२४ मंसिर २०७९, शनिबार

‘राष्ट्रपिता पृथ्वीनारायण शाहको तुलना अरूसँग हुन सक्दैन’


पृथ्वीनारायण शाह

काठमाडौँ । आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उनका पाइलामा अघि बढ्दै जानुपर्नेमा इतिहास तथा संस्कृतिविद् र बुद्धिजीवीले आह्वान गरेका छन् ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मी विसं १७९९ चैत २५ गते राजा भएसँगै नेपाल एकीकरण अभियान सुरु गर्नुभएका उनका नेतृत्वमा बाइसे चौबिसे राज्यमा छरिएका भूभागलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरिएको हो ।

विसं २०६२/६३ को दोस्रो जनान्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेकामा राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य गरिएको थियो । विभिन्न जाति र समुदायले सजिएको मुलुकका केही स्थानमा राष्ट्र निर्माताका योगदानलाई सङ्कुचित पार्न एकीकरणको औचित्यमाथि नै प्रश्न उठाउने, सालिक भत्काउनेसम्मका कार्य गरिएका थिए ।

साहित्यकार मोदनाथ प्रश्रित, संस्कृतिविद् डा. रमेश ढुङ्गेल, पर्यटन व्यवसायी भरत बस्नेत लगायतको समूहले राष्ट्र निर्माणको गौरव तथा इतिहासलाई संरक्षण गर्नुपर्ने अभियान सञ्चालन गरेर नुवाकोटलगायत केही भत्काइएका स्थानमा सालिक पुनः स्थापना गरेको थियो ।

मुलुकमा गणतन्त्र स्थापना भएपछि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीलनेपालले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन विचार गोष्ठी तथा शुभकामना आदानप्रदानको शुरुआत गरेको थियो । सो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएपछि पनि पृथ्वीजयन्तीका दिन हुने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

इतिहासको अपव्याख्या गरेर नेपाल एकीकरणकर्ताको जन्मदिनलाई बिर्साउने गरी भएको गल्तीलाई सच्याएर नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर अङ्कित गर्न राप्रपाले माग गर्दै आएको छ । पार्टीले देशैभर रहेका सबै जिल्ला कमिटीलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको छ ।

नेपाली सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा केही वर्षदेखि पृथ्वीजयन्तीका अवसरमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ । सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २७ गते हनुमानढोका आइपुग्ने छ ।

गोरखाका राजा नरभूपाल र रानी कौशल्यावतीका छोराका रुपमा जन्मिएका शाहलाई ‘रामायण’, ‘महाभारत’ र ‘शुक्रनीति’ जस्ता ग्रन्थबाट राज्य सञ्चालनसम्बन्धी ज्ञान दिइएको थियो । इतिहासविद्का अनुसार धनुवाण, तरबार, युद्वकला, घोडसवारी दौडमा युवावस्थादेखि नै शाहको लगाव भएकाले उनी युद्धमा निपुण थिए ।

त्यतिबेला गोरखामा एक हजार २०० घरधुरी थिए । त्यहाँका जनतालाई आवश्यक अन्नपात उत्पादन हुँदैनथ्यो । त्यसैकारण नजिकका कमजोर राज्यलाई समाहित गर्दै काठमाडौँ उपत्यकालाई एकीकरणका माध्यमबाट प्राप्त गर्ने योजना बनाएका शाहले विसं १७९८ मा काठमाडौँ आउँदा गोरखा दरबारबाट ल्याएका केही वस्तु भक्तपुरका राजा रणजित मल्ललाई उपहारका रूपमा दिने अवसर प्राप्त गरेका थिए ।

उनले चाँगुनारायण, पशुपति र गुहेश्वरी दर्शन गर्ने क्रममा उपत्यकाको भूभागलाई एकीकरण गर्ने इच्छा राखेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले तत्कालीन समयमा लमजुङ सैन्य मामिलामा गोरखाभन्दा बलियो भए पनि मुलुकको एकीकरणमा योगदान गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार उनीहरूलाई अर्तीबुद्धि दिने समूह थिएन । राष्ट्रको पुनःएकीकरण गरेका शाहको योगदान अतुलनीय छ ।

मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँँग विवाह गरेका उनले करिब २० वर्षको उमेरमा राजा भएपछि एकीकरणका क्रममा मकवानपुर पनि कब्जा गरेका थिए । विसं १८०१ असोज १५ मा नुवाकोटमा आक्रमण गरी एकीकरणको शुरुआत गरेका थिए ।

एकीकरणका क्रममा शाहले विसं १८१४ देखि तीनपटक कीर्तिपुरमा आक्रमण गरेका थिए । उनले कीर्तिपुरवासीसँग दुई पटक पराजित भएर पनि तेस्रो पटकको प्रयत्नमा विजय हासिल गरेका थिए । काठमाडौँ, ललितपुर र भक्तपुरबाट सैन्य सहयोग प्राप्त गरेको कीर्तिपुरसँगको युद्धमा गोरखाली सेनाले ठूलो क्षति भोग्नुपरेको थियो । त्यसबेला शाहको दाहिने हात मानिने काजी कालु पाँडेको मृत्यु भएको थियो ।

विसं १८२१ मा उनका भाइ शूरप्रतापका नेतृत्वमा दोस्रो पटक कीर्तिपुर आक्रमण भएको थियो । सो युद्धमा उपत्यकाबाट कीर्तिपुरलाई सैनिक सहयोग प्राप्त हुन नसके पनि त्यसका जनताले गोर्खाली सैनिकलाई लखेटेका थिए । शूरप्रतापको आँखा फुटेको थियो ।

कीर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व कालु पाँडेका छोरा काजी वंशराजले गरेका थिए । उनले कीर्तिपुरलाई चारैतिरबाट घेरा हालेर आक्रमण गरी विजय प्राप्त गरेका थिए । वंशराजलाई काजी नियुक्त गरी केहरसिंह बस्न्यातको नेतृत्वमा सैनिक संरचना पुनःगठन गरेर तेस्रो पटकको युद्धमा विजय भएपछि काठमाडौँ उपत्यकाका शासक डराएका थिए । क्रमिकरुपमा ससाना विभिन्न राज्य जोड्ने र त्यसको रक्षा गर्ने रणनीतिमा गोरखाली सेना थियो । त्यतिखेर गोरखालीसेनाले काठमाडौँ उपत्यकामा नियन्त्रण राख्न सकेको थिएन ।

विसं १८२४ असोज १५ गते गोरखाली सेनाले सिन्धुलीगढीमा इस्ट इण्डिया कम्पनी सेनासँग गरेको युद्धलाई महत्वपूर्ण मानिन्छ । काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका इस्ट इण्डिया कम्पनी सैनिक सिन्धुलीगढीमा गोरखाली सेनासँग युद्ध गरी उनीहरूले जितेका राज्यसमेत कब्जा गर्ने उद्देश्यले आएका थिए । पूर्वमा जापानदेखि पश्चिमका ल्याटिन अमेरिकी भूभागमा फैलिएको बेलायती साम्राज्यलाई रोक्न शाहका नेतृत्वमा सञ्चालन भएको एकीकरण अभियानलाई सफल बनाउन अङ्ग्रेजसँग युद्ध भएको थियो ।

सो स्थानमा गोरखाली सेनाले ‘किन लक’ नेतृत्वको दुई हजार ४०० अङ्ग्रेज सैनिकसँग युद्ध गरी एक हजार ६०० सैनिकलाई मारेको इतिहास छ । देशको गौरव बढाउने युद्धका रुपमा त्यसलाई लिइएको छ ।

बेलायती सेनासँग अत्याधुनिक हातहतियार भए पनि गोरखाली सेनाले स्थानीयवासीका सहयोगमा घरेलु हतियारले युद्धमा सफलता कायम गरी मुलुकको भूगोल रक्षा गरेका थिए । सोही कारण नेपालीको शिर सधैँ उच्च रहेको छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा आफूलाई चिनाउँदै आएको छ । करिब दुई हजार ५०० मिटर अग्लो स्थान सिन्धुलीगढीमा अहिले सेनाले पहिलो युद्ध सङ्ग्रहालय निर्माण गरेको छ । रु चार करोड ५० लाख खर्चमा बनेको सङ्ग्रहालयमा तत्कालीन युद्धमा प्रयोग गरिएका सैनिक पोशाक, हातहतियार, अन्य सैन्य सामग्री र त्यस युद्धमा प्रयोग भएका अरू ऐतिहासिक वस्तु तथा सामग्री सङ्कलन गरिएका छन् । त्यसबेलाको सैन्य संस्कृति, युद्धावस्था र हाम्रो सभ्यतासँग जोडिएको सङ्ग्र्रहालयमा तत्कालीन छ शिलालेखसमेत राखिएका छन् । ती शिलालेख देवानगरीमा लेखिएका छन् र केही अस्पष्ट देखिन्छन् ।

काठमाडौँदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गौरवपूर्ण इतिहास बोकेको स्थल पनि हो । विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज हो । विसं १८२५ मा काठमाडौँलाई एकीकरण गरेका गोरखाली सेनाले क्रमशः ललितपुर र भक्तपुरमाथि पनि विजय गरेको थियो । राष्ट्रनिर्माता शाहले शिवपुरी, फूलचोकी, चन्द्रगिरि, महादेवपोखरी, पालुङ, दाप्चा र काहुलेमा बलियो सैन्य किल्ला तयार पार्न र प्रत्येकमा तोप राख्न सुझाव दिएको इतिहास छ ।

विसं २०६२÷०६३ को आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा बिदा कटौतीको निर्णय गरेसँगै सरकारले त्यतिखेरदेखि नै पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा औपचारिक कार्यक्रम आयोजन गर्न छाडेकामा विसं २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले झन्डै ११ वर्षपछि सार्वजनिक बिदा दिएर सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि रहेको शाहको सालिकमा फूलमाला चढाएको थियो ।

त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः बिदा कटौती गरेपछि सरकारीस्तरमै कार्यक्रम भएका छैनन् । नेपाल र नेपालीको नाम र पहिचान दिने शाहका स्मृतिमा पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने पहिलेको परम्परालाई निरन्तरता दिनुपर्ने कवि अमर बान्तुले बताए ।

आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको ‘दिव्योपदेश’ आज पनि उत्तिकै सान्दर्भिक छ । ती उपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र शस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् ।

नेपाल चार जात ३६ वर्णको फूलबारी भएको जनाउँदै त्यसमा घुस लिने र घुस दिने दुवै अपराधी भएको बताइएको छ । त्यस्तै राष्ट्रको समृद्धिका लागि स्थानीय उत्पादनलाई जोड दिइएको छ । स्थानीय सम्पत्ति देशबाट बाहिर जान नहुने, नेपाली जडिबुटीलाई विदेशी भूमिमा बेच्न र यसबाट प्राप्त सम्पत्ति देशमा फिर्ता ल्याउन प्रोत्साहन गर्नुपर्नेलगायत उपदेश अहिले पनि सान्दर्भिक रहेको कवि बान्तुले बताए ।

शाहले दुःखले आर्जेको मुलुकमा बस्ने हामी नेपालीले राष्ट्रनिर्माताका रुपमा उहाँलाई सम्मान गर्नुपर्ने बताउँदै उनले भने, ‘देशै नरहे हाम्रो अस्तित्व हुँदैन, हामी नेपाली हुने थिएनौँ, केही अतिवादीले शाहको फोटोमा थुक्ने गरेका छन्, उनीहरूबाट हामीले के अपेक्षा गर्ने ? ती विखण्डनकारी हुन्, त्यस्ताबाट हामी चनाखो हुनुपर्छ ।”

शाह आदिवासी जनजाति विरोधी नभएको बरु सामाजिक न्याय र समानताको प्रेरक भएको उनले प्रष्ट पारे । कवि बान्तुले भने, ‘ उनको जन्मजयन्ती नमनाउनु भनेको हाम्रो राष्ट्रिय दिवस नमनाउनु जस्तै हो, राष्ट्रपिताको तुलना अरू कसैसँग हुन सक्दैन ।

कतिपय आदिवासी जनजाति संस्थाका अगुवाले राष्ट्रनिर्माता शाहको आलोचना गर्ने गरेका छन् । विश्लेषक विश्वभक्त दुलाल आहूति भने शाह सामन्तवादी राजा भएको जनाउँदै उनले हस्तक्षेपपूर्ण तरिकाले गोरखा राज्य विस्तार गरेर विविधतामा रहेका नेपालीलाई एकल भाषा र संस्कृति अवलम्बन गर्न बाध्य बनाएको विचार व्यक्त गरे । शाहले फरक सभ्यताका बीचमा आदिम सभ्यता लादेको आरोप पनि उनले लगाए ।

राप्रपाका नेता तथा विश्लेषक सुन्दर पाण्डे त्यसबेला शाहका नेतृत्वमा हाम्रा पुर्खाले बल, बुद्धि र विवेकले छरिएका राज्यलाई एकीकरण नगरेको भए आधुनिक नेपालको इतिहास निर्माण हुन नसक्ने बताए । मुलुकमा राष्ट्रिय एकताको भाव जगाउन सरकार र दलहरू लाग्नुपर्ने उनको सुझाव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !