८ बैशाख २०८१, शनिबार

देउवालाई अन्तिम मौकाः सत्ता हेर्ने कि देश ?


Sher-Bahadur-Dauba

कांग्रेसभित्र लामो समयदेखि प्रतिपक्षी भुमिकामा रहेका शेरबहादुर देउवा आजबाट कांग्रेसको संस्थापनमा रुपान्तरण भएका छन् । देशको सबैभन्दा ठूलो पार्टीको प्रमुख भएका नाताले अबका दिनमा नेपाली राजनीतिमा उनको बाक्लो प्रभाव देखिनेछ ।

बदलिएको पार्टीगत हैसियतसँगै आफ्नो सोच, समझ र शैली रुपान्तरण गर्नुपर्ने चुनौति देउवासामु छ । सँधै आफ्नो गुटको मात्रै चिन्ता लिन अभ्यस्त देउवाले अब सिंगो पार्टीको र राष्ट्रिय राजनीतिकै चिन्ता लिनुपर्ने हुन्छ ।

कांग्रेसभित्र र बाहिर खासै आशा गरिएका वा गर्नलायक नेता होइनन् देउवा । उनीसँग कुनै चमत्कारिक क्षमता छैन । उनी कांग्रेस सभापति हुँदा जनमानसमा कुनै उत्साह सञ्चार भएको पनि छैन । सिमित क्षमता र प्रशस्त कमजोरी भएका यी नेतालाई देशको बौद्धिक तप्काले त नेतै मान्दैन ।

सभापतिमा समर्थन लिने क्रममा देउवाले नेता र तीनका गुटसँग बेग्लाबेग्लै प्रतिवद्धता जनाएका छन् । ‘जितेपछि देखाजाएगा’ भन्ने हिसाबले व्यक्त गरेका यस्ता प्रतिवद्धता आगामी दिनमा उनका लागि गलबन्दी होइन, गलपासो बन्ने सम्भावना छ ।

तर, त्यसो भनेर देउवा केही पनि होइनन् र कांग्रेसमा उनको उदयले कुनै तुक राख्दैन भन्ने होइन । १९ वर्षसम्म कोइराला वंशको अविच्छिन्न तर बिर्सनलायन नेतृत्व व्यहोरेको कांग्रेसमा देउवाको उपस्थितिले नयाँपनको आभास गराउने छ । यति अनुमान गर्न सकिन्छ, उनी सुशील कोइरालाको पदचिन्हमा हिँड्ने छैनन् । उनको हिँड्ने शैली आफ्नै छ । त्यो शैली कहिले देशका लागि हितकर त कहिले खतरनाक पनि हुन सक्छ ।

देउवा पटक-पटक परिक्षण भइसकेका नेता हुन् । एक दशकअगाडि नै तीनपटक प्रधानमन्त्री पदमा पुगिसकेका उनले कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गर्दै पार्टी नेतृत्वको अभ्यास पनि गरे । ती अनुभवका आधारमा हेर्दा उनका सकारात्मक र नकारात्मक दुवै प्रवृत्तिहरु उजागर भइसकेका छन् । उनीसित कुनै चमत्कारीक क्षमता भएका दुरदर्शी नेता होइनन् । दुरदर्शी पनि होइनन् । तर राजा ज्ञानेन्द्रले भनेजस्तो पूरै अक्षम पनि होइनन् ।

आवश्यकता अनुसार कठोर लचिलो हुनसक्ने गुण देउवामा छ । आवश्यकता अनुसार कठोर निर्णय लिनसक्ने क्षमता पनि उनको छ । आफ्ना सीमाहरुलाई बुझेर क्षमताको समदुपयोग राम्ररी गरे भने कांग्रेसमा उनको कार्यकाल सन्तोषजनक हुन सक्छ ।

कांग्रेस सभापति भएपछि देउवाका आगामी दिनहरु चुनौतिले भरिएका हुनेछन् । पार्टीभित्रका र बाहिर देउवाका चुनौतिहरु यस्ता छन् ।

१. पार्टीभित्रको व्यवस्थापन

कांग्रेस एउटा पार्टी नभएर धेरै गुटहरुको अखडा रहेछ भन्ने तथ्य यो महाधिवेशनमा झनै प्रखर रुपमा देखियो । गुटको अखडालाई पार्टीका रुपमा ढाल्नु देउवाको पहिलो चुनौति हो ।

कांग्रेस पार्टीभित्र अनेक महत्वाकांक्षा पालेका नेता र तीनका आफ्ना गुटहरु छन् । ती गुटहरुका राजनीतिक एजेन्डा समेत अलगअलग छन् । हिन्दू धर्म चाहिन्छ भन्नेदेखि राजतन्त्रमा फर्किनुपर्छ भन्नेसम्म मान्यता बोकेका नेताहरुलाई समेटेर अघि बढ्न देउवालाई सजिलो छैन । त्योभन्दा पनि कठिन छ नेताहरुका व्यक्तिगत र गुटगत स्वार्थको तुष्टी । सभापतिमा समर्थन लिने क्रममा देउवाले विभिन्न नेता र तीनका गुटहरुसँग बेग्लाबेग्लै प्रतिवद्धता जनाएका छन् । ‘जितेपछि देखाजाएगा’ भन्ने हिसाबले व्यक्त गरेका यस्ता प्रतिवद्धता आगामी दिनमा उनका लागि गलबन्दी होइन, गलपासो बन्ने सम्भावना छ ।

आफ्नो समुहको व्यवस्थापन गर्ने नाममा पराजित समुहलाई पूरै नजरअन्दाज गरेर अघि बढ्न पनि मिल्दैन देउवाले । विगतमा आफूले हार्दा स्थापित गरेको ६०/४० को नजिरले पनि अब उनलाई दुख दिने छ । कांग्रेसका प्रतिपक्षमा रुपान्तरण हुन गइरहेका पौडेलले सोही नजिरका आधारमा देउवालाई पाइला-पाइलामा बल्छी छाप्ने छैनन् भन्न सकिन्न । पौडेल देउवासँग पराजित भए पनि उनको मतसंख्या उल्लेख्य छ । सो मतको आधारमा हेर्दा केन्द्रीय कमिटीमा उनको बलियो उपस्थिति हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यसो भएमा देउवालाई झन् असुविधा थपिनेछ ।

२. पार्टीबाहिरको राजनीति

सुशील कोइराला नेतृत्वको कांग्रेस प्रतिस्पर्धि दल एमालेमुनी थिचिएको थियो । संविधान निर्माणको नेतृत्व आफूले लिएको कांग्रेसले भन्ने गरे पनि यथार्थमा उ एमालेसँगै लतारिएर यहाँसम्म आएको हो भनेर धेरैले बुझेका छन् । देउवाको चुनौति ठूलो पार्टीको हैसियतले देशको राजनीतिलाई नेतृत्व दिने स्थानमा कांग्रेसलाई पुनस्थापित गर्नु हो । एमालेको ओझेलमा परेको पार्टी छविलाई पुनर्जिवित बनाउनु हो । कांग्रेसको पिछलग्गुको रुपमा चिनिएको एमाले केपी ओलीको उदयसँगै कांग्रेसलाई डोर्‍याउने हैसियतमा पुग्यो । त्यसलाई उल्टाउने चुनौति देउवासँग छ ।

सबैभन्दा पहिले मधेसका सवालमा देउवाले कांग्रेसलाई प्रष्ट बनाउनुपर्छ । मधेसको सबैभन्दा ठूलो मुद्दा संघीयता हो र देउवा संघीयताका ठूला फ्यान होइनन् । बिगतमा अखण्ड सुदुरपश्चिममा अडान लिँदै आएका देउवा सभापति भएपछि के गर्छन् भन्ने पनि अहम् सवाल छ ।

मधेसप्रति कडा रवैया लिँदा एमालेको पिछलग्गु देखिने र नरम नीति लिँदा अलोकपि्रय भइने परिस्थितिको चेपुवामा छ कांग्रेस । संविधान निर्माणपछिका घटनाक्रमहरुमा कांग्रेसको छवि भारतपरस्त पार्टीको रुपमा नराम्ररी स्खलित भयो । कांग्रेसका एक-एक नेताहरुमाथि ‘भारतीय एजेन्ट’ को आरोप लागिरहेको छ ।

देउवाको व्यक्तिगत पृष्ठभूमि हेर्दा उनमा पनि विदेशीहरुलाई रिझाएर आफ्नो स्वार्थसिद्दी गर्ने प्रवृत्ति देखिन्छ । सभापतिमा समर्थन माग्न उनले भारतीय सस्थापनसँग कुनै किसिमको समझदारी गरेका छन् कि भन्ने आशंका पनि एकातर्फ छ । मूलतः मधेस राजनीतिका सन्दर्भमा त्यस्तो समझदारी उनले गरेका भए आगामी केही दिनमै त्यो छताछुल्ल हुनेछ ।

देउवालाई अन्तिम मौका

आफ्नो ५० वर्ष लामो राजनीतिक यात्रामा देउवाले सबैकुरा भोग गरिसकेका छन् । पटक-पटक सत्तामा पुगे, कुस्त सम्पत्ति आर्जन गरे, सामान्य मध्यमवर्गीय परिवारबाट सम्भ्रान्त परिवारमा रुपान्तरित भए । उमेरले वृद्धावस्थामा प्रवेश गरिसकेका देउवा अहिले आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा छन् । देश र जनताका लागि योगदान दिन उनीसँग अन्तिम मौका उपस्थित छ । उनको पार्टी कांग्रेस बलियो प्रतिपक्षका भूमिकामा छ ।

अब देउवाले तत्कालै सत्तामा आँखा लगाएर सरकार ढाल्ने खेल सुरु गर्ने आशंका धेरैको छ । तर, यस्तो कदम न देशको हितमा हुनेछ न देउवाको हितमा । दोस्रो र तेस्रो ठूला दल सत्तामा रहेको बेला कांग्रेसबाट बलियो प्रतिपक्षको भूमिका नै बढी अपेक्षित छ । प्रतिपक्षमै बसेर पनि देउवाले देशको राजनीतिक संकट निवारण र संविधान कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका खेल्न सक्छन् । उनले यस्तै भूमिका खेल्छन् कि प्रधानमन्त्री पद कसरी उछिट्याउने भन्नेमा ध्यान केन्द्रीत गर्छन्, हेर्दै जाउँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !