१० मंसिर २०८१, सोमबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा रचित ‘परिवर्तनका स्वर भाग-२’ एल्बमको विमोचन


परिवर्तनका स्वर भाग-२

९ चैत, काठमाडौँ । गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ (जेएन) खनालद्वारा रचित ‘परिवर्तनका स्वर भाग-२’ गीति एल्बम विमोचन भएको छ । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त एल्बम लोकर्पण गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता बामदेब गौतम लगायत अन्य नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसक्नु भएका नेता खनालको बहुआयामिक प्रतिभाका रुपमा समेत प्रस्तुत हुनुभएको बताउनुभयो । उहाँले खनालका गीतमा देश प्रेम तथा राष्ट्रिय एकताको भावना रहेकाले मुलुकको परिवर्तनतर्फ गएको सङ्केत गरेको बताउनुभयो । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथले यति राम्रो सिर्जना गर्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँको सिर्जनशीलता धेरैका लागि प्रेरणाको स्रोत हुनसक्छ ।” कला, संस्कृति साहित्यमा अग्रगमन समृद्धि ल्याई समतामूलक समाज निर्माण गर्नुपर्नेमा उहाँको भनाइ थियो । उहाँले अन्धविश्वास र पछौटेपनलाई परिवर्तन गर्नका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गीतकार खनालले राजनीतिक परिवर्तन पूरा भइसकेकाले आर्थिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले सामाजिक, आर्थिक रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेकाले अशिक्षा, बेरोजगार जस्ता पछौटेपनलाई उन्मूलन गरी मुलुकमा समृद्ध ल्याउनुपर्ने बताउनुभयो । उहाँले गीतमा रहेका शब्दले मुलुकलाई आर्थिक विकास गर्नमा सहयोग पुयाउने दावी गर्नुभयो । आफ्नो गीतमा सामाजिक रुपान्तरण गर्न, विकास, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानका विषय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफू राजनीतिक व्यक्ति भएको पनि फुर्सदको समयमा गीत लेख्ने गरेको सुनाउनुभयो । “म राजनीतिक व्यक्ति हुँ । मेरो पहिचान राजनीतिक हो”, उहाँले भन्नुभयो, “कहिले फुर्सदमा गीत लेख्ने गर्दछु ।”

उक्त एल्बममा देशको माया, एकता, अग्रगामी, युवा, श्रमिक र इलामका बारेमा १० वटा गीत रहेका छन् । उक्त एल्बममा रहेका गीतको सङ्गीत मिलन तिमिल्सेनाले गर्नुभएको छ भने गीत यम बराल, आनन्द कार्की, ज्ञानु राना, प्रह्लाद कार्की, खुमन अधिकारी, राजु बराल लगायत कलाकारले गाउनुभएको छ । खनालले यसअघि विसं २०६५ फागुनमा ‘परिवर्तनका स्वर भाग–१’ एल्बम निकाल्नु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !