११ पुस २०८१, बिहीबार

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई


मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई

पाटन, ललितपुर । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।

गुठीद्वारा आज ललितपुरको रातो बङ्गला स्कुलमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गरे।

गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा डा यादवलाई सम्मान गरिएको हो। पुरस्कारको राशि जनही रु चार लाख रहेको छ।

गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा डा यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिए।

‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गरेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो। मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !