८ पुस २०८१, सोमबार

भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गरे : मन्त्री किराँती


सुदन किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गरेको बताए ।

भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क भाषाका रुपमा नेपाली भाषाको विकास हुनुमा उनको अतुलनीय योगदान रहेको बताए ।

“भोलि भनेर टार्ने राणाकालीन प्रशासनिक र न्यायप्रणालीको ढिलासुस्तीमाथि त्यो जमानामा भानुभक्तले व्यङ्ग्य गरेका थिए । भानुभक्तले कवितामार्फत गर्नुभएको प्रहार चानचुने साहस थिएन”, उनले भने ।

आज पनि नेपालमा भोलिवाद भन्ने परम्परा कायम रहेको भन्दै उनले के हामी भोलिवादबाट मुक्त छौँ ? भनी प्रश्न गरे । मन्त्री किराँतीले भने, “मलाई लाग्छ, अहिले पनि हामी भोलिवादबाट मुक्त छैनौँ, भोलिवादलाई समाप्त गरेर देश र जनताप्रति समर्पित हुने संस्कृति हामीलाई चाहिएको छ ।”

भोलिवादलाई समाप्त गर्ने दायित्व हामी सबैको काँधमा आएको उल्लेख गर्दै मन्त्री किराँतीले भानुभक्तको औचित्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !