म, मेरो जात र जाँड-रक्सी Nepalpatra म, मेरो जात र जाँड-रक्सी

१८ श्रावण २०७८, सोमबार

म, मेरो जात र जाँड-रक्सी


म, मेरो जात र जाँड-रक्सी

मेरो चिया र कफीको आदत छैन । तर कहिलेकाही साथीहरूसंग बसेर गफिदै चिया वा कफी पिउन औधी मनपर्छ । मेरो एकजना तराई मुलको साथी छ, जोसंग बसेर धेरै पटक कफीको चुस्कीमा रमाएको छु । हामीवीच कहिलेकाही अल्कोहलको विषयमा थुप्रै रोचक गफहरु हुने गर्छ । तर हामी दुबै जनाको मुखले भने अल्कोहलको स्वाद पाएको छैन ।

म एउटा मङ्गोलियन परिवारमा जन्मिएको मान्छे, मेरो घरमा जाँड रक्सी बनाउने र सेवन गर्ने सामान्य प्रचलन हिजो देखिकै हो । आज पनि मेरो घरमा जाँड रक्सी बानाउनुहुन्छ । पारिवारमा मेरो बुबाले सेवन गर्नुहुन्थ्यो । तर अहिले स्वास्थ्यमा समस्या आएपछि भने जाँड रक्सी सेवन गर्नुहुन्न । पारिवारिक समान्य भेटघाटमा परिवारभित्र चियाको सट्टामा जाँड-रक्सी नै प्रयोग हुने चलन छ । तर अहिलेको मङ्गोलियन समुदाय भित्र केही नयाँ परिवर्तन भने बिल्कुलै भएको उदाहरणहरु छन ।

म मङ्गोलियन समुदाय अर्थात मगरको छोरा भएकै कारणले मैले साथी सर्कलमा जहिल्यै एउटा प्रश्नको सामना गर्नुपर्ने हुन्छ । जुन प्रश्नको सामाना गर्न मलाई थोरै आत्मग्लानी जस्तो महसुस हुन्छ । हामी आज एकाईसौ शताब्दीको मानिसहरु हरेक हिसाबले सोच्ने क्षमताको स्तरमाथि हुनुपर्छ र छ पनि । मेरो साथी सर्कलले सधै मलाई एउटा प्रश्न सोधिरहन्छन । ‘त मगरको छोरा भएर जाँड-रक्सी कहिल्यै पिउने गरेको छैन ? मलाई यस्तो प्रश्नहरु कयौंपटक मेरो आर्य मुलका साथीहरुले मात्र होईन मङ्गोलियन समुदायकै कति साथीहरुले पनि सोधिरहेका हुन्छन । तर यो प्रश्नमा भने आफुलाई अलि असहज महसुस गरेरै भएपनि म प्रतिवाद प्रतिक्रिया दिने गर्छु ।

मलाई मेरो जातसँग जाँड अर्थात रक्सी जोडिएको कतिपनि मनपर्दैन । म मगरको छोरा हुँ । म एउटा मङ्गोलियन समुदायबाट हुर्केको भएकै कारण मैले मेरो थरको परिचय वा पहिचान दिनको लागि मैले रक्सी सेवन गर्नुपर्ने हो ? अह बिल्कुल यो पहिचान मन पर्दैन । मलाई मेरो जातको पहिचान वा परिचय दिनको लागि यति तल्लो स्तरको शब्दहरु प्रयोग हुनु जरुरी ठान्दिन । म एउटा यो देशको मुलबासी वा आदिबासी जनजातिको छोरा हुँ । तसर्थ मेरो जातको परिचय र पहिचान भनेकै आदिवासी हो । मेरो आफ्नै लिपि, भाषा, संस्कृति, भेषभुषा र रितिरिवाज छ । यहि नै मेरो परिचय हो ।

जाँड-रक्सी सेवन गर्नु भनेको त नितान्त व्यक्तिगत बिषय हो । अहिलेको यो युगमा आएर खानपनको कुरालाई पनि जातसंग जोडिरहन आवश्यक ठान्दिन । यदि कसैले त्यो कुरालाई कुनै बिशेश समुदायलाई लिएर भन्छ भने त्यो जातित्व विभेद होईन र ? एउटा बाहुनको छोराले कुनै रेस्टुरेन्टमा गएर बाङ्गुरको मासु खान्छ भने त्यसमा आश्चर्य मान्नुपर्ने कुरा के छ ? एउटा क्षेत्रीको छोराले गाईको मासु खान्छ भने यसमा कसलाई के आपत्ति छ ? हो त्यस्तैगरी एउटा मगरको छोराले आज जाँड-रक्सी सेवन गर्दैन भने यसमा कसैले प्रश्न गर्न आवश्यक छ र ? कुनै नौलो मान्नुपर्ने कुरा छ र ? मलाई मादक पदार्थ सेवन गर्न इच्छा लाग्दैन म सेवन गर्दिन । कुरा यति होइन ?

जंग बहादुर राणाले वि.स १९१० सालामा मुलुकी ऐन ल्याएर जातीय व्यवस्थालाई अझै कानुनी रुपमै संरक्षण गरे । उनले हिन्दु वर्णाश्रमभित्र नपरेका आदिवासी जनजातिलाई सो मुलुकी ऐन मार्फत तागाधारी र मतुवाली भनेर दुई भागमा विभाजन गरे । उनले यसलाई संस्थागत रुपमा अगाडि बढाएर आदिवासी जनजातिहरुलाई जातीय विभेद गरेको सत्य हो । मतुवालीको अर्थ भनेको मातिने वा मादक पदार्थ सेवन गर्ने जाति भन्ने हो । यसरी हेर्ने हो भने मेरो जात वा थरको पहिचान वा परिचय भनेको मादक पदार्थ सेवन गर्ने मात्र हो ? यो प्रश्न आज आफूलाई मतुवालीको छोरा वा छोरी हुँ भन्नेलाई ।

जातले पाको हातले खाको भनेर सगर्व छाती फुलाउने मेरा मङ्गोलियन मित्रहरुलाई विनम्र प्रश्न गर्छु । तपाईको जातको पहिचान र परिचय भनेको केवल मादक पदार्थ सेवन गर्ने मात्र हो ? बिल्कुलै होइन नि । तपाईं व्यक्तिगत हिसाबले मादक पदार्थ सेवन गर्नुहुन्छ । त्यसमा मेरो कुनै आपत्ति छैन । तर तपाईले जातले पाको हातल खाएको भनेर गर्व गर्दै गर्दा तपाईको जातीय पहिचान माथि भने प्रश्न उठ्नु स्वभाविक ठान्छु ।

मलाई आफू मतुवालीको हु भनेर परिचय दिन फिटिक्कै मनपर्दैन । कुनै सन्की शासकले आफूमाथि लादेको जातीय विभेदलाई मैले किन स्वीकार्ने ? तपाईमाथि लादेको जातीय विभेद जबसम्म तपाइले बुझ्नुहुन्न तबसम्म तपाईलाई मतुवाली हु भनेर गर्वका साथ पिउन मज्जा लाग्छ । तर म आफूलाई मतुवाली होइन आदिवासी जनजाति भनेर पहिचान दिन चाहान्छु । त्यसैले मलाई मतुवाली शब्दसंग विमति छ ।

करिव एक महिना अगाडि हिमालयन टेलिभिजनबाट राजेन्द्र बानियाले संचालन गर्ने कार्यक्रम यक्ष प्रश्नमा नायिका स्वेता खड्काले माझी समुदायलाई होच्याउने हिसाबले मतुवालीले मादक पदार्थ सेवन गर्छन भन्ने विवादित अभिव्यक्ति दिएकी थिईन । जुन निकै विवादित भएको थियो ।

उनले दिएको सो अभिव्यक्तिमा जातीय विभेदको पराकाष्ठालाई छर्लङ्ग देख्न सकिन्छ । तर उनी आफै पनि मादक पदार्थ सेवन गरेर क्लबमा कुटाकुट भएको घटनाबाट भने अछुतो रहन सकिनन् । यस्ता सार्वजनिक व्यक्तित्वहरुबाट यस्ता अभिव्यक्तिहरु थुप्रै आईरहेका हुन्छन । स्वेता खड्का त अगाडि देखिएकी एउटा पात्र मात्र हुन् । म आफैले पनि कुनै चाडपर्व विशेष वा साथीभाईहरुको विशेष भेटघाटहरुमा मादक पदार्थ सेवन गर्न इङ्कार गर्दा मगर भएर पनि किन पिउदैनस् भन्ने प्रश्नहरु सामना गर्नु परेको छ ।

मेरो अगाडि बसेर मेरा कति बाहुन र क्षेत्री साथीहरूले रक्सी सेवन गर्दा, मलाई कहिल्यै बाहुनको छोराले जात फालिस् रक्सी पिएर भन्ने महसुस भएन किनकि मलाई बाहुनले जनै लगाएर रक्सी पिऊन वा जनै निकालेर पिऊन त्यो समस्याको विषय भएन । त्यसैगरी मङ्गोलियन समुदायकै साथीहरूले पनि रक्सी सेवन गर्दा, तैले जात जनाउनै भएपनि रक्सी खाईस भन्ने महसुस हुदैन ।

तर ती मान्छेहरूलाई किन टाउको दुख्छ ? मैले रक्सी सेवन नगर्दा । किन मेरो जातमाथि प्रश्न गर्छन ? अब मेरो साथीहरूले आयोजना गरेको रक्सी पार्टीमा मैले आफ्नो जात खुलाउनको लागि नागरिकता खल्तीमा बोकेर हिड्नुपर्ने हो ? मलाई मेरा रक्सी सेवन गर्ने साथीहरूसंग बसेर चिया पिउन वा फेन्टा पिउन कुनै संकोच छैन ।

म रक्सी पिउने साथीहरूसंग बसेर कोक वा फेण्टा पिएर पनि रमाईलो मानिरहेको हुन्छु । यसमा तपाईं पनि रमाउनुस् न । मलाई रक्सी सेवन गर्न मन पर्दैन, त्यो मेरो व्यक्तिगत इच्छाको कुरा हो । तपाईलाई पिउन मन पर्छ, त्यो तपाईंको व्यक्तिगत कुरा हो । फरक यति त हो । मेरो बाहुन साथीले रक्सी सेवन गर्दै गर्दा, ओई त बाहुनको छोरा भएर पिउन लाज लाग्दैन ? तेरो जनै कहाँ राखिस् ? भनेर प्रश्न गर्नुको के तुक छ र ? त्यो आफै बुम्र्याङ हुनु हो । त्यसैले मेरो जातसंग जाँड जोडेको मलाई पटक्कै मन पर्दैन ।

जब म माध्यमिक तहमा पढ्दै गर्दा मेरो घरमा मेरो आमाले सामान्य आर्थिक गुजारा चलाउन चिउरीको रक्सी बनाउने गर्नुहुन्थ्यो । मलाई पढाउने मेरा गुरुहरु कयौं पटक मेरै घरमा आएर चिउरीको रक्सी जीउ दुखेको औषधि हुन्छ भन्दै सेवन गर्नुहुन्थ्यो । जो मेरा गुरु बाहुन नै हुनुहुन्थ्यो । ती परिवेशहरुबाट हुर्केर आएको मलाई अल्कोहल सेवन गर्ने इच्छा भने कहिल्यै जागेन ।

अहिले पनि मेरा कयौं साथीहरू अल्कोहल सेवन गर्ने नै छन, तर मलाई कहिल्यै सेवन गरौ भन्ने लागेन र सेवन गर्ने आट पनि आएन । कुलतमा फस्नु र अल्कोहल सेवन गर्नुको पछाडी साथीभाईको संगत वा हात हुन्छ भनेर मैले स्वास्थ्य र शारीरिक शिक्षामा पढेको थिए । तर म आफैलाई भने यो कुरा व्यबहारमा लागू भएन । यहाँबाट मैले आफु कुन दिशातर्फ दिशानिर्देश हुने त्यसको सर्वाधिक जिम्मेवार आफैमा हुने ज्ञान पाए ।

आजको पूँजीवादी र पश्चिमा सभ्यतालाई ग्रहण गरिरहेको समाजमा भोज भत्तेर र सामान्य भेटघाटको खुसीयालीमा रक्सी सेवन गर्नु सामान्य भईसकेको छ । अझै नेपाली समाजमा हेर्ने हो भने त रक्सी सेवनलाई लैङ्गकितासँग पनि जोडेर धारणा बनाउने गरिन्छ । महिलाले रक्सी सेवन गर्नु हुदैन भन्ने साँघुरो मानसिकता छ । त्यसैले अल्कोहल सेवनलाई नितान्त व्यक्तिगत दृष्टिकोणले हेर्न जरुरी छ । कसैले रक्सी सेवनलाई जातीय दृष्टिकोणले धारणा बनाउछ भने त्यो कुनै समुदायमाथि जातीय विभेद लाद्नु हो ।

जबसम्म बाहुनले रक्सी पिउनु जातिय संस्कृति विपरीत र मङ्गोलियन समुदायका मानिसले रक्सी सेवन गर्नु जातीय हिसाबले गर्व गर्छौ । तबसम्म जातीय विभेद अन्त्य हुदैन । हाम्रो चेतनास्तर त्यो भन्दामाथि उठ्न आवश्यक छ । त्यसैले मलाई कसैले मतुवाली सम्बोधन गर्दा मलाई जातीय विभेद गरिएको बोध हुन्छ । म आफुलाई आदिवासी हुनुमा गर्व गर्छु । मेरा शिक्षित मित्रहरूलाई म यहि निवेदन गर्छु । कृपया मलाई मेरो जातसंग जाँड नजोडिदिनु होला ।

 *लेखक जीवन मगर राजनीतिक, सामाजिक र साहित्यमा कलम चलाउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा