, किन मुलुकबारे आशा गर्ने ठाउँ देखिन्न ?

किन मुलुकबारे आशा गर्ने ठाउँ देखिन्न ?

किन मुलुकबारे आशा गर्ने ठाउँ देखिन्न ?

१. कम्युनिष्टहरूले शुरूदेखि नै नेपाली राष्ट्रियतालाई काङ्ग्रेस, भारत र अमेरिका विरोधी चरित्र प्रदान गरे ।
आन्तरिक रूपमा भारत, पश्चिमी मुलुकहरू र खास गरेर अमेरिका विरोधी राजनीति गर्नु तर परोक्ष रूपमा सत्ता र शक्ति आर्जनको लागि भारत र अमेरिकाकै शरण पर्ने गर्दा उनीहरूले एउटा जटील र परस्पर विरोधी राजनीतिक द्वन्द्व मुलुकमा उत्पन्न गरे ।
नेपाली राष्ट्रियताले आफ्नो धरातल निर्माण गर्नै सकेन।

२. गज्जब बिडम्बना छ नेपाली राजनीतिको – आफ्नो राजनीतिक उत्थानको लागि राजसँस्थाबाट लिनुसम्म लाभ लिए पछि कम्युनिष्टहरूले राजसँस्थालाई मुलुकका समस्त अभाव र विकृतिको जड माने ।
त्यसैगरी आफ्नो राजनीतिक स्वार्थको लागि सधैँ वीपी भज्ने नेपाली काङ्ग्रेसनै वैचारिक र नीतिगत रूपमा नेपालमा वीपी कोइरालाको सवैभन्दा ठूलो विरोधी शक्ति बन्न पुगेको छ ।
त्यसैले काङ्ग्रेसले वीपी कोइरालाको नाउ लिनु र केपी ओलीले राम र अयोध्याको राजनीति गर्नु उस्तै हो ।

३. ७० वर्षको अवधिमा वाह्य शक्तिहरूको सहयोगमा तीन पटक राज्य व्यवस्था परिवर्तन गर्ने र वाह्य शक्तिहरूकै अजेन्डामा राजनीति गर्ने र तिनै अजेन्डाहरूलाई समेटेर संविधान बनाउने मुलुकको स्वतन्त्रता र प्रभुसत्ता जीवन्त रहन सक्दैन ।
किन कि मूलतः मुलुक भनेको एउटा निश्चित भूगोल भित्रका जनताको सँस्था हो ।
नेपालमा संविधान सँस्था बनेन,
सरकार सँस्था बनेन,
संवैधानिक अङ्गहरू सँस्था बनेनन् ,
अदालत सँस्था बनेन !
राज्य नै सँस्था बनेन !
७० वर्षमा सात वटा संविधान बनाउने मुलुकले कसरी सँस्था बनाउन सक्नु ?
हिन्दु धर्म,राष्ट्र, समाज र राजा एक हिसावले राष्ट्रको अस्तित्व र परिचयसँग अभिन्न रूपमा जोडिएका, राज्यको जन्मसँगै अस्तित्वमा आएका जन्मजात सँस्था थिए। तर ती सवै भत्काइए !
तिनमा समय अनुकूल सुधार र परिवर्तन आवश्यक थियो, त्यो गर्न सकिन्थ्यो तर तिनलाई ध्वस्त पारियो ।
जावो दल चलाउन, दलको सानो समितिको बैठकलाई नियमितता दिन नसक्ने, दलको विभाग र समितिहरू गठन गर्न नसक्नेहरूले कसरी राष्ट्रका लागि सँस्थाहरू निर्माण गर्नु ?

४. अहिलेका सवै दलका सवैजसो मूख्य राजनीतिक (?) व्यक्तिहरू गएको अढाई तीन दशकदेखि सत्ता र सरकारमा छन् ।
यो अवधिमा यिनले मुलुकलाई दिएको योगदान के हो ?
आखिरमा यी सवै विधि पद्धति, सँस्था – संरचना भत्काएर , ध्वस्त पारेर, असन्तुष्टि, अराजकता, हिंसा मच्चाएर सत्तामा आएका हुन् ।
आफ्नो स्वार्थको लागि र सामर्थ्यले भ्याए र सम्भव भए कुनै पनि क्षण यी पुनः त्यही रणनीति अवलम्वन गर्न सक्छन् ।
४७ सालको संविधानलाई काङ्ग्रेस र एमालेले फाले जस्तै अहिलेका राजनीतिक दलहरूले आफ्नो स्वार्थ सिद्धिको लागि परिआए जुनसुकै बेला यो संविधानलाई मिल्काइदिन सक्छन् !
त्यसपछि के हुने थाहा छैन ।
हिजो आफैँले बनाएको संविधानका प्रति, अहिलेकोले भन्दा बढी राष्ट्रिय स्वामित्व रहेको त्यो संविधान फाल्न किञ्चित नमान्नेले यो संविधान ?

५. यिनीहरूसँग नितान्त निजी स्वार्थ बाहेक कुनै पनि मूल्य, मान्यता र विश्वास भन्ने कुरै छैन ।
एउटा धर्महीन राज्य कर्महीन, कर्तव्यच्यूत र पुरुषार्थहीन र परिचय विहीन बन्न पुग्दछ ।
आस्था विहीन राज्य बन्न पुग्दछ ।
त्यस्तो राज्य उठ्दैन !
उठाउनका लागि हामी सँग न भरोसायोग्य विकल्प छ न कतै आडलाग्ने र आश गर्ने ठाउँ छ ।
हाम्रा सवै यिनले खोसिसके ।
हरण गरिसके ।
हामी हार्नु सम्म हारिसक्यौं ।
अव त हार्ने कुरा पनि बाँकी छैन ।
सवै हारिसकेपछिका जुवामा पत्नीसम्म हारेका पाण्डव जस्तै भएका छौँ हामी !
वनवास र गुप्तबासका लक्षहीन र भविष्य हराएका अनाथ यात्रु ।

स्वयम् भगवान कृष्ण साथमा,
भीष्म र द्रोण जस्ता तत्कालिन समयका सवैभन्दा पराक्रमी व्यक्तिहरूको शुभेच्छा र सद्भावना,
कुन्ती र गान्धारी जस्ता महा शक्तिशाली नारी शक्तिहरूको आशिर्वाद रहँदा रहँदै पनि राज्य, धन सम्पत्ति, इष्ट मित्र, शुभेच्छुक सवै त्यागेर बन बन भट्कदै हिड्नु परेको अवस्थाका पाण्डव जस्तै बनेका छौँ हामी ।
ल पछि पाण्डव हस्तिनापुर फर्किए रे !
तर आखिर त्यत्रो युद्धपछि, सवै सन्तान, नाता गोता, कुटुम्ब, इष्ट मित्र, शुभेच्छुक गुमाएर हस्तिनापुर पाएका त हुन् नी पाण्डवले !

६. आखिर यो व्यवस्थामा दुई तिहाई निकट संसदीय स्थान र त्यो भन्दा पनि बढी वर्चस्व प्रदेश र स्थानीय तहमा कम्युनिष्टहरू पुग्दा पनि किन यो राजनीतिक अस्थिरता र अन्यौल ?
किन यिनीहरूलाई हटाउन र टिकाउन पनि विदेशीहरू नै उभिनुपर्ने ?
किन कि कम्युनिष्टहरू स्थिरताका स्रोत होइनन् ।
संसारभरी कतै होइनन् !
अस्थिरताको जड नै उनीहरू हुन् ।
वैचारिक अन्यौल नै उनीहरूको राजनीतिक परिचय हो ।
जनताको बहुदलीय जनवादमा तीन दशक भन्दा लामो आभ्यास गरिसकेको पार्टी त एकाएक चुनावी स्वार्थको लागि आफ्ना सवै विचार, मान्यता, विश्वास, अभ्यास र परम्परा परित्याग गर्न सक्छ भने अझै हिंसाको राजनीतिको धंगधंगी नमेटिएको पार्टीले कसरी स्वस्थ्य बहुदलीय राजनीतिमा विश्वास गरिरहेको होला ?

७. यो सवैको लेखाजोखा यो मुलुक र यहाँको राजनीति र यहाँको नागरिक र वौद्धिक समाजले गर्न सक्दैन, गर्न सकिरहेको छैन,
किन कि यहाँ त्यस्तो समाज नै छैन ।
विदेशीले लगानी नगर्ने अवस्थामा यहाँको कुनै वौद्धिक(?) ले कलम चलाउन सक्दैन ।
विदेशीले धाप नमारे सम्म कुनै नागरिक समाज उठ्न सक्दैन यहाँ !
यहाँका वौद्धिक हरूको कलम विदेशीको लागि मात्रै हो ।
त्यताबाट आउने लाभका लागि मात्रै हो,
मुलुकका लागि होइन।
उसको कलम राष्ट्रिय प्राथमिकताको विषयमा चल्दैन ।
चल्न जान्दैन।
अरूको प्राथमिकतामा मात्र चल्दछ ।

८. तर वाह्य शक्ति राष्ट्रहरू भनेका त्यस्तै हुन् ।
सय पाँच सय वा हजार वर्ष अघि पनि ती यस्तै थिए र आज पनि त्यस्तै छन् ।
देखिने र पढिने नियम, कानुन राम्रो बनाएका छन् तर गर्ने नियम-कानुन त्यस्तै हो ।
उनीहरूले आफू अनुकूल क्षेत्रीय र विश्व व्यवस्था निर्माण गर्ने हुन् ।
आफ्नो मुलुकको राष्ट्रिय हित, लक्ष,
आफ्ना जनताका आस्था, विश्वास,मूल्य र मान्यताहरूका रक्षाका लागि अन्य मुलुकहरूको सम्वन्धमा उनीहरू ढाँट्छन्, छल्छन्, षड्यन्त्र गर्दछन्, विश्वासघात पनि गर्दछन् ,
आफ्नै मुलुकको कानुन पनि उल्लङ्घन गरेर वाह्य मुलुकमा आफ्नो हित र स्वार्थ अघि बढाउँछन्, व्यवस्था परिवर्तन गरिदिन्छन्, सत्ता पल्टाइदिन्छन् ।
विद्रोह मच्चाइदिन्छन्, प्रतिविद्रोह पनि गराइदिन्छन् ।
मुलुक विभाजित गरिदिन्छन् !
यो हिजो पनि गर्थे, आज पनि गरिरहेका छन् र भोली पनि गर्छन् ।
त्यस्तो गर्ने संरचना पनि हुन्छ उनीहरूसँग !

९. मेरो मुलुक कुनै शक्ति राष्ट्र हुन्थ्यो र म मेरो मुलुकको मूख्य जिम्मेवारीमा हुन्थेँ भने म पनि गर्थेँ ।
तपाइँ पनि गर्नु हुन्थ्यो होला !
यो कसैले कसैलाई सरापेर रोकिने कुरा होइन,
त्यस्ता कुरा विरूद्ध सवल राष्ट्रिय क्षमता निर्माण गर्ने हो ,
राष्ट्रिय संरचना निर्माण गर्ने हो ।
अर्काको लागि आफ्ना मुलुकका संरचना र क्षमता निर्माण गर्न भन्दा तिनलाई भत्काउन र ध्वंश गर्न गौरव मान्नेले त्यसो गर्न सम्भव हुने कुरै भएन ।
त्यसैले त्यहाँ आशा गर्ने ठाउँ नै रहेन !

१०. विदेशीको आड र बलमा मात्रै हालसम्मका सवै राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तन पढेको, देखेको र भोगेको मैले अर्को परिवर्तन आउने हो भने फेरी पनि विदेशी कै भरमा आउने हो।
त्यसैले म आशावादी छैन म निराशावादी बनेको छु !
तर तपाइँले आशाको किरण देख्नु भएको छ भने मेरो शुभकामना !

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनहुन्छ ।

यो पनि पढ्नुहोस्

दल नै राज्य, दल नै राष्ट्र ! दल नै समाज : नयाँ नेपालको साझा पहिचान !

मित्र राष्ट्रहरूसँगको सम्बन्धमा विस्तार गर्दा दण्डित नेपाली शासक, भारदार र नेताहरू

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू

राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?