३० कार्तिक २०८१, शुक्रबार

नेपालमै चिनिँदैन नेपालको अर्थोडक्स चिया


अर्थोडक्स चिया

इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्व बजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ ।

नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक अन्य तेस्रो मुलुकमा नेपाली चिया उच्च मूल्यमा बिक्छ । विश्वका कुनाकुना पुग्ने नेपाली चिया नेपालकै अधिकांश जिल्लामा अहिले पनि देखिँदैन । अर्थोडक्सलाई स्वास्थ्यबद्र्धक मानिन्छ तर एकातिर गुणस्तरीय र अर्कातिर स्वदेशी उत्पादन भए पनि नेपालमै पहिचान बनाउन नसक्नु लज्जास्पद देखिन्छ ।

भारतले नेपाली चियालाई ‘गुणस्तरहीन’ भन्दा पनि भारतमै चिया बेच्नुपर्ने बाध्यता छ तर नेपाली बजारमा चिया पुर्याउन अहिलेसम्म कसरत भएकै देखिँदैन । पन्ध्र प्रतिशत अर्थोडक्स मात्र नेपालमा खपत हुने गरेको तथ्याङ्कले देखाउँछ । बाँकी चिया भारतलगायतका अन्य मुलुकमा बिक्री हुन्छ । नेपालकै ठूलो जमातले तराईको सिटिसी (क्रस टियर क्रल) चिया पिउनुपर्ने बाध्यता छ ।

भारतले चियामा हेपाहा प्रवृत्ति देखाउँदा अर्थोडक्सले कि तेस्रो मुलुक कि आन्तरिक बजारमा खपत गराउनुपर्ने हो तर यस्तो प्रयास भएको छैन । तेस्रो मुलुकका लागि व्यक्तिगतरूपमा बिक्रेताले बजार विस्तार गरे पनि आन्तरिक बजार जस्ताको तस्तै छ । यसैले एकातिर गुणस्तरीय चिया कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ भने कम गुणस्तरीय चिया नेपालमै बाहिरबाट भित्र्याउनुपर्ने स्थिति देखिन्छ ।

अहिले पनि धेरै नेपालीले अर्थोडक्स चियाको स्वादै नपाएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका संस्थागत अध्यक्ष गोविन्द दाहाल बताउनुहुन्छ । सरकारी क्षेत्रबाट प्रवद्र्धनका काम कम र अर्थोडक्सको लागत बढी भएकाले नेपाली बजारमा नपुगेको दाहालको भनाइ छ ।

दाहालका अनुसार नेपाली बजार बिगार्न भारतबाट सस्तो मूल्यमा चिया ल्याएर नेपाली चिया खपत हुन नसक्ने स्थिति बनाइने गरेको छ । गुणस्तरीय भन्दै भारतबाट चिया भित्र्याउने र नेपाली चियालाई बाहिर पठाउने गरिनाले चियाको आन्तरिक बजार नबढेको उहाँको भनाइ छ । “नियतवश यस्ता काम हुने गरेका छन् । यस्ता काम हुन दिएसम्म नेपाली बजार बलियो हुनै सक्दैन”, उहाँले भन्नुभयो ।

दाहालले पछिल्लो समय भने आन्तरिक बजार बढाउन केही काम हुन थालेको बताउनुभयो । सिटुसी बिजनेस (को–अपरेटिभ टु को–अपरेटिभ÷सहकारीबाट सहकारी) अभियानले आन्तरिक बजार विस्तार थालेको दाहालले बताउनुभयो । “एक जिल्लाको सहकारीले अर्को जिल्लाको सहकारीसँग साझेदारी गर्नुपर्ने नीति छ”, दाहालले भन्नुभयो, “यसले बजार विस्तार गर्न सक्छ ।”

त्यसो त बाह्य बजारमा नेपाली चिया पुर्याएवापत सरकारले छुट दिने गरेको छ । छुट भएकाले पनि बिक्रेताको आँखा नेपाली बजार नपरेको हो । पूर्वी पहाडी जिल्लाको अर्थोडक्स राजधानी (काठमाडौँ) समेत नपुग्ने गरेको देखिन्छ । चिया भन्नेबित्तिकै सिटिसी बुझिने र गुणस्तरीय अर्थोडक्स गुमनाम पारिनाले नेपाली खपत घटाइँदै लगेको देखिन्छ । चिया अर्थोडक्स ‘अग्र्यानिकरण’ भएको र ‘अग्र्यानिक’ प्रयासमा रहेकाले महङ्गो पर्नाले आन्तरिक बजारमा नचिनिएको चियाका ‘अग्र्यानिक’ अनुसन्धनकर्ता (इन्सपेक्टर) विशाल केसी बताउनुहुन्छ ।

अर्थोडक्स चिया पनि विभिन्न प्रकारका बनाइन्छ । अनेक स्वाद लिनका लागि अर्थोडक्स चियाबाट कालो टी, ग्रीन टी, यल्लो टीलगायतका प्रकार बनाइन्छ । यी चिया महङ्गो पर्ने र नेपालीले खरिद गर्न नसक्ने भएकाले अर्थोडक्स नचिनिएको केसीको भनाइ छ ।

अर्थोडक्स चियाको अग्र्यानिकरणका लागि पनि उद्योगले महङ्गो रकम तिर्नुपर्छ । यसका साथै वार्षिक नवीकरण गर्नुपर्छ । यस्ता सबै खर्च जोड्दा अर्थोडक्समा लागत बढी पर्ने गर्छ तर सरकारले अर्थोडक्सलाई प्रमुख आवश्यकतामा राखेर नेपाली बजारमा पुर्याउन पहल गरे लागत कम हुने केसीको भनाइ छ ।

“पछिल्लो समय चियामा अनुसन्धानकर्ता र प्राविधिक बढिरहेका छन् । यतापट्टि सरकारको चासो हुनुपर्यो”, केसीले भन्नुभयो, “किसान तहसम्म सरकारी अनुदान र सहुलियत ऋणका काम पुगेमा लागत घटेर जान्छ तर यस्तो हुनसकेको छैन ।”

सरकारले चिया क्षेत्रलाई नहेरेकाले पछि परेको भनेर आलोचनासमेत गरिन्छ । विदेशी मुद्रा विनिमयमा महत्वपूर्ण हिस्सा ओगट्ने यो क्षेत्रलाई स्वदेशमै प्रवद्र्धन गर्दा नेपाली उपभोक्ता बढ्ने निश्चित छ । हाल नेपाली चिया ३१ देश पुग्ने गरेको छ भने १३ देशबाट चिया आपूर्ति हुने गरेको तथ्याङ्कले देखाउँछ ।

यदि नेपाली चियालाई प्रोत्साहन गर्ने हो भने विदेशको चिया भित्र्याउनु नपर्ने देखिन्छ । यता चिया तथा कफी विकास बोर्डले भने पछिल्लो समय अर्थोडक्स चियाको प्रोत्साहनको काम शुरु भएको जनाएको छ । बोर्डले तत्कालै प्रदेश÷प्रदेशमा ‘आन्तरिक बजार प्रमोसन सेन्टर’ खोल्न लागेको छ ।

अहिले यसका लागि कागजी काम भइरहेको छ । चिया प्रवद्र्धनका लागि बोर्डको पहिलो कार्यालय पोखरामा खोल्नेसमेत निर्णय गरिएको छ । “कोरोनाले अवरोध गरेकाले काम हुनसकेको छैन, तत्काल काम गर्नेछौँ”, चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले भन्नुभयो, “अहिले नेपाली अर्थोडक्सको खपत १५ प्रतिशतमात्र नेपालमा छ । यसैले हामीले प्रमोसनका कार्यक्रम ल्याएका हौँ ।”

सेन्टरमार्फत सातै प्रदेशबाट अर्थोडक्सको प्रवद्र्धन गर्दा चिया खरिदकर्ता बढ्ने बोर्डको अनुमान छ । साथै बोर्डले चीन सरकारसँग प्रत्यक्ष व्यापार गर्न सम्झौता गर्न लागेको छ । अहिले व्यक्तिगतरूपमा चिया जाँदै गरेकामा अब भने नेपाल–चीन उडानमार्फत नै चिया लानका लागि सम्झौता गर्न लागिएको हो ।

“हामीले परराष्ट्र मन्त्रालयमार्फत ‘डिप्लोम्याटिक नोट’ पठाइसक्यौँ, निकट भविष्यमै यो काम हुन्छ”, निर्देशक डा भट्टराईले भन्नुभयो, “लागत पनि घट्छ र किसानले उचित भाउ पाउँछन् ।” गएको वर्ष मात्रै रु तीन अर्ब २० करोड ३९ लाख चार हजारको एक करोड ५० लाख चार हजार ३८० किलो चिया नेपालबाट निर्यात भएको देखिन्छ । यस्तै गत वर्ष रु ११ करोड ७७ लाख ३२ हजारको तीन लाख ४३ हजार ३५३ किलो चिया आयात भएको बोर्डको तथ्याङ्कले देखाउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !