८ बैशाख २०८१, शनिबार

आफू मात्रै होइन, काँग्रेसलाई सखाप पर्ने भयो एमालेले !


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

१. नेकपा एमाले भित्रको कायरतापूर्ण आपसी किच-किचले गएको सरकारको आधा कार्यकाल खायो ।
मुलुक बन्धक बन्यो ।
यो सरकारको समय पनि त्यसैगरी खाँदैछ ।
ओलीलाई जस्तै छेकारो हालेर बस्ने, काम गर्न नदिने अनि सरकार अलोकप्रिय भयो अब हामी प्रधानमन्त्री भनेर शेरबहादुर देउवालाई त्यसैगरी कचकच गर्ने हुन् प्रचण्ड र माधव नेपालले !

२. भुटानले आफ्ना सवै जनतालाई खोप लगाएर नेपाललाई खोप सहयोग गर्ने हैसियत निर्माण गर्यो,
नेपालले १५ प्रतिशत जनतालाई पनि खोप लगाउन सकेको छैन ।
सबैभन्दा लोकप्रिय र सक्षम सरकार भनेर नथाकेको होइन ?
अर्को पक्षले पूर्ण आकार र क्षमताको मन्त्री परिषद बनाउनै नभ्याउला चुनाव सम्म जस्तो !

३. आज कारवाही, भोली कारवाही फिर्ता, फेरी निष्काशन अनि आम माफी !
आज अर्को पक्ष विरूद्ध कुनै सम्झौता नहुने घोषणा, भोली सम्झौता, अर्को दिन गद्दार र देशद्रोही घोषणा फेरी अर्को दिन सम्झौता र एकता वार्ता !
गद्दार र देशद्रोहीसँग एकता र सहमतिको लागि वार्ता र सम्झौताको प्रयास भनेको आफू पनि गद्दार र देशद्रोही हुनु होइन, ओलीजी ?

यही हो ओलीजीको निर्णय क्षमता, दृढता ?

४. चुनावमा हार्नेले जित्ने बराबरकै हैसियत र अधिकार यही हो, नेपालको नीति, नियम, विधि र पद्धतिका रटान् ?
आफ्नो पार्टीको नेतृत्वको सरकार विरूद्ध संसदमा र अदालतमा उभिने अनि त्यही नेतृत्वसँग सम्झौता र एकताको नाटक ?
फरक पार्टी हाँक्ने हिक्मत नभए किन यो रडाको होला ? ओलीजी र माधवजीको !
हुती भए आफ्नो आफ्नो बाटो हिड्नु नभए छेऊ लाग्नु !
राजनीति धान्न सकिन भनेर हामी जस्तै सामाजिक सञ्जाल चलाएर बस्नु क्या !

५. एउटा चुनाव जित्न नसक्ने, अधिवेशन पर्खिन पनि नसक्ने,
चुनाव भने पछि सात पुस्ताको सातो जाने,
फेरी पद नभई बाँच्नै नसक्ने, प्राणै हुरुक्क जाला जस्तो हुने !
अर्कासँग पद र अख्तियारी छ मसक्क निर्णय गर्न नसक्ने, कुरा दह्रा गर्ने,
काम गर्ने र निर्णय गर्ने बेलामा थरर काम्ने, तोला मासा जोखेर बस्ने !
यसैगरी किम् कर्तव्य विमूढ भएर बस्ने ओलीजीको पक्षमा खै को पो बस्ला अन्त्य सम्म ?
एउटा कुरा बुझे हुने — जनताले यो ओलीलाई होइन, त्यो ओलीलाई हेरेका र मत दिएका हुन् ।
मुखको तीतो पोखेर मात्रै सन्तुष्टि लिएर बस्नेले कसरी जित्नेहोला आगामी चुनाव ?
कहिले गर्ने संगठन ?

६. काङ्ग्रेसमा पनि मतभेद छ,
हिजो फुट्यो पनि !
तर कम्युनिष्टहरूको जस्तो एक अर्का विरूद्ध यस्तो जथाभावी बोलेको सुन्नुभयो ?
आज त उसले सरकार खोजेकै होइन,
साह्रै करकर गरेपछि के गर्नु ? पार्टी हो, सरकारमा बसेको,
स्वाद त छ नी !
आऊ आऊ सरकार लिऊ, खाऊ, हामी सहयोग गर्छौँ भनेर एकोहोरो कचकच गरेपछि कति भो भो भनेर बस्ने उसले ?
बोनसको सरकारमा छ काङ्ग्रेस !
कामै नगरे पनि, चुनाव सिनित्तै हारेपनि बोनसमै सरकार पाएपछि किन जित्नु पर्यो काङ्ग्रेसले चुनाव !
१६५मा २३ जितेर पनि सरकारको नेतृत्व पाइने रहेछ !
कुनै पार्टीको बहुमत झन्डै असम्भव हो क्यारे यो प्रणालीमा ।
यस्तै आशमा बस्छ फेरी !
कम्युनिष्टले जिते पनि धान्न सक्ने होइनन्, यिनै ओली, यिनै माधव !
यही त हो नी कचिङ्गल !
बाँकी यिनैका अघि पछि !
झर्छ र खाउँला भनेर बस्ने !

७. अनि फेरी यस्तै सरकार !
खान्न-खान्न भने पनि सुनको थालमा प्रधानमन्त्री खान निम्तो लिएर आइहाल्छन् भनेर सुतेर बस्ने भो अब काङ्ग्रेस !
आफू मात्रै होइन, काङ्ग्रेसलाई सखाप पर्ने भयो एमालेले !
हुन त के बाँकी छ र सखाप हुन ?

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !