८ पुस २०८१, सोमबार

जीवन :एक दृष्टि


जीवन:

सृष्टि हुन्छ हिरण्यगर्भ अर्थात् बिग ब्याङ्गबाट
ब्रह्म्स्वरूपमा आत्माले
भौतिक पदार्थको खोल ओड्छ ।

अणु, यौगिक, डि.न.ए., कोष,
अङ्ग, प्रणाली र शरीर विकशित हुन्छ ।


आकांक्षा, आनन्दको खोजीमा
आमाको कोखबाट
फुत्त धर्तीमा झर्छ ।

फेरि
धर्ति मातामै भर पर्छ ,
सुर्यको तेजले
धर्ति माताले विरुवा हुर्काउँछिन्
आफ्नो माटोरूपी कोखमा ।
र उक्त विरुवालाई ऊ आफ्नो आहारा बनाउँछ ।
पन्च इन्द्रियले उसलाई दौडाउँछन् ।
कहिलेकाहीं
अहंकार ,लोभ ,मोहको
कुरुछेत्रमा ऊ दौडिदै पुग्छ

महाभारतका सबै पात्र:
कृष्ण, युधिष्ठिर,
अर्जुन,भीम,कर्ण,
भीष्म पितामह, द्रौपदी, दुर्योधनसँग साक्षात्कार गर्न पुग्छ ।

एक चरणमा पुगेपछि
ऊ सोच्छ :
आखिर यत्रो दौड धुप किन !
यी सबै विविध पात्र आफूमै छन् ।
एक क्षणमा कृष्ण
अर्को क्षणमा दुर्योधनको अभिनय गरिएछ
भन्ने निष्कर्ष निकाल्छ र अन्त्यमा
प्राय:
रौद्र स्वरूपमा
बिग क्रंचमा
हिरोशिमा र नागासाकीमा
उक्त शरीर र आत्माको
विच्छेद हुन्छ ।

कुनै कुनै बिच्छेद त
अचम्मका हुन्छन्
बाइक, बस, रेल दुर्घटनामा
बम गोलामा,
क्यान्सर रोगमा,
पानीमा, हवाई दुर्घटनामा
इत्यादिमा ।

यसरि सम्पूर्ण खेल
खेल्छ ब्रह्माण्डले
जीवनको माध्यमबाट,
तैपनि शक्ति यता उता चल्छ मात्र ।

शरीर धारण
गरेपछि धेरै जीवन भ्रममा पर्छन्
‘म’ अलग हूँ भनेर !
र त थोरै मान्छे मात्र बुद्ध बन्छन् ।

‘सम्पूर्ण चीज सम्पूर्णसँग जोडिएको हुन्छ’,
आधुनिक भौतिकशास्त्र यही भन्छ ।

उक्त जीवन
आफ्नो वास्तविक स्वरूपमा
नफर्केसम्म कयौं महाभारत
लडिरहन्छ,
८४ लाख जुनीसम्म पनि
उक्त लडाईं सकिन्न ।
कर्मको नियम न्युटनको तेस्रो चालको नियममा
मात्र सिमीत छैन,
जीवनमा पनि छ ।

जे सोचिन्छ
त्यहि वास्तविकता बन्छ
गुलेलीबाट फ्याँकिएको ढुंगा आफूमै आइपुग्छ ।

र त,
हामी सबै जीव एक अर्काका बोझका सृष्टिकर्ता र
त्यही बोझका भोगकर्ता हौं ।

यसको एक मात्र
मुक्तिको बाटो
समाधि अर्थात् निर्वाण प्राप्त गर्नु हो
र परम चेतनामा ज्युँनु हो ।
-अरुण देवकोटा
(२०७३/१/२९)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !