५ आश्विन २०८१, शनिबार

महाधिवेशन प्रतिनिधि भन्छन् : अग्रजको अनुभव र युवाको जोश आवश्यक


नेपाली काँग्रेस बन्दसत्र

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका महाधिवेशन प्रतिनिधिहरुले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोशलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिनुभएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१ औँ शताब्दीमा समयसँगै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेको बताए । यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रुपान्तरण रहेको छ ।

कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो ? यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उहाँको भनाइ छ । “कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर्न सक्दा पार्टीले बहुमतको सरकार बनाउन सकेको इतिहास छ, हिमाल, पहाड र तराई जोड्ने नेतृत्व कांग्रेसभित्र आवश्यक छ”, सिंहले भने ।

नेपाली कांग्रेस लमजुङका महाधिवेशन प्रतिनिधि अस्मिता गुरुङ पार्टीभित्र युवा र महिलाहरु अगाडि आउनुपर्ने बताउनुहुन्छ । “पार्टीभित्र पुस्तान्तरण भयो भने पार्टी झन सबल र सक्षम बन्न सक्छ”, उनी भन्छन् । बागलुङ क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि पार्टीभित्र आम एकताको खाँचो रहेको बताए ।
“पुराना नेताहरु सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरे पार्टी थप सवल र सक्षम बन्न सक्छ”, उनी भन्छन् । शीर्ष नेताको सहमति बिना नयाँ नेतृत्व आउँदा पार्टी कमजोर हुने उनको भनाइ थियो ।

कास्की क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री देशलाई आधुनिक समाज र पुस्ताले चाहेजसरी अगाडि बढाउन सक्ने विचार, नीति र कार्यक्रम कार्यान्वन गर्न सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताए । “ उमेरले भन्दा पनि समयसापेक्ष विचार, नीति र कार्यक्रमबाट सङ्गठनलाई सुदृढ बनाउँदै पार्टी मात्र होइन देश रुपान्तरणको नेतृत्व अहिलेको आवश्यकता हो”, क्षेत्री भन्छन् ।

कांग्रेस चितवनका सचिव एवं महाधिवेशन प्रतिनिधि उत्तम जोशी कांग्रेसभित्र देशभरि युवा प्रतिनिधि आएकाले अब पार्टीभित्र पुस्तान्तरणको खाँचो रहेको बताए । “अग्रजको सल्लाह र युवा र महिला दिदिबहिनीको साथ लिएर पार्टीलाई रुपान्तरण गर्नु आजको आवश्यकता हो”, उनी भन्छन् । राजनीतिमा युवालाई आकर्षण गर्नसक्ने नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो । देश विकासका लागि नयाँ नेतृत्व, नयाँ सोच, नयाँ शैलीबाट कांग्रेसलाई अगाडि बढाउनुपर्ने जोशीले बताए ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली शुक्रबार प्रकाशन भएको छ । उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आज साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आज राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु