१२ बैशाख २०८१, बुधबार

‘दश महाविहारको संक्षिप्त इतिहास’ लोकार्पण


Dash Mahabir Samksipt Itihas

काठमाडौँ । शाक्य महाविहार सङ्घ, काठमाडौँद्वारा प्रकाशित ‘शाक्यवंश र दश महाविहारको संक्षिप्त इतिहास’ पुस्तकको आज यहाँ लोकार्पण गरियो ।

संघरत्न शाक्यको लेखन तथा सम्पादन रहेको उक्त पुस्तक चार खण्डमा विभक्त छ । यसमा शाक्य गणराज्यको स्थापना, शाक्य शब्दको उत्पत्ति तथा अर्थ, शाक्यहरुको विनास र त्यसका कारण, श्री कुमारी, श्री भैरब र श्री गणेशको प्रतिस्थापन, शाक्य महाविहार सङ्घसँग आबद्ध १० महाविहारको परिचय र महाविहार सङ्घका गतिविधिहरु समेटिएका छन् ।

लोकार्पण समारोहमा ११४३ न्हू दँ समारोह समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यले दश महाविहार सङ्घले मूल थकाली चयन गर्ने परम्परालाई पुनः शुरु गरेकामा खुशी व्यक्त गर्दै महाविहारहरुको इतिहासबारे खोजमूलक पुस्तक प्रकाशनको जमर्को नै सङ्घको राम्रो शुरुआत हो भने ।

Dash Mahabir Samksipt Itihas

यस वर्ष पनि विगतमा झै तिहार मनाउने तिथिमितिमाथि उत्पन्न विवादबारे उनले भने – “शुभमुहूर्त मै गर्नुपर्ने खास खास धार्मिक विधि साइतमै सम्पन्न गर्नुपर्ने तर, चाडबाड भने सूर्योदयलाई आधार मानेर दिनभर नै मनाउन बाधा नपर्ने भएकाले साइत भनिरहनु पर्दैन ।”

पूर्व मन्त्री डा. केशव मान शाक्यले शाक्यहरुको वंश जम्बुद्वीपका प्रथम शासक महासम्मतदेखि प्रारम्भ भएको इतिहास रहेको बताउँदै भारतभर यसै तथ्यलाई मान्ने शाक्यहरुको सङ्ख्या मात्रै २३/२४ करोड भएको दावी गरे ।

कार्यक्रममा दश महाविहार सङ्घमा आबद्ध मञ्जुश्रीनक महाविहार (बिकमाः बहाः) का जेष्ठ सदस्य मोतिरत्न शाक्यलाई दशै महाविहारका मूल थकाली घोषणा गर्दै ‘महास्थविर’ पदवी प्रदान गरिएको थियो । पुस्तकमाथिको समीक्षा भने तीर्थरत्न शाक्यले गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !