कृष्ण प्रसाई
आफ्नै छायाले मन आतङ्कित बनेको छ,
गहिरिएँ जीन्दगी आफैमा त्रसित बनेको छ।।
दिक्क बनेको छु सांसारिक कुरा देखेर म,
किन वृद्ध भँवरो फूलसँग मोहित बनेको छ ?
मन्दिर धाउँछु सुरक्षाको निम्ति भर गरेर,
बरु भोको बाघसँग मृग सुरक्षित बनेको छ।।
निरीहको मुस्कान देखें, ऊ एकत्रित देखें,
यहाँ त बलियाहरुकै मन बितरित बनेको छ ।।
मानिसले आफ्नै ईश्वरको हत्या गर्यो रे !
लाग्छ खबर केवल अतिरञ्जित बनेको छ ।।
मझधारमा छोडेकी प्रियाले के सम्झिन्,
मेरो संझना त केवल अतीत बनेको छ ।।
नबनुन् नाराहरु बाल अधिकारका कुरामा,
यहाँ शिशु आमाकै दूधबाट बञ्चित बनेको छ ।।
*कृष्ण प्रसाई लेखक तथा साहित्यकार हुनुहुन्छ ।