११ पुस २०८१, बिहीबार

तिर्खा


Story

मरुभुमिको बिचमा छु। तिर्खाले मेरो घाँटी सुकेको छ। मेरो मुख भर्खरै बालुवा चबाए झैँ सुख्खा भएको छ। केहीपर एउटा इनार देखिन्छ। म दौडिएर त्यो इनार छेउ पुग्छु। पानीको सतह हातले नपुग्ने गरि तल छ। म सकेसम्म लम्कन्छु तर पानी सम्म पुग्न असमर्थ हुन्छु। म संग इनार भित्र उत्रनुको कुनै बिकल्प छैन। थाहा छ यसो गर्नु जोखिमपुर्ण छ तर म त्यो जोखिम मोल्न तयार छु। कुनै निस्चित अवस्थामा साना कुराको महत्व अनि मूल्य पनि एक्कासि बढ्दो रहेछ। म यो अवस्थामा एका पटि पानी अनि अर्को पटि करोडौं सम्पती राख्ने भने पनि पानी नै रोज्नेछु।

म इनार भित्र उत्रन खोज्छु। तल रहेको सानो ढुँगाको कापमा खुट्टा अड्याउँछु अनि इनारको माथी पटि बेस्सरी पकड्छु। अफ्ठेरो गरेर अर्को खुट्टालाई केही तल सारेर अर्को ढुँगामा टेक्न खोज्छु। मेरो खुट्टा पर्ने बित्तिकै ढुँगा उक्किन्छ। म त्यो ढुँगा संगै इनार भित्र खस्छु……..।

झसँग हुन्छु। सपना रहेछ। मलाइ उत्तिकै तिर्खा लागेको छ। घाँटी उसैगरि सुकेको छ। सपनामा लागेको तिर्खा ब्युझँदा पनि लागे झैँ, सपनामा साथ भएकी ऊ ब्युझँदा पनि साथमै भैदिए…! मलाइ अहिले उसको भन्दा धेरै पानीको जरुरत छ। अचानक अहिले उसको महत्व एक गिलास पानीको भन्दा कम भएको छ, जो मेरा लागि संसारका सबै कुरा भन्दा महत्वपुर्ण हो जस्तो लाग्थ्यो।

ओछ्यानबाट उत्रन्छु अनि बत्ती बालेर टेबलको जगमा हेर्छु। जग रित्तै छ। रक्सी पिएपछी कहिले पानी भरेर राख्ने होस् कहिल्यै रहँदैन। हुनत होसमा रहनको लागि रक्सी पनि त पिउँदिन म। जारमा लगभग पिंधमा पुग्न लागेको पानी छ। मलाइ जारबाट जगमा खन्याउन लाग्ने समय सम्म पनि पर्खन मन छैन। म जार नै उठाएर मुख गाड्छु। मलाइ पानीको स्वाद अमृतको झैँ लाग्छ। हुनत मैले अमृत पिएको छैन तर यदि अमृत हुन्छ भने त्यसको स्वाद यस्तै हुँंदो हो। लगभग जार रित्याएपछी मेरो प्याष मेटियो।

म थ्याच्च पलङमा बसेँ। मेरो टाउको दुखेको छ। जिउ करकर खाएको छ। अघि भर्खरै सम्म मात्र तिर्खा लागेको थियो। मात्र पानी पिउन पाए सन्तुष्टि मिल्छ सोचेको थिएँ। तर अहिले फेरि यो टाउको दुख्नु उत्तिकै कस्टकर लाग्दैछ। हुनत मान्छेको जिन्दगी यस्तै त हो, कुनै पनि प्राप्तिले पुर्ण सन्तुष्टि कहिले नहुने।

टाउको झनै चर्कदैँछ। हिजो रक्सी बढी भएछ। यो रक्सी पनि मलाइ प्रेमिका जस्तै लाग्छ। संगै हुँदा नसामा भुलाउने अनि छोडेपछी टाउको दुखाउने! “धेरै रक्सी नपिउनुस् है? खराब चिजको नशा लाग्यो भने कहिले छुट्दैन।” उसले भन्थी कहिलेकाहिँ। ठिकै भन्थी! खराब कुराको नशा कहिले नछुट्दो रहेछ, रक्सिको हैन उसको! रक्सी त म जहिले पनि छोड्न सकिहाल्छु नि। साँच्चै! अब भोलि देखि रक्सी छोड्नु पर्यो! मलाई हाँसो लाग्यो, आफैँ देखि! रक्सी छोड्छु भन्न थालेको पनि बर्षौँ बितेछ। सायद मैले रक्सी भन्दा बढी त रक्सी छोड्ने कसम नै खाएँ होला। तरपनी अझै लाग्छ “रक्सी त म जहिले मन लाग्यो तहिले छोड्न सकिहाल्छु नि।”

रात बित्न अझै धेरै समय बाँकी छ तर मलाइ निन्द्रा लागेको छैन। ननिदाइ रात बिताउन एकदमै कष्टकर हुनेगर्छ। चुरोट पिउन पर्यो! टेबलको पर रहेको चुरोटदानी नजिकै तान्न खोज्छु। टेबलबाट चिप्लिन्छ अनि भुइँमा खस्छ। ‘खत्र्याङ’ आवाज आउँछ। यदि अहिले म घरमा हुन्थें भने आमाले पल्लो कोठाबाट कराउनु हुन्थ्यो “बाबू! केको आवाज हो हँ?” आमा रातभर राम्रो संग निदाउनु हुन्न। तर कहिले सुनाउनु हुन्न ‘ननिदाइ रात काट्न कति कष्टकर हुन्छ’ भनेर। सायद आमाले निन्द्रा नलाग्नु भन्दा ठुला धेरै कष्ट भोगेको भएर हुनसक्छ। आमालाइ सम्झेर भावुक भएछु। चुरोट पिउन मन लागेन। याद आयो आमाले भनेको “त्यो चुरोट सल्काउँदा मेरो लाशमा आगो लगाएको सम्झिनु।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !