७ असार २०८१, शुक्रबार

महामारीमा पनि गाउँगाउँमा बैठक बसाउँदै लघुवित्त


काठमाडौँ उपत्यकामा समुदाय स्तरसम्म कोरोना संक्रमण फैलिएको हुनसक्ने

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ की राधाकुमारी साउदलाई महिला समूहको बैठकमा जानुपर्ने भएपछि चिन्ता आजभोलि थपिन्छ । राधा चार लघुवित्त समूहमा हुनुहुन्छ । कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि कैलालीलगायत देशका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ तर राधाले समूहको बैठकमा जानै पर्छ नगए जरिवाना तिर्नुपर्ने सुनाउनुभयो ।

जरिवाना मात्रले हुने भए घरमै बस्दथे तर बैठकमा नगई नहुने राधाले बताउनुभयो । राधा मात्र हैन जिल्लाका धेरै महिलालाई यही समस्या छ । अहिले उनीहरू महामारीबीच समूह बैठकमा गएर फर्कंदा कोरोना सङ्क्रमित भइन्छ कि भन्ने चिन्तामा छन् ।

केही दिनअघि मात्र कोरोना सङ्क्रमणबाट कैलालीको बौनियामा शाखा कार्यालय रहेको एक लघुवित्तमा कार्यरत महिला कर्मचारीको मृत्यु भएको सुन्नुभएकी बर्दगोरिया गाउँपालिका–१ की रमिला चौधरी बैठकमा जानु नपर्ने भए हुन्थ्यो भन्नुहुन्छ । “हामीले समूह बनाएर लघुवित्तबाट ऋण लिएका छाँै, हामी तिर्छौं पनि तर अहिले अवस्था सामान्य छैन, जोखिम सबैलाई हुन्छ, त्यसैले यस किसिमका बैठक सङ्क्रमणको जोखिम बढिरहेको समयमा नगर्न पाउने हुनुपर्छ”, उहाँले भन्नुभयो । बाध्यात्मक अवस्थामा बैठक बस्नुपर्दा मनमा एकदमै त्रास हुने गरेको रमिलाको भनाइ छ ।

सङ्क्रमण नफैलियोस् भनेर जारी गरिएको निषेधाज्ञाबीच कैलालीका विभिन्न ठाउँमा लघुवित्त वित्तीय संस्थाले आफ्ना माषिक बैठक नियमित सञ्चालन गर्दा समुदायस्तरमा सङ्क्रमणको जोखिम बढ्दै गएको गौरीगङ्गा नगरपालिका–९ का रामकुमार चौधरी बताउनुहुन्छ । “लघुवित्तका कर्मचारी कम हुन्छन्, एकै कर्मचारीले दैनिक पाँचदेखि सात वटासम्म समूह भ्याउनुपर्दा उनीहरू विभिन्न गाउँ जानुपर्छ, त्यस्तोमा सङ्क्रमण फैलिएको गाउँमा समेत समूह बसाउन छाड्दैनन् अनि त्याबाट सङ्क्रमण लिएर गाउँगाउँ जान्छन् यसै कारण पनि जोखिम बढ्दै गएको छ”, चौधरीले भन्नुभयो ।

कोरोना महामारीका कारण जनजीवन त्यसै पनि त्रासमय छ । प्रशासनले जोखिम न्यूनीकरणका लागी निषेधाज्ञा जारी गरेको समयमा मानिसलाई दैनिक जीवनयापनमा खाद्यान्नदेखि औषधिको व्यवस्थापनमा समस्या परिरहेका बेला गाउँगाउँमा गएर समूह बसाएर किस्ताका लागि दबाब सिर्जना गर्नु लघुवित्तको गलत कार्य भएको घोडाघोडी नगरपालिका–१ का व्यापारी राम सुनार बताउनुहुन्छ । यस्तो महामारीका समयमा यस किसिमका बैठकले किस्ता हाल्नुपर्ने चिन्ता र कोरोना सङ्क्रमण फैलने त्रास गरी दुई प्रकारका डर पैदा गर्ने हुँदा सम्बन्धित निकायले यस किसिमका बैठक सञ्चालनमा निषेधाज्ञाभरि रोक लगाउनुपर्ने सुनारले सुनाउनुभयो ।

गाउँगाउँमा आफूहरूले समूह बनाएर विना धितो ऋण लगानी गरेका कारण असुलीका लागि समूहको बैठक बसाउनुपर्ने बाध्यता रहेको बौनियामा रहेको नेशनल लघुवित्त वित्तीय संस्थाका शाखाप्रमुख अञ्चल चौधरीले बताउनुभयो । “हामी कर्मचारी भएका कारण माथिको सर्कुलर मान्नैपर्छ, हाम्रो संस्थाको परिपत्रअनुसार मैले कर्मचारी साथीलाई फिल्डमा खटाउने गरेको छु, फिल्डमा जाँदा साथीहरू स्वास्थ्य सावधानी अपनाएर जानुहुन्छ”, चौधरी भन्नुहुन्छ, “हामीलाई पनि थाहा छ, यो महामारीमा यसरी बैठक बसाउनुहुन्न तर के गर्ने हामीले पनि आफ्नो लगानीलाई सुरक्षित गर्नै पर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !