७ बैशाख २०८१, शुक्रबार

‘चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ’


भानुभक्त आचार्य

काठमाडौँ । काठमाडौँको सरस्वतीनगरमा सञ्चालित एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

हरेक वर्ष सप्ताहव्यापी रुपमा भानुजयन्ती मनाउँदै आएको सो स्कुलले बुधबार भानु प्रतिष्ठानसँगको सहकार्यमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम गरेको छ ।

एपेक्स स्कुल र भानु प्रतिष्ठानको श्रष्टासम्मान कार्यक्रमबाट यस वर्ष वरिष्ठ कवी प्रा. डा. कृष्णहरि बराललाई नगद पुरस्कारसहित खादा, माला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा पूर्वमन्त्री एवं वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैँयाले नेपाली भाषा साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको महत्व चीरकालसम्म रहिरहने बताए । उनले नेपालमा भन्दा पनि नेपाल बाहिर बस्ने धेरै नेपालीले भानुभक्तलाई सम्झने गर्ने गरेको स्मरण गरे ।

सम्मानित व्यक्ति प्रा. डा. बरालले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र भाषा साहित्यको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा दिएको बताए । विद्यालयका कार्यकारी निर्देशक एवं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) का सहअध्यक्ष सुवास न्यौपानेले भानुभक्तको जन्मथलो तनहुँको चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले राष्ट्रका योजकमाथि प्रश्न उठिरहेको आजको समयमा भाषाका माध्यमबाट देशको एकीकरण गर्ने भानुभक्तको महत्व अझै चुलिएको बताए । उक्त विद्यालयले यसअघि भानु जयन्तीको अवसरमा रमेश विकल, पूर्णप्रकाश नेपाल यात्री, वसन्तकुमार सम्मा, डा. तुलसी भट्टराई, महेश पौडेललगायतका श्रष्टालाई सम्मान गरिसकेको प्रधानाध्यापक प्रभात क्षेत्रीले जानकारी दिए ।

विद्यालयकी निर्देशक विन्दु अधिकारीका अनुसार २०५० सालमा स्थापना भएको एपेक्स लाइफ स्कुलमा हाल ४५० विद्यार्थी अध्ययनरत छन् । सोही कार्यक्रममा वरिष्ठ कवीहरु भाग्यशाली अधिकारी, महेश पौडेल, रामबहादुर पहाडी, देवी बराल, शिवराज खनाल, मधुस न्यौपाने, देवु लुइँटेल, प्रभा भट्टराई, मधुसुदन लामिछाने, बलराम दाहाल, ढुण्डीराज पोखरेललगायतले कविता वाचन गरेका थिए ।

वतृत्वकला प्रतियोगितामा चापागाईं प्रथम

एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको ‘देश निर्माणमा युवाको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा पाठशाला स्कुल बानेश्वरकी छात्रा शिक्षा चापागाईँ प्रथम भएका छन् ।

यस्तै प्रतियोगितामा भ्याली भ्यू स्कुलका छात्र पार्थ पराजुली दोस्रो, पाणिनी स्कुलकी छात्रा सिम्रन प्रसाईं तेस्रो र काठमाडौँ प्रज्ञान कुञ्ज स्कुलकी छात्रा रियाना बोगटीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयकी शिक्षिका चण्डिका भेटवालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !