७ मंसिर २०८१, शुक्रबार

लगातारको बर्षाले मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति


इँटा उद्योग

धनुषा । बिहीबारदेखि भएको लगातारको वर्षाका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ ।

तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इँटा तयार पार्ने याम भएकाले सबै इँटा उद्योगहरुमा काँचो इँटा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इँटाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन् ।

उद्योग सञ्चालकहरूका अनुसार एउटा इँटा उद्योगमा कम्तीमा रु २५ देखि ३० लाख मूल्य बराबरका काँचो इँटा वर्षाका कारण नष्ट भएका छन् । इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले भन्नुभयो, “वर्षाका कारण इँटा उद्योगहरुमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ ।” उहाँले वर्षाले उद्योगीहरु उठ्नै नसक्ने गरी क्षति पुगेको बताउँदै उहाँले भन्नुभयो, “तत्काल उद्योग सञ्चालन गर्ने अवस्था रहेन । अर्बौंको क्षति भएको छ ।”

अध्यक्ष यादवकाअनुसार मधेस प्रदेशका सबै जिल्ला गरी ६०० इँटा उद्योग सञ्चालनमा छन् । एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए । तयारी भएको इँटाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ । एक–दुई महिना लगाएर तयार पारिएको इँटा पुस–माघमा भट्टीमा पोल्ने गरिन्छ । काँचो इँटा तयार पार्न उद्योगले सयौँको सङ्ख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइलासमेत खरिद गरिएको हुन्छ ।

वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताउनुभयो । उहाँले उद्योग सञ्चालनका लागि फेरि सुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै सञ्चालकहरू दोहोरो खर्चको ठूलो मारमा पर्ने बताउनुभयो । मधेस प्रदेशको धनुषामा मात्रै ८० इँटा उद्योग छन् । यस वर्षाले सबै उद्योगमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलमा सञ्चालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले तयारी गरेर पोल्नका लागि राखेको सबै काँचो इँटा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताउनुभयो ।

इँटा उद्योगका सञ्चालकहरूले कोइला भारतबाट आयात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा कोइलामा भएको दोब्बर मूल्यवृद्धिका कारण उनीहरू थप मारमा परेको सञ्चालकहरुले बताउनुभयो । महोत्तरीको औरही नगरपालिकामा सञ्चालित न्यू मिथिला इँटाभट्टा उद्योगका सञ्चालक रामबाबु चौधरीले इँटा तयार पार्न फेरि सुरुदेखि काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सबै सुरुदेखि गर्नुपर्ने भयो, माटो र कोइला खरिद गर्नुप¥यो । मजदुरलाई पारिश्रमिक दिनुपर्ने भयो, त्यसका लागि फेरि कम्तीमा एक–दुई महिना समय लाग्ने भयो । हामी दोहोरो खर्चको मारमा पर्ने भए ।”

इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीले भन्नुभयोे, “वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भयो । फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने अवस्था भयो ।” उहाँले महोत्तरीमा मात्रै रु २० करोड मूल्य बराबरको इँटा उद्योगमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार महोत्तरी जिल्लाभरि ५२ वटा इँटा उद्योग रहेकामा औरही, रामगोपालपुर र गौशला नगरपालिकामै ३६ वटा रहेको र प्रत्येक इँटा उद्योगमा करिब रु २० देखि ३० लाखसम्मको क्षति भएको बताउनुभयो ।

सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बीमाको व्यवस्था छैन । खुला आकाशमुनि निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो । दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन् । उद्योग सञ्चालकहरूले बीमाको व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन ।

इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले सरकारले बीमाको व्यवस्था नगरेका कारण प्रकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैँ बेहोर्नु परिरहेको बताउनुभयो । उहाँले अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बीमाको व्यवस्था गर्न सरकारसँग पुनः माग गर्नुभयो । उहाँले भन्नुभयो, “बीमाको व्यवस्था गर्न पछिल्लो ५÷६ वर्षदेखि सरकारलाई भनिरहेका छौँ तर सरकारले सुनुवाइ गरेको छैन ।” उहाँले बीमा नहुँदा पटकपटक आइरहने प्रकृतिक विपत्तिले सम्पूर्ण क्षति हामी आफैँले बेहोर्नु परेको छ । सरकारले ध्यान नदिए हामीले कसरी उद्योग सञ्चालन गर्ने ? उहाँको प्रश्न छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !