पाटन (ललितपुर)। संस्कृति शिरोमणि हरिराम जोशीले भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।
साझा प्रकाशनले सोमबार केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा आयोजना गरेको २१२औँ भानुभक्तजयन्ती विशेष कार्यक्रममा उनले नेपाली साहित्य आकाशमा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाले सबैभन्दा महत्वपूर्ण योगदान पुर्याउनुभएको बताए ।
संस्कृति शिरोमणि जोशीले भानुभक्तको कृति सधैँ अमर रहेको भन्दै भानुभक्तले साहित्यमार्फत सांस्कृतिक, राजनीतिक र नैतिक चरित्रका क्षेत्रमा ठूलो योगदान दिएकाे उल्लेख गरे ।
साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्राध्यापक डा रमेश भट्टराईले साझा प्रकाशनले हिजो कर्मचारीलाई तलब खुवाउन नसकेको अवस्थाबाट पुनर्जीवन प्राप्त गरिरहेको भन्दै नयाँ सञ्चालक समिति आएपछि सुधार हुँदै गतिशील यात्रामा पुगेको बताए ।
उनले भानुभक्त र संस्कृति र राजनीति, भूगोल समाजको प्रतिविम्बमा आधारित रहेर सिर्जित भानुभक्तको रामायणमार्फत तत्कालीन समाज र मौलिकतालाई उजागर गर्ने प्रयत्न गरिएको बताए । भानुभक्तले सृजनाका माध्यमबाट नैतिकतासँगै समाज र राजनीतिलाई जोड्ने काम गरेका उनले धारणा राखे ।
कवि एवं गीतकार दिनेशचन्द्र थपलियाले ‘असारको महिना’ शीर्षकमा कविता वाचन गर्दै सृजना भाषा साहित्यको गहनाका रूपमा रहेका उल्लेख गरे । कार्यक्रममा स्रस्टा विणा आचार्य, छन्दकवि प्रभा भट्टराई, धीरेन्द्र प्रेमर्शीलगायतले कणप्रिय, मर्मस्पर्शी साहित्यिक रचना वाचन गरेका थिए ।












