ल पूर्णिमाको दिन मनाउने गरिन्छ भने नेपालको पञ्चाङ्गमा पनि पूर्णिमाकै दिन हनुमान जयन्ती भनेर उल्लेख गरेको पाइन्छ ।)
यसलाई विचार गर्दा एउटै यज्ञबाट प्राप्त पायशलाई दशरथ प्रियाहरूले भोजन गरेको र अञ्जनाले भोजन गरेको समय पनि केही समय मात्र फरक परेकोले हनुमान जन्म राम जन्मभन्दा दुई दिन पछि अर्थात् एकादशीको दिन नै भएको भनेर बुझ्नुपर्दछ । साथै, भगवान् रामसँगै चार वटै दाजु भाईहरूको जन्म पूर्णिमाभन्दा पहिले नै भएको भन्ने बुझ्न सकिन्छ किनकी मैले यस सन्धानमार्फत भगवान् हनुमानलाई राम, लक्ष्मण लगायतका चार भाईको जन्म र हनुमानको जन्म एकै यज्ञको अग्निबाट उत्पन्न भएको अग्निदेव प्रदत्त पायश प्राशन गरेर रहन गएको गर्भबाट जन्म भएकोे बुझिन्छ ।
एउटै यज्ञ एउटै पायश, आमाहरू मात्र फरक-फरक भएको हुँदा हनुमानलाई पनि भरत, लक्ष्मण, शत्रुघ्न जस्तै भगवान् रामजीकै भाइ हुन् भनेर मान्दा पनि फरक पर्ला जस्तो नलागेको हुँदा यहाँ मैले हनुमानलाई पनि रामजीकै भाई हुन् भनेर लेख्ने साहस गरेको छु ।
हनुमानको पराक्रमलाई पनि हामीले कम आँक्नु हुँदैन । एकदिन उनले भोक लाग्यो भनी सूर्यलाई निल्ने प्रयत्न गरेको र अर्को दिन ऐरावत हात्तीलाई नै आक्रमण गरेको प्रसङ्गमा लौकिक अर्थभन्दा पनि यसको भाव तथा गुह्य रहस्य रहेको बारेमाकेही प्रकाश पार्न चाहन्छु ।
हनुमानले किन इन्द्रकै बाहन हात्तीलाई आक्रमण गर्न पुगे अन्य देवताको वाहनहरूलाई किन रोजेनन् भन्ने विषयमा साह्रै ठूलो रहस्य लुकेको छ । हात्तीको अङ्गहरूको विवेचना गर्दा अन्य प्राणाीहरूको भन्दा सबै अङ्गहरूको फरक विशेषता भएको पाइन्छ । यहाँ धेरै विवेचना गर्नुभन्दा संक्षिप्त विवेचना गर्ने जमर्को गरेको छु । हात्तीको अङ्गहरू अन्य जीवभन्दा भिन्न तथा अलौकिक भएको श्रुतिस्मृति, पुराणहरूमा वणर्न पनि गरीएको छ ।
पौराणिक आधारहरूलाई लिंदा स्कन्ध पुराण तथा गणेश पुराणमा हात्तीको टाउको भएका गणेशजी देवहरूमा प्रथम पूज्य मानि सबै देवहरूले पनि त्यस संस्कारलाई मान्यता दिंदै आएको यहाँ लेख्न उचित ठान्दछु । हामीहरू कुनै पनि धार्मिक वा शुभकार्य गर्दा अर्थात् लेख्दा माथि “श्री गणेशाय नमः” लेख्ने गर्दछौं त कुनै कार्य शुरु गर्ने भन्दा आज निज कामको श्री गणेश गरियो भनेर पनि भन्दछौं । त्यसै गरी गणेशको स्वरूप समेतको वयान गरीएको मन्त्र-
बक्रतुण्डमहाकाय कोटि सूर्य समः प्रभः ।।
निर्विघ्नंकुरूमे देव सर्वकार्येषु सर्वदा ।। -गणेश प्रार्थना मन्त्र
उक्त मन्त्र उच्चारण गरी पूजन गरी कार्यारम्भ गर्ने शास्त्रीय नियम हामीहरूले आदि कालदेखि नै पालन गर्दै आइरहेका छौं । यसलाई हाम्रो अन्तःकरणमा स्थापित गरेका छौं । हुन त गण भन्ने वित्तिकै त्यहाँ आई पर्ने बाधा विघ्नलाई पन्छाउन सक्ने क्षमतावान संरक्षक तथा सुरक्षाकर्मी भनेर चिन्न तथा जान्न सकिन्छ भने आधुनिक युगमा यस शब्दलाई सामरिक बलको समूह तथा सैनिकदस्ता भनेर चिनिन्छ ।
हुन त गण भन्ने वित्तिकै त्यहाँ आई पर्ने बाधा विघ्नलाई पन्छाउन सक्ने क्षमतावान संरक्षक तथा सुरक्षाकर्मी भनेर चिन्न तथा जान्न सकिन्छ भने आधुनिक युगमा यस शब्दलाई सामरिक बलको समूह तथा सैनिकदस्ता भनेर चिनिन्छ ।
हात्तीको प्रसङ्गमा हात्ती भन्ने वित्तिकै सृष्टिको स्थलचरमा सवभन्दा ठूलो प्राणी हो । सवभन्दा ठूलो टाउको भएको, ठूलो कान, नाक, आँखा, दाँत, पेट, खुट्टा आदि अङ्गहरू देखिनेमा पर्दछन् भने नदेखिनेमा पनि मगज आदि पर्दछ । मगजबाट (टाउको) आधुनिक समयमा धेरै सन्धान गर्दा पनि हात्ती जति बुद्धिमान र सवभन्दा बढी स्मरण शक्ति भएको प्राणी नभएको प्रमाणहरू पाइन्छन् ।
आधुनिक मानवहरूलाई आफ्नो दृष्टिकोण कस्तो बनाउने भन्ने हात्तीको आँखाबाट प्रेरणा लिन सकिन्छ । परमपिताले सृष्टि गर्दा अरू प्राणीको आँखाभन्दा ठीक विपरित अर्थात् आफ्नो अगाडिको वस्तुलाई अरू जीवले सानो देख्दछ भने हात्तीले विपरित आफूभन्दा ठूलो देख्ने धेरै सन्धानबाट प्रमाणित भएको छ । अन्यथा त्यस्तो भिमकाय शरीर भएको स्थल सृष्टिमै ठूलो प्राणीले प्रलयनै मच्चाउने थियो ।
तसर्थ हात्तीले आफूभन्दा अरूलाई ठूलो देख्ने गुण भएको भनी सृष्टिमा हात्तीले “फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र” भन्ने भनाईलाई कृतार्थ गराउँदछ । साथै ठूलो प्राणी भैकन अरूलाई आफुभन्दा ठूलो देख्ने प्रेरणाको स्रोत नै भएको सन्धानबाट प्रमाणित भएको पाइन्छ ।
यसै गरी हात्तीले मानवभन्दा विपरित आफू भन्दा अरूलाई तुच्छ सम्झने र अरूलाई हेलत्व गरी हेर्नेभन्दा यसको ठीक विपरित दोस्रो प्राणीलाई सम्मान गरी ठूलो देख्ने शिक्षा हात्तीबाट मात्र लिन सकिन्छ । अर्को हात्तीको नाकको सम्बन्धमा विवेचना गर्नु पर्दा संसारमा नाक शब्द कूल-परम्परा तथा पूर्वजहरूको संस्कारको प्रतिष्ठाको अर्थ प्रयुक्त हुन्छ र कुनै कसैको छोराछोरीले निकृष्ट कार्य गरेमा हाम्रो नाकै काटी दियो भनी प्रतिकात्मक कुरा गर्ने प्रचलन हाम्रो समाजमा अझै पनि विद्यमान रहदै आएको छ ।
। त्यसर्थ, आफ्नोप्रतिष्ठित कूल तथा पूर्वजको नाकलाई जोगाउन हात्तीको लामो नाकबाट प्रेरणा लिनु उचित देखिन्छ । सृष्टिमा पनि हात्तीको जति लामो नाक अन्य प्राणीको नभएकोले पनि इज्जत प्रतिष्ठाको सन्दर्भमा लामो नाक अर्थात् नाकको इज्जत् राख्नुलाई स्वीकृत कार्य मान्ने गरिन्छ ।
हनुमान्जीले अन्य प्राणीलाई आक्रमण नगरी आफू पनि सवभन्दा विवेकी, विद्वान, ज्ञानी-गुणी बन्नको लागी नै पहिला सूर्यलाई निली निस्वार्थ तथा ज्ञानी वन्ने र हात्ती जस्तै सर्वोत्कृष्ट प्राणी भएको पुष्टि गर्न हात्तीलाई गणेश सम्झी निकट गएको हुन सक्ने मेरो लौकिक अर्थ भन्दा पनि भावार्थलाई प्रकाश पार्ने हेतुले यी प्रसङ्ग वणर्न गर्ने जमर्को गरेको हूँ ।
रामायणमा भगवान् राम जस्ताले पनि सहायता लिनु पर्ने प्राणीलाई रोज्नु पर्दा साक्षात् भगवान् शिवको अंश, एउटै यज्ञबाट प्राप्त अग्नि प्रदत्त दिव्य पायशबाट उत्पत्ति भएका ज्ञानी प्राणीको आवश्यकता समेत महशुस भै हनुमत् उत्पत्ति जस्ता विषय प्रपञ्च रचिएको हो भन्नलाई नहिच्कीचाई आफ्नो मत राख्ने धृष्टता गरेको हूँ । भगवान् सूर्यले हनुमानलाई चेला वनाएर ज्ञान दिनुभएको पौराणिक दृष्टान्तले यस आशयको पुष्टि गर्दछ । अस्तु !
*लेखक सुरेन्द्रप्रसाद सिग्देल धर्म संस्कति विषयक अन्वेषक हुनुहुन्छ । उहाँको नेपाल प्रज्ञा प्रतिष्ठानबाट रामायण रहस्य नामक कृति प्रकाशित छ ।