१ साउन, काठमाडौँ । नौ डाँडा काटेर पारि
छोडी आयाँ लमजुङको घरबारी
लमजुङ तुर्लुङकोट
सररर…..हावा चल्यो लाँकुरीको बोट ।
असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिनुहुन्न । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फुल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई नेपाली लोकगायन क्षेत्रको उचाइमा पु¥यायो ।
उहाँको गीत कुनै बेला नेपाली लोकदोहरी क्षेत्रमा चर्चाको शिखरमा थियो, जनजिब्रोमा झुण्डिएको थियो र देशविदेशका नेपाली स्रोताबीच चर्चा कमाएको थियो । उहाँ मेलापर्व, विभिन्न उत्सव र सांगीतिक कार्यक्रममा निकै व्यस्त देखिनुहुन्छ । उहाँले झण्डै दुई सय गीत आफैंँले रचना गर्नुभएको छ भने अरुका पाँच हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ ।
विसं २०२८ वैशाख ९ मा तत्कालीन सिन्दूरे गाविस– ५, लमजुङमा बुबा दलबहादुर र आमा शान्तामाया दुराको कोखबाट जन्मनुभएकी दुरा बाल्यकालदेखि नै गीतप्रति आकर्षित हुनुभयो । पहाडी मनोरम प्रकृति, जीवन्त संस्कृति, गाउँले जीवन, चाडपर्व र मानिसका दुःखसुख हेर्दै हुर्कंदै गर्दा पाखापखेरामा गुञ्जने भाका टिपेर गुनगुनाउन थाल्नुभयो । उहाँलाई अरुभन्दा लोकभाकाले लोभ्यायो ।
“लोकगीत भनेपछि हुरुक्कै हुन्थेँ, मैले आठ वर्षको उमेरमा मेलापाता, घाँसदाउरा र गोठालो जाँदादेखि नै गाउन शुरु गरेको हुँ,”, उहाँ भन्नुहुन्छ । दुराका गीतले धेरैको मन र मुटु छोएको छ । कर्णप्रिय स्वरका कारण उनको गीत धेरैको जिब्रोमा झुण्डिएको छ । गीतले धेरै प्रशंसक कमाएको छ –
माझी दाइ पोखरा फेवातालको
लाऊँ माया साँच्चैको,
नलाऊँ भो ख्याल ख्यालैको ।
बुबा भारतीय सेनामा जागीरे भए पनि दुराले पढ्न भने पाउनुभएन । हजुरबुबा क्याप्टेन बखानसिंह र भिनाजु भीमबहादुर दुराको सहयोगमा काठमाडौँ आउनुभएकी उहाँले स्वर राम्रो भएकै कारण हजारौंँ गीतमा गाउने अवसर पाउनुभएको थियो । “मलाई हजुरबुबा र भिनाजुले काठमाडौँ ल्याएर गीत गाउने अवसर प्रदान नगरेको भए म अहिले लमजुङ तुर्लुङकोटमा घाँसदाउरा गरेर बस्ने थियाँ,”, उहाँ सम्झनुहुन्छ । गाउँ र जिल्लास्तरमा धेरै गीत गाउनुभएकी दुराले विसं २०४६ मा पहिलोचोटि ‘छोरीको जुनी…’ बोलको गीत आफ्नै आवाजमा अभिलेख गर्नुभयो ।
झण्डै तीन दशकको गायन क्रियाशीलताले उहाँलाई केवल प्रशंसा मात्र होइन पुरस्कार तथा सम्मानसमेत दिलाएको छ । उहाँले रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरी पाँच सयभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।
दुराका गीत नेपालको डाँडापाखा र तराईका फाँटमा मात्र गुञ्जिएका छैनन्, हङकङ, सिङ्गापुर, दक्षिण कोरिया, बहराइन, मलेसिया, युनाइटेड अरब इमिरेट्स, कतार, बेलायत, भारत, श्रीलङ्कालगायत देशमा पनि पुगेका छन् । उहाँले त्यहाँ नेपाली स्रोताबीच आफ्नो गायनकला जीवन्त रुपले प्रस्तुत गर्नुभएको छ ।
ग्रामीण जीवन, परम्परागत संस्कृति, जीवनका भोगाइ, प्रेम, मिलन विछोड र नारी वेदनाका भाव उहाँको गीतमा पाइन्छ । गायन क्षेत्रमा तीन दशक समय व्यतीत गर्नुभएकी दुरा पछिल्लो समय नेपाली लोकगीतमा मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुहुन्छ । “मैले हाम्रै पाखापखेरामा गुञ्जने स्वर र भाका टिपेर नेपालीले भोगेका दुःखसुखका गीत गाएको छु, हाम्रै परिवेशमा चलेका लय, भाव र सिर्जनालाई पछ्याएर लोकगीतको मौलिकपनलाई जीवन्त राख्ने कोशिस गरेको छु,”, उहाँ भन्नुहुन्छ, “लोकसंस्कृति, कला, भाषा र परम्परालाई बचाउन सके मात्र मुलुकको विकास हुने उहाँको भनाइ छ ।”
लोकगीतका अतिरिक्त उहाँले ठाडोभाका, गुरुङ गीत, कौरा र भजनसमेत गाउनुभएको छ । उहाँ नयाँ पुस्तालाई नेपाली परम्परागत मौलिक लोकगीत संगीतको प्रवद्र्धन, संरक्षण र अनुसरण गर्न आग्रह गर्नुहुन्छ । उहाँ नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीतसंगीतको मर्मअनुसार प्रतिष्पर्धा गर्नसक्ने गरी लोकगीतको क्षेत्रमा लाग्न सुझाव पनि दिनुहुन्छ ।(रासस)