११ पुस २०८१, बिहीबार

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता


दिवेश पोखरेल_आर्थन गन

५ जेठ, काठमाडौं । विश्व प्रसिद्ध गायन प्रतिभाको खोजी गर्ने रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका युवा दिवेश पोखरेल उपविजेता बन्न सफल भएका छन् । टप ५ मा परेर फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको थियो तर उनी टप २ मा पुगेपनि बिजेता बन्न पर्याप्त भोट आएन । जस्ट साम अमेरिकन आइडल बनिन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको भएतापनि अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । फाइनलमा हरेक प्रतियोगीले दुई-दुई वटा गीत गएका थिए । कोभिड-१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको थियो ।

२ वटा नेपाली एल्बम निकालेका २२ वर्षीय दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए । उनले अमेरिकन आइडलमा ‘आर्थन गन’को नामले प्रतिस्पर्धा गरिरहेका छन् । दिवेशसँगै डिलन जेम्स, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन र जस्ट स्याम फाइनलमा पुगेका हुन् ।

काठमाडौंको रवीभवन निवासी उनी परिवारसहित अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको ‘किस द गर्ल’ बोलको गीत गाएका थिए ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !