मोबाइलको भाइबरमा फेरि उनको सन्देश आएन, उफ ! म केही आत्तुर हुन्छु उनको सन्देशको प्रतिक्षामा । यसो यताउति टोलाउँछु उनको यादमा । फेरि मोबाइलतिर मेरो ध्यान जान्छ । मोबाइलतिर गएको ध्यान एक्कासि आमाको आवाजमा रोकिन्छ, “छोरा खाना खान आऊ ?”
प्रत्योत्तरमा भनें, “हुन्छ, आमा म आएँ ।”
खोलेको मोबाइल बन्द गर्न मन लाग्दैन । मोबाइलको थ्रि-जी अन गरेर मोबाइलको भाइबर खोल्छु । फेरि उनको सन्देश आएको छैन । मनमा एक प्रकारको लगातार प्रश्नहरू आफ्नै गतिमा दौडिन्छन्, जसको मलाई उत्तर दिन गाह्रो साह्रो भइरहेको छ । केही समयपश्चात आमाको फेरि आवाज आउछ, “छोरा कति ढिलो हो खाना खान आऊ ? खाना पस्किसकें ।”
“हुन्छ, आमा म आएँ” भनेर मोबाइल बन्द गर्छु र खाना खान भान्सा कोठामा छिर्छु । खाना खाँदै गर्दा फेरि उनको याद आए जस्तो आभास हुन्छ मलाई । केही बेर टोलाउँछु ।
“किन खाना ढिला गरेको ?” आमाको प्रश्नले म खानातिर ध्यान बटार्छु ।
हिजोआज म अलि फरक भए जस्तो लाग्न थालेको छ । त्यो जाडो शुरु हुँदैताक चिसोको हल्का बतासले आँङ्ग सिरिंङ्ग हुँदा ओहो जाडो त सुरु हुन थाल्यो अब ज्याकेट लगाउनुपर्छ भन्दै दराजबाट ज्याकेट लगाउँदा जाडो सुरु भएकै रहेछ भन्ने लाग्यो । हुन त बिहान ९ बजे अफिसको तयारीले बेलुका ७ बजेको पत्तो नै हुँदैन मलाई । ब्यस्त दिनचर्यामा हिडिरहेको म फुर्सदको दिन थाहा नभएको महिनौ भइसक्यो । यसो कहिले घुम्न जानुपर्छ भन्ने मन लाग्दा पनि छुट्टी नै नपाइने यो व्यस्त जीवनले झन यता कता गाह्रो हुनु सामान्य नै हुन थाल्यो ।
पहिले पहिले अबेर हुँदा घरबाट फोन आउँथ्यो, म “आउँदै छु आमा” भन्ने गर्थें । आजभोलि आमाले फोन त्यति गर्नुहुँदैन कारण छोराको व्यस्तताले होला । यसरी चिसो सिरेटोले समयलाई धेकेल्दै थियो । चिसो यसरी बढ्यो कि घर बाहिर निस्कन पनि धौ धौ हुन थाल्यो । चिसो औधी बढेकाले आज चिया खान बाहिर निस्कन मन लाग्यो मलाई । अन्य दिनको जस्तो काम आज त्यति थिएँ न र केही समय छुट्याई बाहिर निस्कन्छु । अफिसअगाडिको चिया पसलमा चिया खाँदै गर्दा अकस्मात कसैप्रति मेरो ध्यानाकर्षण हुन पुग्यो ।
मेरो आँखा उनीतिर यसरी ठोकियो कि, मानौ मेरो आँखा अब बन्द हुँदैन । यसरी लगातार उनीप्रतिको हेराइले मलाई मनमनै केही कुरा सोच्न बाध्य बनायो । ऊ यो ठाउँको हैन होला सायद यो ठाउँभन्दा अर्कैको हुनुपर्छ ।
चिया सुरुक्कै पार्दै गर्दा आँखाको नजर रोकिएन । कसैको प्रतिक्षामा हो कि ? या उनीलाई कुनै अप्ठ्यारो भएर हो कि ? अथवा उनको केटा साथी छ कि ? यसरी एकोहोरो रुपमा बढेको प्रश्नले कौतुहल्ता उत्पन्न गरायो । उनको मौन उभाइले मलाई सहयोगको भावना जगायो । मेरो एकोहोरो नजरमा कैद भइसकेकी उनीलाई फेरफैर हेर्न मन लाग्नु सामान्य थिएँ न । गिलासको चिया सुरुक्क पार्दा चिया सकेको पत्तो नै भएन ।
प्रतिक्षारत केही समयपछि उनीसामु उनको साथी आउँछ । धन्न.. मन शान्त हुन्छ, कारण उसको केटी साथी । मोबाइलको घण्टीले मलाई मोबाइलतिर ध्यान केन्द्रित गर्छ । अफिसबाट आएको रहेछ फोन । अर्को गिलासको चिया सुरुक्क पार्न मन लाग्दा लाग्दै पनि त्यहाबाट निस्कनुपर्यो । हस्याङ्गफस्याङ्ग गर्दै अफिस जादाँ फेरि कामहरू दोहरिन थाले । अघिपछिका दिनभन्दा आज अलि मुड फ्रेस भाको जस्तो लाग्यो मलाई । काम पनि सहजकासाथ सम्पन्न भयो ।
अफिसको काम सकी बाहिर निस्कँदा उनी कता गइन् थाहा नै भएन । मन अलि खिन्न भयो । केहीबेर यताउति हेरे तर उनको कुनै निसाना नै थिएँ न । अन्य दिनहरुभन्दा आजको दिन भने मलाई अलि रमाइलो लागिरहेको थियो । मन्दमुस्कान सहित घर गए । सायद दिनभरिको सोचाइले होला त्यो दिन त उनको सपना देख्न भाएछु । भोलि बिहान सदा झै त्यही ९ बजेको अफिसको समय दोहोरियो ।
एकदिन म अफिसमा काम गर्दै गर्दा उनी कसैसँग मेरो अफिसमा आइन् । मेरो ओझेलबाट टाढा भएकी उनीलाई एक्कासि देख्दा म छक्क परें । म नर्भस भएँ । म शिथिल भएँ । मेरो हाउभाउ फरक भयो । स्वागत गरें उनीलाई । मेरो अगाडिको बेन्चमा बस्न आग्रह गरें । उनी अफिसमा प्रकाश दाइसँग आएकी रहिछिन् । प्रकाश दाइ प्रोजेक्टकका कर्मचारी हुनुहुन्छ । उहाँ हाम्रो अफिसमा प्रायः आउनुहुन्छ नै । त्यस दिन पनि अफिस आउनुभयो । मैले दाइलाई नमस्कार गरें, उनलाई एक नजर हेरें पनि । दाइसँगको मेरो चिनजान अफिसकै कारण भएको थियो । दैनिक बाटोतिरको भेटभाटले दाइलाई र मलाई नजिक बनाएको थियो । घर पोखरा भए पनि उहाँमा रमाइलो गर्ने बानी भएकाले हामी नजिक भएका थियौं । अफिसमा सानो कामले आउनुभएको दाइ काम सकिए लगतै फर्कनुभयो ।
भोलिपल्ट बिहान चियागफमा दाइसँग मेरो भेट भयो । मैले दाइलाई सोधें, “दाइ हजुरसँग आएका ती लेडिज को हुन ?”
“भाइ, एउटा मेरो बहिनी अर्को उनको साथी । कलेजको छुट्टीका कारण सल्यान घुम्न आएका हुन् ।”
अनि मैले सोधें, “कति समय बस्ने ?”
“सायद २/३ दिन ।”
“अनि दाइ सल्यान त घुम्नलाई कहाँ २/३ दिनले हुँछ र ?”
“हेरौं भाइ के हुन्छ ?” मैले प्रश्न सोध्न बन्द गरें ।
दाइ फिल्म साह्रै हेर्ने भएका कारण कहिलेकाही म मुभी लिन उहाँको कोठामा जाने गर्थे । सल्यानमा नयाँ फिल्म आयो भने त्योभन्दा पहिले त्यही दाइकोमा हुन्थ्यो । त्यही फिल्मको निहुँ पारी म दाइको कोठाँमा गए । दाइ त्यही हुनुहुँदो रहेछ । दाइ आफ्नो बहिनी र बहिनीको साथीलाई मसँग परिचय गराउनुभयो । मैले जुन दिन एकोहोरो हेरेको थिएँ, उनी दाइको बहिनीको साथी रहिछिन् । उनको नाम रश्मिला रहेछ, र उहाँको बहिनीको नाम सदिक्षा रहेछ । केही समयको गफगाफ पछि म त्यहाँबाट घर हिडेँ ।
बेलुका दाइले मलाई कल् गर्नुभयो र म त्यहाँ गएँ । दाइले भन्नुभयो, “भाइ मेरो बहिनीहरू पर्सी फर्कदैछन् । उनीहरुलाई घुमाउन लिनुपर्यो । मसँग एउटा मात्र बाइक छ अर्को तिमी बन्दोबस्त गर ।”
घरमा बाइक नभए पनि मैले हुन्छ भनें । यो भन्नासाथ रश्मिला एकाएक बोल्न थालिन्, “अनि सल्यानमा घुम्न मिल्ने ठाउँहरू धेरै छन् रे है सर ? खैराबांङ्ग मन्दिर, छायाँक्षेत्र मन्दिर अनि कुपिण्डेताल, मैले सुनेको ।”
मैले उत्तर दिएँ, “छन् नि धेरै तर हजुरहरुलाई घुम्न जानको लागि प्रयाप्त समय छैन होला । मैले भाएसम्म घुमाउने प्रयास गर्नेछु ।”
उनीले त्यस दिन अलि फरक तरिकाले मलाई हेरेकी थिइन् । एक दिनअघि मात्र परिचयात्मकबाट शुरु भएको सम्बन्ध छोटो समयसमै नजिकतिर जाँदै थियो । उनी एकतर्फिको प्रश्नको सोधाइले मलाई प्रश्नको उत्तर दिन हम्मेहम्मे पर्यो । पौषको महिना साह्रै जाडो हुने सल्यानको श्रीनगर रात पनि चाँडो भयो । अन्धकार रातमा उनीसामु मैले उनीलाई देखाए डाँडा, जहाँ धेरै बत्ती बलेका थिए ।
“उ त्यो ठाउँ ?” हातको ईशारा गर्दै भने, “नेपालकै अदुवाको लागि प्रख्यात ठाउँ माल्नेटा त्यही हो ।”
उनी यत्तिकै बेस्सरी हासिन् र भनिन्, “त्यहाँ त २/३ ओटा मात्र घर छ !”
सायद मैले उनीलाई बुझाउन नसकेर हो कि ! म पनि उनी हाँसेको देख्दा मुस्काइरहेको थिएँ । उनको मन्दमुस्कानले उनलाई सुन्दरतामाथि झन सुन्दरता थपेको थियो । उनका टम्म मिलेका दन्तेलहरको चमकले उनको अनुहारप्रति कुनै प्रश्न नै उठ्दैन थियो । शरिरको आकार, उनको अनुहारको सौन्दर्य, मिलेका दाँतहरु, उनको लामो केशले मेरो मन नलोभिनेमा त कुनै सवाल उठ्दैनथ्यो । चिसो बढे पनि उनीप्रतिको निकट्ताले चिसोको असर खासै परेको थिएँ न । उनले आफूसँगै बोकेर ल्याएका बिस्कुटहरू मलाई खाने भनेर अनुरोध गर्दा मैले नाई भन्नै सकिन ।
दाइको आग्रहमा हामी खैराबाङ्ग जाने योजना बन्यो ।
“हुन्छ दाइ म बाइकको बन्दोबस्त गर्छु, अहिले म घर गएँ ।” उनीलाई गुड नाईट भन्दै छुटिएँ ।
पर्सीपल्ट बाइकको बन्दोबस्त गरिसकेपछि उनी बसेको कोठामा गए । उनीहरू पहिले नै तयारी भएर बसिरहेका रहेछन् । मेरो बाइकमा रश्मिला चढिन्, अर्कोमा दाइको बहिनी । त्यो चिसो मौसममा हामी खैराबांगको उकालो चड्दै थियौं । चराचुरुंगीको चिर्बिर्चिरबिर् आवाजले सुतेको जंगल अब ब्यूँझदै थियो । बातारण अधेंरो मौनताबाट हराउँदै उज्यालोमा ढल्कँदै थियो । बाटो अलि ठाँडो र कच्ची भएका कारण म आफ्नै बेगमा दौडिदै थिएँ । उनी भने त्यो जंगललाई नियाल्दै थिइन् । उनको मधुर स्वरले यताकता मलाई झस्काइरहन्थ्यो ।
म “रश्मिलाजी, केही भन्न खोज्नुभाको हो ?” सोध्थें । उनी “हैन हैन,” भन्दै टार्थिन् ।
सायद उनीले पहिलोपटक यति बिकट अनि ठाँडो बाटोमा सवार गरेको हुनुपर्छ जसले गर्दा उनको एउटा हातले मेरो ज्याकेटलाई समातिरहेको थियो । म भने उनीलाई त्यो जंगलको दृश्य देखाइरहेको थिएँ । त्यो पहाडको रौनक बताइरहेको थिएँ । त्यो रुकुमको सिस्ने हिमालतिर हात लम्काइरहेको थिएँ । उनी भने शिर हल्लाइरहेकी थिइन् ।
यसरी एकनासले दौडेको बाइक कहीं रोकिएन । मन्दिरको आँगनमा बाइक रोकियो ।
खै ! किन हो किन त्यो दिन म साह्रै फुरुङ्ग भएको थिएँ । म एकतर्फी बोलिरहेको थिएँ । मैले सुन्दररुपी सल्यानको बयान गर्दै थिएँ । सुनाइरहेको थिएँ उनीलाई । उनी मेरो हाउभाउ देख्दा अत्यन्त रमाइरहेकी थिइन् । जब प्रवेशद्धारको ढोका मन्दिरका पुजारीले खोलिदिए उनीले भने पूजा गरिनन् । सायद उनको व्यक्तिगत समस्याले होला भन्न ठाने । प्रकाश दाइ पनि पूजा गर्न मान्नुभएन । उहाको बहिनी र म पुजारीको हातबाट टीका ग्रहन गरी फर्कियौं । उनको एकतर्फी मौनताको हेराइले मलाई भावुक बनाइरहेको थियो ।
मैले उनको मोबाइलबाट उनकै तस्वीर कैद गरें, उनी भने लज्जाइरहेकी थिइन् । उनको सौन्दर्यता नै उनको धर्यता थियो । उनी कत्ति पनि आत्तिएकी थिइनन् ।
मन्दिरको दर्शनपछि हामी त्यहाबाट निस्कयौं । केही परको दूरीपछि हामी सुन्तलाको बोट भएतिर गयौं । उनी सुन्तला टिप्न थालिन् । उनी र मैले सुन्तलासँगै टिप्न थाल्यौं । उनी सुन्तला टिप्थिन्, रमाउथिन्, खुशी हुन्थिन् । उनको अनुहारको चमकले मलाई यति आकर्षण गर्थ्यो कि मेरो मन नै बहसमा हुदैनथ्यो । सुन्तला टिप्ने काम सकेपछि हामी पहाडको बाटो हुँदै जिल्लाको सदरमुकाम खलंगातिर लाग्यौं ।
“सर, एउटा कुरा भनुँ ?”
मैले भनें, “हुन्छ, भन्नु न ।”
उनीले हातको ईशारा देखाउदै भन्न थालिन्, “त्यो डाँडैडाँडाले घेरेको बीचमा यति ताल भए कति राम्रो देखिन्थ्यो होला है ?”
उनको यो कल्पनाले मलाई कुपिण्डेतालको झझल्को गरायो । मैले उत्तर दिएँ, “छ नि हजुरले सोचे जस्तै कुपिण्डे ताल ।”
“हामी त्यहाँ जान सक्दैनौ ?” उनीले सोधिन् ।
“अहँ ! सक्नुहुन्न ?”
उनीले थपिन्, “किन ?”
मैले भनें, “धेरै टाढा छ, त्यहाँ । हामीसँग समयको अभाव छ ।”
उनको अनुहारमा अँधेरोपन प्रष्ट देखिन्थ्यो । अलि शान्त र दुखी पनि ।
“जे होस् मैले भाएसम्म हजुरहरुलाई सबै दृश्यहरू देखाएको छु ।”
खलंगाको बाटोहुँदै हामी श्रीनगरतिर जादै थियौं । उनीलाई त्यो सल्लाको जंगलमा फोटो खिचाउने मन लाग्यो ।
“सर ! एकछिन् रोक्नुहोस् न फोटो खिचौं ।”
“मैले हुन्छ,” भनें र बाइक रोकें ।
उनको मोबाइलमा पुनः सुन्दरुपी तस्बिरहरू कैद हुन पुगे । त्यतिकैमा प्रकाश दाइले भन्नुभयो, “भाइ तिम्रो र रश्मिलाको फोटो खिच्दिन्छु ।”
मैले अलि लाज माने जस्तो गरी “हुन्छ” भनें । हामी दुवैले फोटो खिचायौं ।
“आहा ! कति राम्रो फोटो आको रहेछ हेर त ?” दाइले फोटो हेर्दै प्रतिकृया दिनुभयो ।
“हो र दाइ, धन्यवाद!” मैले फर्काएँ ।
त्यसपछि हामी त्यो जंगलको बाटो हुँदै आरालो लाग्दै थियौं । मैले सोधें, “रश्मिलाजी मलाई त भुल्नु हुँदैन ?”
“हजुरलाई म कहाँ भुल्न सक्छु र ?”
अनि मैले भनें, “सल्यान कस्तो लाग्यो हजुरलाई ?”
“सल्यान साह्रै राम्रो छ, हजुर पनि साह्रै राम्रो हुनुहुन्छ ?”
“हामी फेसबुकमा साथी बनौ है, रश्मिीला जी?”
“हुन्छ सर, म रिक्वेस्ट पठाउँछु” ।
“हुन्छ, रश्मिलाजी ।”
“फेरि हामी मोबाइलको भाइबरबाट पनि कुरा गर्न सक्छौ नि सर ?”
“हो नि !”
यसरी हामी श्रीनगर पुग्यौं । जब उनी कोठामा गइन् अनि आफ्नो सम्पूर्ण सामान मिलाउन थालिन् । रात्रीबसबाट उनी घर जाने सुरसारमा जुटेकी थिइन् । बेलुकाको बसमा चढ्दै गर्दा उनी धेरै नर्भस् थिइन् ।
मैले एयरफोन दिँदै भनें, “रश्मिलाजी यो लिनुहोस् ।”
“हैन, हैन पर्दैन,” उनीले लिन मानिनन् ।
“लिनुहोस्, बाटोमा जाँदा गाडीको आवाजको असर हुन सक्छ ।”
उनको लजालुपनले उनीलाई एयरफोन लिन बाध्य बनायो । हात हल्लाएर उनीलाई “शुभयात्रा रश्मिलाजी” भन्दै बिदा गरें ।
त्यस दिनदेखि उनीसँग मेरो भाइबरमा मात्र कुरा हुन्थ्यो । उनीलाई एस.एम.एस पठाएँ । उनको एस.एम.एस. को प्रतिउत्तर आएन । धेरैपटक फेसबुक हेरें, कुनै रिक्वेस्ट नै आएन । मैले उनको फेसबुक प्रोफाइल् दुई दिन लगाएर खोजें, भेटाएँ तर रिक्वेष्टको कुनै अप्सन नै थिएन । आफूले मात्र रिक्वेस्ट पठाउने बनाएकी थिइन् ।
उनी यहाँबाट गइसकेपछि दुई पटक मात्र फोन गरेकी थिइन् । फोन मैले पनि गरे तर उनको फोन उठेन । भाइबरमा मैले धेरै अनुरोध पठाए, कुनै जवाफ आएन । सायद आजभोलि लाग्न थालेको छ, उनी आफ्नै दुनियाँमा रमाइसकिन्, मलाई भुलिन् ।
कहिलेकाहीं खलंगा जाँदा तस्वीर खिचाएका ती ठाउँहरू हेर्छु । मन नै थाम्न सक्दिन । लाग्न थालेको छ, दुई दिनको प्रेमको कुनै अर्थ राख्दैन यहाँ । दुई दिनको सम्बन्धले कुनै मतलब राख्दैन यो दुनियाँमा । हुन त उनीसँग के नै थियो र ? त्यै पनि मन न हो सोचिहाल्छ । अब उनी केहिल्यै भाइबरमा या त फोनमा आउने छैनन् । म भने उनको प्रतिक्षामा बसिरहें … !
नोटः यो कथा कसैको जीवनमा मिल्न गएमा संयोग मात्र हुनेछ ।
वीरेन्द्र वली
सल्यान