३० कार्तिक २०८१, शुक्रबार

अधिकार विहिन बालबालिका र उनीहरुको बाध्यता


Saroj Rijal
सरोज रिजाल

हरेक देशमा बालबालिका मान्ने उमेर समूहमा केही फरक रहेको पाइन्छ । नेपालको सन्दर्भमा भने १५ वर्षभन्दा कम उमेर समूहलाई बालबालिका भनिन्छ । यिनै उमेरसमूहका बालबालिकाले स्वतन्त्रतापूर्वक जीउन पाउने अधिकार प्राप्त गरेका हुन्छन् । जसले कुनै पारिवारिक झमेला नभोगी शिक्षा, स्वस्थ्य र अन्य दैनिक आवश्यक इच्छा पूरा गर्ने हक पनि उनीहरुका सुरक्षित हुन्छ । तर सम्पूर्ण बालबालिकाहरुले आफ्नो अधिकार भने प्रयोग गर्न पाइरहेको अवस्था छैन । चाहे कारण जे सुकै होस् जो बालबालिका यी दैनिक इच्छाइएका आवश्यकतालाई उपयोग गर्न पाएका छैनन् वा बञ्चित छन् उनीहरु नै अधिकारविहिन बालबालिका हुन् । हाम्रो सामाजिक परिवेशमा उनीहरुलाई अधिकार रक्षाको कुनै बाटो देखाउनेभन्दा पनि अपमानित र घृणित गर्ने काम मात्र भइरहेको पाइन्छ । मुख्यगरी उनीहरुलाई समाजले सम्बोधन गर्ने आचरण नै खराब रहेको छ । अधिकारबाट बञ्चित हुनु त उनीहरुको बाध्यता नै रहेको हुन्छ जुन पिडालाई हामीले कहिल्यै साच्ने फुर्सदसम्म निकाल्न सकेनौं तर उनीहरुलाई सजिल्यै “खाते” भन्ने निच शब्दको पगारी भिराइदियौं । शिक्षित र सभ्य भन्न रुचाउनेहरुले नै उनीहरुलाई सामाजिकरुपमा अपहेलित गरी अधिकार रक्षा भन्दा पनि कुण्ठित गर्न तर्फ अग्रसर भयौं । कसैले पनि अरुलाई निच शब्द प्रयोग गर्नुभन्दा पहिले यो सोच्नुपर्ने जरुरी थियो र छ कि उनीहरुको विवशता के छ र यसरी अधिकारबाट किन बञ्चित भइरहेका छन् ?

सर्वप्रथम त को हुन अधिकार विहिन बालबालिका ? किन उनीहरुको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ? उनीहरुको व्यवस्थापन गर्न संभव छैन या त सरकार सक्षम छैन ? अधिकार विहिन बालबालिकाहरु भनेका त्यस्ता बालबालिका हुन जोे अभिभावकको संरक्षण नपाएका, पारिवारिक घृणा तथा तनाब पाएका र कोही कोही संगतले अनि कोही चाँही बाध्यताले पनि अधिकारबाट बञ्चित भएका अवस्थाका बालबालिका नै हुन् । यसै विषयमा यथार्थबारे विस्तृतरुपमा जानकारी लिने प्रयासमा लामो संघर्षपछि एक जना अधिकारविहिन बालक केही उसको अतित खुलाउन राजी भयो । वास्तविक नाम रमेश रहेको उक्त बालकबाट उसको यो अवस्थाको यथार्थता पाउन सहज भयो । उसका अनुसार ऊ निम्न आर्थिक अवस्था भएको परिवारको सदस्य रहेछ । आफ्नी आमाको निधन पछि बुबाबाट दोस्रो विवाह हुनु अनि सानीआमाको आगमनको केही अन्तरालपछि आमाको व्यवहार र बचन असह्य भएकाले उसले घर छोड्नुको मुख्य कारण पत्ता लाग्यो । उसैबाट थाहा लाग्यो कि उसैका साथीहरु कोही अनैतिक सम्बन्ध पश्चात जन्मलिई आमाबुबाको टुङ्गो नभएको पनि रहेछन् । कोही कोही भने साथीको लहैलहैमा लागेर मनोरञ्जन गर्ने बहानामा यस्तो बन्न पुगेका रहेछन् र पछि घरभन्दा सडक नै प्यारो बनाएको यथार्थ पनि उसले सुनायो । उसँगको छोटो कुराकानीबाट यो अनुमान लगाउन सकिन्छ कि प्राय सबै अधिकारविहिन बालबालिकाहरु बाध्यताकै कारण अधिकार विहिन भइरहेका छन् । यो अवस्थामा उनीहरुलाई प¥याउने मुख्य पात्र भनेकै उसको परिवार, समाज र राज्यको व्यवहार हो । यदि परिवारबाट अपहेलित बालकलाई समाजले संरक्षण गर्ने र समाजले नसकेकालाई राज्यले संरक्षण दिने हो भने उनीहरुले दुःखदपूर्ण जीवन जीउनुपर्ने बाध्यता सिर्जना हुने थिएन । नेपालमा धेरै संघ–संस्थाहरु बालबालिकाको हक र अधिकार संरक्षणका नाममा खुलेका साथै कार्यरत पनि छन् तर व्यवहारिक रुपमा उनीहरु लक्षित समूहसम्म नपुगेको अहिले पनि सहजै देख्न सक्छौं । ठूला शहरहरुमा यस्ता बालबालिकाको संख्या दिनदिनै बढ्दै गइरहेको छ ।

त्यसलाई नियन्त्रण वा न्युनिकरण गर्न सम्बन्धीत पक्ष सकृय भएर लागेको पाइन्दैन । यसरी नै अधिकारविहिन बालबालिकाको संख्यामा वृद्धि हुँदै जाने हो र यसलाई रोक्न कुनै प्रयास नहुने हो भने भविष्यमा उनीहरु समाजका लागि बोझ बन्ने निश्चित छ । समाजमा घट्ने विभिन्न अपराधिक घटनामा उनीहरुको संलग्नता वा प्रयोग पनि बढ्ने कुरामा कुनै शंका छैन । त्यसैले बेलैमा सचेत भई उनीहरुलाई संरक्षण र व्यवस्थापन गर्नतर्फ समाज, विभिन्न सरोकारवाला संघसंस्था र राज्य तीनै पक्षले हातेमालो गरी सहकार्य गरेमात्र सहजरुपमा व्यवस्थापन सम्भव रहन्छ । तर कहाँ छन् बालबालिकाको हित र अधिकार रक्षाका लागि खुलेका संघसंस्थाहरु ? किन कुनै चाडपर्व झैं बेलाबेलामा मात्रै उनीहरुका गतिविधि देख्न र सुन्न पाइन्छ ? कि उनीहरुको काम र कतव्र्य नै त्यही हो ? वैदेशिक सहयोग प्राप्त गर्नमात्र उनीहरुले संघसंस्थालाई बालबालिकाको उत्थान गर्ने नाममा त खोलेका होइनन् नि ? कतिपय संघसंस्थाको गतिविधि हेर्दा वैदेशिक अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र बालबालिकाको नाम प्रयोग गरेको पनि यदाकदा सुन्नमा आएकै हुन् । त्यसैले वैदेशिक सहयोग दिने निकायले पनि विचार पु¥याउने समय आइसकेको छ नत्रभने उनीहरुको लगानी लक्षित समुहसम्म नपुग्न पनि सक्छ र उद्देश्य पूरा नहुनसक्दछ । यसका लागि राज्य पक्षबाट नै मुख्य जिम्मेवारी बहनगर्नु आवश्यक छ । वैदेशिक सहयोगलाई पारदर्शी बनाई अधिकारविहिन बालबालिकाको संरक्षण र उत्थानको लागि सम्पूर्ण लगानी लक्षित समूहमै पु¥याउन राज्यले वैदेशिक सहयोगलाई राज्यको मातहतबाट मात्रै संघसंस्था हुँदै लक्षित क्षेत्रमा पु¥याउन नियम कानुनलाई परिमार्जन वा संसोधन गर्न आवश्यक भइसकेको छ । वैदेशिक सहयोग सोझै संघसंस्थामा जाँदा उनीहरु राज्यतर्फ उत्तरदायी नहुने र क्रितिम प्रतिवेदन पेश गरी वैदेशिक सहयोगलाई आफ्नो अनुकुलतामा प्रयोग गरी व्यक्तिगत स्वार्थमात्र पुरा गर्न उद्दत रहेको पाइन्छ । यस्ता क्रियाकलापको नियन्त्रण गर्न वैदेशिक सहयोग नियोग र राज्य दुवै सचेत हुनु आवश्यक छ ।

अधिकारविहिन बालबालिकाको पिडा ज्यादै दुःखदपूर्ण रहेको पाइन्छ । उनीहरुले न राम्रो खान नै पाउँछन् न त बस्ने उचित बास, त्यतिमात्र होइन सबैको छिःछिः र अपहेलित हुनु उनीहरुको विवशता नै हो । उनीहरुलाई कसैले पनि भित्री हृदयबाट सहयोग गरेको पाइदैन । जब उनीहरु कसैसंग सहयोगको आशा राखेर सहयोग खोज्छन् र त्यसबखत सहयोग नपाउँदा उनीहरुलाई कति आत्माग्लानी हुन्छ होला त्यो हामी सबैले बुझेकै हुनुपर्ने हो । हामी शिक्षित भन्नेहरुले नै कुनै समयमा ठूलो आशाका साथ सहयोगको हात माग्दा पनि असहयोग मिल्यो भने कति चित्त दुख्छ त्यो त हामी सबैले भोगेकै छौं । त्यसैले यस विषयमा ज्यादै चर्चा गर्न आवश्यक छैन । तर त्यो चित्त दुखाइबाट उत्पन्न हुने नकारात्मक सोचाइले नै अधिकारविहिन बालबालिकामा विभिन्न अपराध गर्न उत्प्रेरक भूमिका खेलेको पाइन्छ । उनीहरु विभिन्न अपराधमा संलग्न हुनुको बाध्यता पनि आफ्नो गाँस, बाँस र कपासको लागि नै हो भन्ने बुभ्mन सकिन्छ ।

त्यसैले त राज्यले गाँस, बाँस, कपास साथै शिक्षा, स्वास्थ्य र रोजगारको पूर्ण ग्यारेण्टी गर्ने हो भने अधिकारविहिनको संख्यामा कमी आउनुका साथै समाजमा घट्ने विकृतिहरुमा पनि कमी आउने थियो । बालबालिकाको अधिकार संरक्षण र रेखदेख गर्ने संस्थाहरुले पनि अधिकारविहिन बालबालिकालाई समाजमा पुनः स्थापित हुने वातावरण मिलाउनुपर्दछ । प्रहरी प्रशासनले पनि अधिकारविहिन बालबालिकालाई निरउत्साहित गर्ने भन्दा संघ–संस्थामा जाने वातावरणको सृजना गर्न सहयोग गर्नुपर्दछ । समयमा नै सबै पक्षको सहयोग नभएमा समाजमा उत्पन्न हुने विकृतिको जिम्मेवारी समाज, प्रहरी प्रशासन, सामाजिक संघसंस्थाहरु र राज्यले नै लिनुपर्नेछ । त्यसकारण सबै पक्ष समयमा सचेत हुनु पर्दछ । सबैको सहयोग भई सामाजिक वातावरण सहज बन्न पुगे अधिकारविहिन बालबालिकाहरुले स–सम्मान आफ्नो समाजमा पुनःस्थापना हुने वातावरण सहज बन्न सक्दछ । त्यसैले सबैले उनीहरुलाई सम्मानित जीवन जीउने बातावरण बनाउनु नै समाजमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्नेको मुख्य पाटो हुन आउँछ । अधिकारविहिन बालबालिकालाई विभिन्न संघ–संस्थाले संरक्षण गर्ने हो र सिपमुलक तालिमको व्यवस्था साथै अवसरको सृजना गर्ने हो भने उनीहरुले पनि समाजमा राम्रो काम गरी समाज परिवर्तनमा सहयोग पु¥याउन मद्दत गर्दछन् । यदि यसो हुन सके समाजमा रहेका सामाजिक विकृति घट्न गई समाज उन्नत मार्ग तर्फ लम्कन कुनै समय लाग्नेछैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !