, अन्तराष्ट्रिय महिला दिवस र नेपालमा महिला सशक्तिकरणको अवस्था

अन्तराष्ट्रिय महिला दिवस र नेपालमा महिला सशक्तिकरण

आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री मानिन्छ । अन्य देशको तुलनामा राजनीतिक क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडी बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वाचित भएका छन् ।

प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले सुनिश्चित गरेको छ । राजनीतिक जागरण र समानताको कुरा उठे पनि अझै ग्रामीण महिलाले आफूले पाउने सुविधा पाएका छैनन् ।

आज सहरमा महिला मुक्तिका नारा लगाउदै गोष्ठी, सेमिनार आयोजना भैईरहेका समयमा दूरदराजका महिलाले भने बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका  सिकार बन्नु परिरहेको छ ।

नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई–मधेससम्म, उच्च घरानादेखि सुकुम्बासी झुपडीसम्म, राजनीतिज्ञदेखि मतदातासम्म जहासुकै र जोसुकैबाट तथा जतिबेला पनि महिला हिंसा भैरहेको देखिन्छ । यसले के प्रस्ट पार्छ भने ग्रामीण महिलाको सशक्तिकरण गरेर उनीहरुलाई अगाडी बढाउन एक दिन महिला दिवस मनाएर मात्र हुदैन,  पुरातनबादी सोचमा परिवर्तन र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुनसके मात्र समानताको व्यवहार भएर सही रूपमा महिलाको सशक्तिकरण सम्भव हुन्छ ।