२९ कार्तिक २०८१, बिहीबार

आदर्शपुरुष भगवान् श्रीरामवाट अहिलेका शासकले सिक्नुपर्ने शिक्षा


राम नवमी

काठमाडौँ । आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ ।

राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदैछ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए ।

त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् ।

रामका तीन भाइ थिए- लक्ष्मण, भरत र शत्रुघ्न । रामायणका अनुसार भगवान् विष्णुले आˆना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (१३ कला), लक्ष्मण (२ कला), भरत र शत्रुघ्न क्रमशः एक एक कलामा विभाजित गरेर चारजना पुत्रको रूपमा जन्म लिएका थिए । रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि थुप्रै नामले चिनिन्छ ।

मर्यादा पुरुष श्रीराम पितृ वचन पालन गर्नेहरूमध्ये एक अग्रणी हुन् । हनुमान रामका सबैभन्दा ठूला भक्त मानिन्छन् । रामले राक्षस जातिका खर, दूषण, त्रिशिरा, कुम्भकर्ण तथा वानरराज बालिका साथै राक्षसराज रावणको वध गरे । हिन्दू धर्मका दसैं, रामनवमीजस्ता चाडपर्व रामको जीवन कथासँग जोडिएका छन् ।

‘राम’ को अर्थ लगाइन्छ- रमन्ते योगिनो यस्मिन् स रामः । अर्थात् योगीगण ध्यानका क्रममा जसलाई देख्छन्, जसमा योगीहरूको चित्त रमाउँछ उनै राम हुन् । तन्त्रशास्त्रमा रामको अर्थ छ- कल्याणकारी अग्नि एवं प्रकाश ।

उनै परमात्माका अवतार भनिएका रामका जीवनका अनेकौं आयाम छन् । उनका कर्म हेरेर कसैले उनलाई मर्यादा पुरुषोत्तमका रूपमा सम्मान गरे भने आधुनिक युगका कतिपयले उनको सोही कर्ममा खोट लगाउने गरिएको समेत पाइन्छ ।

रामका जीवनमा केही यस्ता प्रसंग छन् जसका आधारमा उनको मूल्यांकन गर्न सकिन्छ । उल्लेख्य कुरा के छ भने रामका तार्किक विरोध गर्नेहरूले समेत राम आफैंमा खराब थिएनन् बरु आसेपासे, सल्लाहकार व्राह्मणवर्ग तथा ऋषिमुनि आदिको दबाबका कारण वर्तमान परिप्रेक्ष्यमा गलत काम गरेका हुन् भनेका छन् ।

रामको जीवनकाल र पराक्रम महर्षि वाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा वणिर्त छ । तुलसीदासले पनि भक्ति काव्यका रूपमा श्री रामचरितमानसको रचना गरेका थिए । नेपालमा पनि आदिकवि भानुभक्त रामायणकै कारण ख्यातिप्राप्त छन् । राम उत्तर भारत र नेपालमा धेरै पूजनीय छन् । उनी हिन्दूहृदय सम्राट् तथा आदर्श पुरुष हुन् ।

आफ्नो सुखको पछि नलाग्ने, मान्यजनको आदेश शिरोपर गर्ने, एक पत्नीव्रत पालन गर्ने तथा कर्तव्य निर्वाहका लागि कुनै सम्झौता नगर्नेजस्ता थुप्रै आदर्श गुण छन् राममा । यस्ता आदर्श गुणकै कारण राम भगवान्कै रूपमा पुजिएका हुन् । उनले संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेका थिए ।

कौशल्यापुत्र श्रीराम आफ्ना भाइ लक्ष्मण, भरत, शत्रुघ्नलाई समानरूपमा प्रेम गर्थे, उनले माता कैकेयीको १४ वर्ष वनवासको इच्छालाई सहर्ष स्वीकार गर्दै पिताले दिएको वचनलाई पालना गरेका थिए । रामको राज्यमा सारा मानिस खुसी, अनुशासित, मर्यादित र नियन्त्रित थिए ।

भगवान् श्रीरामले आफ्नो जीवन कालमा अनैतिक तथा अव्यावहारिक कार्य कहिल्यै पनि कसैसँग नगरेको कारणले नै भगवान् श्रीरामलाई मर्यादा पुरुषोत्तम भनिन्छ । श्रीरामले जीवनमा कहिल्यै पनि मर्यादाको उल्लंघन गर्नु भएन, माता-पिता र गुरुको आज्ञालाई कहिल्यै पनि किन ? भन्ने प्रश्न गरेनन् ।

भगवान् श्रीराम एउटा आदर्श पुत्र, आदर्श शिष्य, आदर्श भाइ,आदर्श पति, आदर्श पिता, आदर्श राजा थिए र युगौं युगसम्म राम राज्यको ज्वलन्त उदाहरणका रूपमा स्थापित भए ।

पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकोले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका हुन् । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको हो ।

भगवान् श्रीरामले लोककल्याणको निमित्त जुन सन्देशहरू दिएका थिए, त्यसले भूत, भविष्यत र वर्तमान तीनै कालमा सबैले लोक कल्याणको निमित्त अनिवार्य रूपले पालन गर्नुपर्ने हुन्छ । जसले मर्यादा तोडदछ, जो लोकहितका विरुद्ध स्वार्थपूर्ण पापकृत्यमा लाग्दछ, जसले सच्चरित्रताको अपमान गर्दछ, त्यस्तो व्यक्तिले सज्जनको बिचमा कहिले पनि सम्मान पाउँदैन । मानिस आफूलाई जतिसुकै वीर पुरूषार्थी मानोस् ऊ कुलीन हो वा अकुलीन हो, पवित्र हो वा अपवित्र हो यो उसको चरित्रले नै स्पष्ट बताउँदछ ।

हामीहरूले सुनेका छौं आफ्नो प्रतिज्ञा पूरा नगर्ने, चञ्चल र अस्थिर मनोवृत्तिको कर्तव्यच्युत पुरूषप्रति न देवताहरू न पितृहरू आशावान् हुन सक्छन् अर्थात् त्यस्ता मानिसबाट कुनै पनि गर्व गर्नलायक उत्तम कार्यको आशा रहँदैन । यसैले मानिस मर्यादाशील हुनुपर्छ, पुरुषार्थी बन्नुपर्छ मर्यादाको सन्देश दिने प्राणी मात्रमा रमण गर्ने र सबैलाई आनन्द गराउने महान् प्रतिभाको नाम नै राम हो ।

मर्यादा पुरूषोत्तमका रूपमा चिनिएका भगवान् रामले जुन रूपमा मानव समाजको मर्यादालाई नमुनाको रूपमा प्रस्तुत गरे त्यस्को सबैले अनुसरण गर्नु अति आवश्यक छ । उनी एक प्रजातान्त्रिक राजा थिए, रामराज्य भएपनि, हामी लिन र मनन गर्न सक्दछौं किनभने उनले आफ्नो देश, समाज र परिवारप्रतिको कर्तव्य र मर्यादाको पालन गर्नुका साथै लोक कल्याण कसरी गर्न सकिन्छ भनी आफूलाई उत्सर्ग गर्नु परे पनि कम्मरै कसेर अमर कीर्ति प्राप्त गरे ।

जनताको भावनाअनुसार शासन गर्ने विष्णुको अवतारका रुपमा मनुष्य लोकमा जन्म लिई आदर्श शासन गरेका राजा रामवाट अहिलेका देशका शासक भनिएकाहरुले सिक्नुपर्ने शिक्षा धेरै छ । ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुशी राख्न सक्ने राजा हुनुपर्छ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको कारण रामको जीवनबाट अहिलेका शासकले शिक्षा ग्रहण गर्नुपर्ने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !