१ मंसिर २०८१, शनिबार

जिन्दगी


life

पोखरीमा पानी बिनाको माछा जस्तो
युद्भुमिमा गोली लागी ढल्न लागेको योद्दा जस्तो
चुरे घाँटीको दोसाँधमा छटपटी रहेको छ यो जिन्दगी।

रछ्यानमा फालिएको भातको सिता जस्तै
सडकमा फालिएको बेबारिसे लास जस्तै
बेसहारा बनेको छ यो जिन्दगी।

सर्कसमा उफ्रिने बाँदर जस्तै
साइकलमा रहेका दुईटा पैया जस्तै
अरुको इशारामा बाँचिरहेको छ यो जिन्दगी।

कालीमालाई चढाउन लगेको बोका जस्तै
साउने झरीमा परेको पानीको फोका जस्तै
एकै छिनमा बिलाईजाने
हावाको झोक्का हो यो जिन्दगी।

सबैथोक बगाउने गरी आएको खोलाको भेल जस्तै
हत्यारालाई कैद गर्न बनाइएको फलामे जेल जस्तै
कहीँ कतैबाट उम्किन नसकिने
समयको खेल हो यो जिन्दगी।

पानीको अभावमा मर्न लागेको बोट जस्तै
आफ्नो हुन नसकेकी मायालुको ओठ जस्तै
पाउन नि नसकिने गुमाउन नि नसकिने
च्यातिएको हजारको नोट भा’को छ यो जिन्दगी।

मौनताभन्दा बढी हल्ला गर्ने मनुष्यको मुख जस्तै
बीच सडकमा रोपिएको विशाल रुख जस्तै
सबैले जिउनै पर्ने, सबैले भोग्नै पर्ने
सुख सम्झे सुख, दु:ख सम्झे दु:ख हो यो जिन्दगी।

भूगोल खनाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !