३० कार्तिक २०८१, शुक्रबार

लद्दाखको रणनीतिक भूगोल, भूराजनीतिक महत्व र भारत र चीनको भीडन्त


केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

लद्दाखको रणनीतिक भूगोल, भूराजनीतिक महत्व र भारत र चीनको भीडन्त

लद्दाख राजा हरि सिंह शासित जम्मु काश्मिर राज्यको अङ्ग थियो ।
त्यसैले काश्मिरको आधुनिक इतिहासको सङ्क्षिप्त उल्लेख गरौँ –
काश्मिरमाथि अफगानीहरूले १७५० देखि १८१९सम्म शासन गरे ।
उक्त अवधिलाई काश्मिरको इतिहासको सबैभन्दा अन्धकार युग मानिन्छ ।
अफगानहरूले काश्मिरमा चलाएको बर्बरता र क्रूरताबाट आजित भएर काश्मिरी जनताको तर्फबाट एउटा प्रतिनिधि मण्डल पंजावका राजा रणजित सिंह कहाँ गयो र अफगानीहरूलाई आफ्नो भूमिबाट धपाउन उनको सहयोगको लागि अनुरोध गर्यो ।

महाराज रणजित सिंह अन्तर्गतका एक सामन्त जनरल गुलाब सिंहको नेतृत्वमा गएको पंजावी फौजले अफगानीहरूलाई काश्मिरबाट धपायो ।
जम्मु र काश्मिर रणजित सिंहको शासन अंतर्गत आयो ।
रणजित सिंहले प्रसन्न भएर गुलाव सिंहलाई विर्तामा जम्मु दिए ।
१८३९मा रणजित सिंहको निधन भयो ।

सन् १८४६मा अङ्ग्रेजहरूले पंजावलाई पराजित गरे ।
तर पंजावको पराजय अघि गुलाब सिंहलाई अङ्ग्रेजहरूले आफ्नो पक्षमा पारेका थिए ।
महाराज गुलाव सिंहको शासन कायम हुन आउँदा सम्म कश्मिरी पण्डितहरूको सानो सङ्ख्या बाहेक ९० प्रतिशत काश्मिरी जनता विभिन्न मुस्लिम शासकहरूको क्रूर दमन र दवावमा परेर मुसलमान बनिसकेका थिए ।

पहिलो अङ्ग्रेज -अफगान युद्धमा अफगानिस्तानमाथि आक्रमण गर्न अङ्ग्रेजलाई जम्मु भएर सेना लैजान बाटो दिए वापत अङ्ग्रेजहरू गुलाव सिंहसँग औधि प्रसन्न थिए ।
१८४६मा अङ्ग्रेज सिख युद्धमा पनि गुलाव सिंहले अङ्ग्रेजहरूलाई गुप्तरूपमा साथ दिएका थिए ।

यी सबैको गुन तिर्ने उद्देस्यले १६ मार्च १८४६मा अङ्ग्रेज सरकारले गुलाव सिंहलाई ७५ लाख रुपैयाँमा जम्मु काश्मिर वेचिदिए । (१ )

उनै गुलाव सिंहका चौथोपुस्ताका हरि सिंह १९४७मा भारत स्वतन्त्र हुँदा जम्मु काश्मिरका महाराजा थिए ।

चीनको मुस्लिम बहुल तर पृथकतावादी राजनीतिको समस्या बेहोरिरहेको सिन्जियाङ, क्षेत्रीय र अन्तर्राष्ट्रिय विवाद र तनावबाट मुक्त हुन अझै नसकिरहेको तिब्बत, पाकिस्तान र अफगानिस्तानसँग सीमा जोरिएको र मध्य एसियाको ताजिकिस्तान लगायतका मुलुकहरू निकटको जम्मु काश्मिर (पाकिस्तान नियन्त्रित समेत) को भौगोलिक अवस्थितिले नै यसको भूराजनीतिक महत्वलाई स्पष्ट पार्दछ ।

लेनिनले १९२०मा भनेका थिए -बेलायत हाम्रो सबैभन्दा ठूलो दुष्मन हो र बेलायतको उपनिवेश मध्ये सबैभन्दा महत्वपूर्ण भारत हो ।
त्यसैले बेलायतलाई सबैभन्दा कठोर प्रहार गर्न भारतमाथि नै प्रहार गर्नु पर्दछ (२)

उपरोक्त भनाई लगत्तै सोभियत सङ्घले पश्चिममा क्यास्पियन सागरदेखि पूर्वमा चीनको पश्चिमी सीमानासम्म र उत्तरमा रूसदेखि दक्षिणमा इरान, अफगानिस्तान र चीनसम्म विस्तारित मध्य एसियाका कजाकस्तान, उज्बेकिस्तान, ताजिकिस्तान किर्गिजस्तान र तुर्कमेनिस्तान राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्यो ।

ती मुलुकहरूमा कम्युनिस्ट पार्टी स्थापना गरायो ।
तुर्क जाती र मुस्लिम समुदायवीच जात र सम्प्रदायको आधारमा एकताको आधार निर्माण हुन नदिन ती मुलुकहरूवीच नयाँ सीमा रेखा निर्माण गर्यो र सोभियत सङ्घ अन्तर्गतका स्वायत्त राज्यको रूपमा १९२४मा आफूमा मिलायो ।

यहाँ अर्को विचारणीय पक्ष के पनि रहेको छ भने मुलुकमा कम्युनिस्ट शासन स्थापना हुनु भन्दा धेरै अघि देखि लगातार रूस भारतलाई लक्ष गरेर दक्षिणतर्फ अघि बढिरहेको थियो ।

उदाहरणको लागि १७५९मा रूस र बृटिस भारतको भूभागवीच छ हजार किलोमिटर भन्दा बढीको दूरी थियो तर १८८५मा आइपुग्दा त्यो दूरी करीव छ सय किलोमिटरमा सीमित हुन पुग्यो ।
अफगानिस्तान सोभियत नियन्त्रणमा आउँदा जम्मु काश्मिरको सीमाना (पाक अधिकृत ) मा नै रूस आइपुग्यो ।
भारतीय काश्मिरको हिसाव गर्दा त्यो दूरी करीव सय किलोमिटर थियो ।
आजको मितिमा अफगानिस्तान वास्तविक अर्थमा अमेरिका शासित छ ।
अर्थात जम्मु काश्मिरको सीमानामा छेउमा अमेरिका र चीन दुवै छन् ।
अर्को शक्तिशाली मुलुक रूस छेवैबाट रणनीतिक अवशर खोजिरहेको छ ।
ब्रिटेनले भारतको सुरक्षाको लागि अलग अलग तहको सुरक्षा पत्र निर्माण गरेको थियो – उदाहरणको लागि पश्चिममा अफगानिस्तानको सीमानापारी मित्र शक्तिहरू स्थापना गर्ने,
अफगानिस्तानलाई आफ्नो संरक्षकत्व अन्तर्गतको स्वतन्त्र राष्ट्र बनाउने र अफगानिस्तान र भारतको वीचमा विभिन्न जाती -जनजातीको स्वायत्त क्षेत्र कायम राख्ने ।

१९४७ मा भारत स्वतन्त्र हुनु अघिसम्म पश्चिम र पश्चिम-उत्तरको बृटिस भारतको सुरक्षा रणनीति त्यही थियो ।
यता उत्तर तर्फ तिब्बतलाई अफगानिस्तान जस्तै बफर राष्ट्र बनाएको थियो ।

तिब्बतदेखि दक्षिण भुटान, सिक्किम, नेपाल,काश्मिरलाई दोस्रो तहको बफर राष्ट्रहरूको हैसियतमा स्थापना गरेको थियो ।
त्यस्तो बफरको औचित्यबारे नेपाल सम्वन्धी यो प्रसंग पनि मननीय छ —
सन् १८१४-१६ को नेपाल अङ्ग्रेज युद्धमा नेपाललाई भारतमा गाभ्ने बारे अङ्ग्रेज सरकारले उच्चतम तहमा व्यापक विचार -विमर्श र छालफल चलाएको थियो । तर त्यसका केही व्यवहारिक पक्ष र ब्रिटिस भारतका सर्वोच्च शासक अर्थात भायसराय लर्ड हेस्टिंगसका हिमालयन मामिला सम्वन्धी सल्लाहकार डा. बुचानन. हेमिल्टन त्यस्का विरूद्ध उग्र विरोधमा उत्रिए ।

ब्रिटिस भारत र चीन जस्ता एक अर्काप्रति घृणा र शत्रुता राख्ने दुई ठूला र शक्तिशाली मुलुकहरुको वीचमा करीव एक हजार दुई सय किलोमिटर ( बाँके, बर्दिया, कैलाली र कन्चनपुर पछि जङ्गबहादुरको पालामा नेपालमा आएकोले त्यतिखेरको नेपाल र ब्रिटिस भारत वीचको सीमानाको लम्बाई यस्तै थियो ) को सीमा क्षेत्रमा बफरको रूपमा नेपाल रहँदा त्यसले ब्रिटिस भारतको वृहत्तर राष्ट्रिय हितलाई नै सहयोग गर्ने कुरामा डा. हेमिल्टनले आफ्नो उच्च नेतृत्वलाई सहमत गराए । (३)

लर्ड हेस्टिंगसका उत्तराधिकारीहरूले बारम्बार डा.हेमिल्टनको विचारलाई अनुशरण गरिरहे ।
अझ भारत र चीनलाई जोड्ने अनि एसियाका तीन आणविक शक्ति राष्ट्र चीन, भारत र पाकिस्तान जोड्ने र एक अर्को मुलुकको अधिनमा रहेको जम्मु काश्मिरको भूभागमाथि उनीहरूको दावी रहेको कारण अमेरिका र रूस लगायत विश्वका सवै शक्ति राष्ट्रहरूको रूचि र ध्यान जम्मु काश्मिरमा लक्षित छ र केन्द्रित छ ।

पूर्व सोभियत सङ्घ र अमेरिकाले अफगानिस्तानमा किन त्यत्रो ठूलो सैन्य रणनीतिको लगानी गरे भन्ने कुराको एउटा उत्तर – अफगानिस्तानसँग जोडिएको र एकै साथ चीन, भारत र पाकिस्तानको नसा छाम्न सकिने जम्मु काश्मिरको भूगोल पनि हो ।

त्यसमाथि पाकिस्तानकोलागि पानीको एक मात्र मूल स्रोत भनेको पनि पनि जम्मु र काश्मिरबाट झर्ने नदीहरू हुन् ।
अर्थात राष्ट्रकोरूपमा पाकिस्तानको जीवन नै जम्मु काश्मिरबाट झर्ने नदीहरूमा निर्भर छ ।

सन्दर्भ ग्रन्थहरु

(१) भारतीय काङ्ग्रेस पार्टी सम्वद्ध विख्यात भारतीय पत्रकार र लेखक एम. जे. अकवर २०१४मा भारतीय जनता पार्टीमा सम्वद्ध भए र नरेन्द्र मोदीको पहिलो सरकारमा २०१५-२०१८ को अवधिमा विदेश राज्य मन्त्री समेत थिए । उनीद्वारा लिखित र चर्चित पुस्तक इन्डिया दी सीज विदीन, पेङ्गुइन बुक्स, १९८५, पृष्ठ २२०

(२) गाइल्ज मिल्टनको चर्चित पुस्तक रसियन रूलेट : अ डेडली गेम – हाउ ब्रिटिस स्पाइज थवार्टेड लेनिन्ज ग्लोबल प्लटबाट राजिव डोग्राको पूर्वोक्त पुस्तकमा उद्धृत, पृष्ठ १९९ ।

(३) ए. ल्याम्ब -ब्रिटेन एण्ड चाइनिज सेन्ट्रल एसिया : दी रोड टु ल्हासा १७६७ टु १९०५, रुटलेज एण्ड केगान पल , १९६०, पृष्ठ ३९-४० बाट फ्रेडरिक ए. ग्रिनहट द्वितीय लिखित पुस्तक – दी तिबेतियन फ्रन्टियर्स क्वेस्चन – फ्रम कर्जन टु कोलाम्बो कन्फरेन्स, एस चन्द एण्ड कम्पनी, (मिति नभएको) पृष्ठ २मा उद्धृत ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू

राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

भारतीय टिभी च्यानलको प्रोपगान्डा वार र रेडियो पेकिङको एउटा सन्दर्भ

वर्तमान नेपाली सत्ता राजनीतिमा कमजोर भारत र शक्तिशाली चीन

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !