दुई कक्षामा पढ्दाको एउटा घटना याद छ । स्कुल जाँदै गर्दा विरे काकाको घरको मलखादमा केरा पाकेको देखेँ । पाकेको केरा देखेपछि ढुङ्गाले हान्नुपर्छ भन्ने अनौठो चलन थियो। दर्शन ढुङ्गा उठाएर के हानेको थिएँ, दुइओटा केरा झरे । एउटा खाएँ अर्को झोलामा राखेँ र टाप कसेँ ।
स्कुलमा कतिबेला त्यो केरा खाने भन्ने कुरामै ध्यान थियो । तेस्रो पिरियडसम्म त खाने मौका नै मिलेन । चौथो पिरियड अङ्ग्रेजीको थियो । सँगै बस्ने साथी विनोदलाई अलिकति दिएँ । केरा मुखमा मात्र के राखेको थिएँ, सरले देखिहाले । अगाडि बोलाए । ठुलै कारबाहीमा परिने डरले मेरो होस हवास उडिसकेको थियो । यो केरा खाने समय हो तेरो ? सरले कड्किएर सोधे । म नाजवाफ थिएँ । मलाइ एउटै डर थियो अब के गर्ने हुन् यिनले भन्ने । नाम सुनेका सबै भगवानलाई बचाउन आग्रह गरेँ । सरले सोध्दै थिए, कति कक्षामा पढ्छस ? मैले भनें दुई । अङ्ग्रेजीमा भन्, सर पड्किए । मैले भने टु । के खाईस क्लासमा ? सरले फेरि सोधे । केरा । अङ्ग्रेजीमा भन्, सरले झन्डै सातो लगेनन् । बनाना । मिल्यो भनेर ढुक्क भएँ। सरले फेरि विस्तारै भने, ल बनाना र टु को स्पेलिङ भन्, मिलाईस भने आजलाइ छुट् । मलाइ टु को डब्लु कता राख्ने भन्ने समस्या पर्यो । एकछिन सोचेर भने, टु को TOW र बनानाको BANANANANA । दुबै गल्ती भनेछु भन्ने त्यति बेला था भयो जब सरले दुईटै गालामा रन्किने गरि दिए । आत्तिएर हो यात जिब्रो चिप्लिएर हो बनानाको पछाडि थुप्रै NA थप्दिएछु ।
सानैदेखि पढाई कम बदमासी काम बढी गर्नै बानी लाग्यो । एकदिन कक्षा चारका हामी सबैलाई चौरमा राखेर केसी सरले पढाउँदै हुनुहुन्थ्यो। हामी सबै सरको वरिपरि थियौँ । मेरो ग्रुपका साथीहरु सरको पछाडीपट्टि थियौँ । मलाई सरले नदेख्ने गरी पछाडीबाट जिस्काउन मन लायो । एउटा सानो ढुङ्गाको टुक्रा टिपेर सरको टोपीमा राखिदिएँ । सबैजना हाँसे । किन हाँसेको भनेर सरले गाली गरे । जुनेले भन्दिई मतिर ईसारा गरेर । राम्रो पढ्ने बिधार्थी भनेपछि नपत्याउने कुरै थिएन । सरले कुट्नु कुटे । त्यतिले पनि पुगेन पचास चोटी उठबस गर्न लगाए । त्यसदिनबाट जुने मेरो झगडाको पात्र बनी ।
जुनेलाई सबै बिधार्थीको अगाडी बदनाम कसरी गराउने भन्नेमै मेरो ध्यान जान थाल्यो । ममा पुरै बदलाको भावना थियो । रातदिन सोच्दा एउटा जुक्ति निस्कियो । जुनेको जस्तै अक्षर बनाएर ऊसकै नाममा चिठी लेखेर विकासको किताबमा राख्दिने अनि हल्ला फैलाउने । विकास केटाहरुमध्येको टाठोमा पर्थ्यो । हरिले जुनेको अक्षरको दुरुस्त हुनेगरि विकासलाइ मन पराउने कुरा व्यक्त गरिएको चिठी तयार गर्यो । किताबभित्र मैले राखिदिएँ । कक्षाभरी कुरा फैलियो । सबैले जिस्काउन थाले विकास र जुनेलाई । जुने निकै रोई म निकै हाँसे । दोस्रो दिन जुने स्कुल आईन। तेस्रो दिन पनि आईन । स्कुल नै आउन छोडिदिई। पछि थाहा भयो उसलाइ निकै पीर परेछ । स्कुल जान नमानेपछि अर्को स्कुलमा पठाएछन् । मलाई कता कता नरमाइलो लाग्यो ।
घटनाको पर्दाफास भएपछि बाउले भकुरे । अब उट्पट्याङ नगर्ने अनि खुरुखुरु पढ्ने सहमति भयो । तर जबरजस्ती पनि पढाई नहुदो रहेछ । एसएलसी सम्म राम्ररी पढ्न बाले सुझाव दिइरहन्थे । मलाई चाहीँ पढ्ने काम छोडेर विदेश जाउँ जस्तै भएको थियो । साथीहरु कथा लेख्थे, कविता सुनाउँथे, चित्र बनाउँथे, खेल खेल्थे, भाषण गर्थे तर आफ्नो यस्ता कुनै प्रतिभा थिएनन् । सानोमा त्यति मतलव हुँदैनथ्यो । पछी यो कुरा दिमागमा नाच्न थाल्यो । जसोतसो एसएलसी सकाएँ ।
साथीहरु कलेज पढ्ने सुरसारमा थिए । मलाई पढ्न मन लागेन। वयरडाँडे किसन दाइसँग कुरो मिलाएर दिल्ली हानिएँ । उनी केही वर्षदेखि दिल्लीमै काम गर्थे । घरकाले दिल्ली जान पुर्ण स्वीकृति दिएका थिएनन् । दिल्लीमा काम गर्नेहरुका कुरा सुन्दा त निकै राम्रो छ जस्तो लाग्थ्यो तर वास्तविकता यहाँ आएपछी मात्र थाहा भयो । वेटर देखि लिएर भाँडा माझ्ने र चर्पी सफा गर्ने सम्मको काम गर्नुपर्थ्यो । काम धेरै गर्नुपर्थ्यो तर पैसा कम थियो । एकदमै तल्लो स्तरको व्यवहार गर्थे । त्यहाँ धेरै समय नटिक्ने भएपछि पुन: नेपाल फर्किएँ ।
गाउँघरमा काम गरेर खान पनि मनले मान्दैनथ्यो । दिन कटाउनै गार्हो भयो । दुवै, कतारबाट फर्केका साथीहरुले उतैका मात्रै गफ गर्थे । उनीहरुका कुरा सुन्दा त्यहाँको विकास अद्भुत थियो । दशैंमा टन्न पैसा र कपडा लिएर सुकिला – मुकिला भई आउँदा मनै लोभिन्थ्यो । हरिले कतार जाने भए भिसा पठाइदिने आश्वासन दियो । उ कतारको एउटा फलाम फ्याक्ट्रिमा एक वर्ष अगाडिदेखि काम गर्थ्यो । म पनि लागें ।
एक वर्ष बितिसक्दा पनि म काममा निपुण भैसकेको थिईन । साथीहरु मजाले काम गर्थे । रमाइलो गर्थे । दुखसुखका कुरा गर्थे । मलाई घरको यादले सताउन लाग्यो । मेरो कतार बसाई लामो नहुने कुरा मेरै मनले भनिरहेको थियो । करीब अठार महिनाको कतार बसाइपछि म पुन: नेपाल फर्कें ।
अब म विदेशको चक्कर र अरुको देखासिखी गर्न छोडिसकेको थिएँ। घरतिरै केही गर्ने सोच आउन थाल्यो । घरपरिवारसँग सरसल्लाह गरी बाख्रापालन गर्ने निर्णय गरेँ । यो व्यवसाय राम्रै फस्टाउँदै गयो । सँगै कृषि र फलफुल उत्पादनले समेत ठाउँ लियो । विदेशतिरको अलिअलि अनुभव भैसकेकोले पनि होला यतैको व्यवसायमा रमाउन थालेँ । अहिले घरपरिवार खुसी छ । म खुसी छु । आम्दानी पनि राम्रै छ । हिजो मात्रै आमैले आशिर्वाद दिएकि थिइन् – ” अलिअलि समाजको लागि पनि केहि गर् चतुरे, अर्को पटकको चुनावमा वडाको अध्यक्ष हुनुपर्छ ” । आमैको आशिर्वाद राम्रै लाग्यो । अर्को स्थानीय चुनावबाट गाउँपालिकाकै अध्यक्ष भएको कल्पनामा डुबेंछु ।