एकाबिहानै आकस्मात ठुलै स्वर गुन्जियो बजारमा कुनै बाघले कुकुरलाई झम्टिए जस्तै लाग्यो । मान्छेहरु आपसमा कुरो गर्दै दौड्दै थिए । कोहि भन्दै थिए जे भयो राम्रै भयो जस्तालाई त्यस्तै भयो, कोहि भन्दै थिए यहाँ कुकुरमाथि अन्याय भयो ।
पिउँदै गरेको चियाको गिलाँस थपक्क भुँईमा राखेर कुदें म पनि त्यही भिड तिर । म दौडिएको देखेर मेरि श्रीमती, छोराछोरी र छरछिमेकीहरु पनि दौडिन थाले ।
निकै कौतुहलता जाग्यो बोल्न कोहि तयार थिएनन सबैले आ-आफ्नै तर्क पस्किदै थिए । निकै पर एकहुल मान्छेहरु झण्डा ब्यानर लिएर मुर्दावाद/मुर्दावादको नारा जूलूस सहित निस्कियो बिरोधमा ।
यत्ती छिटो मरेको लाशलाई मलामी पनि जुट्दैन थियो हाम्रो गाउँमा । अस्ति जस्तै लाग्छ बिमला बैनी रुखबाट खसेर बेहोस भएकी धन्न हात मात्रै भाँचिएको थियो । अस्पताल लैजाने बिषयमा ३ घण्टा पछि मात्र बल्ल सहमति जुटेको थियो।
उताको बिरोध प्रदर्शनमा पुलिसले रोक्न खोज्दाभिड झन उग्र बनेछ पुलिसिया हस्तक्षेप भयो भन्दै हेर्दाहेर्दै सडकमा टायर बल्न शुरु भैसकेको थियो । गाडिका सीसाहरु फुट्न थालिसकेका थिए ।
के हुँदैछ यहाँ मेरो मथिंगलमा केही घुसेकै थिएन। यतापटिबाट पनि निस्किएको अर्को जूलूसले मुर्दावाद भन्दा पो झसंग भए । उताको बिरोध जूलूसको बिरोधमा यता अर्को जूलूस शुरु भैसकेको थियो ।
हेर्दाहेर्दै मुठभेड शुरु भयो कोलाहल र होहल्ला बिच कतिका टाउका फुटे कतिका हात खुट्टा भाँचिए । राजनीतिक रंग दिईयो कर्फ्यु लाग्यो बजार अस्तब्यस्त बन्यो भौतिक संरचनाहरु ध्वस्त बने ।
जहाँबाट घटनाको शुरूवात भएको थियो त्यहाँ शान्त भने थियो बाहिर उग्र थियो । प्रसाशनको कर्फ्यु र आन्दोलनकारिको ढुंगा छल्दै म त्यहाँ पुगे सत्यतथ्य बाहिर ल्याएँ ।
कुरो यस्तो रहेछ –
बिर्खे दाईलाई हिजो राती छिमेकी हर्केले ए पाउ मासु र एक माना रक्सी दिएको रहेछ बिर्खेले पहिला रक्सी तनतनी हुलेछ र मासु त्यहीँ भुलेर मस्त सुतेछ।
रक्सिको नशा सकिए पछि ब्युँझिएर हेर्दा मासु सबै कुकुरले खाईदिएछ । रक्सिको धङधङीले बिर्खे मुर्मुराउँदै गएर कुकुरको खुट्टो टोकिदिएछ । कुकुर तीन खुट्टो टेकेर कुँई कुँई गर्दै भाग्दा जम्मा भएको भिड रहेछ ।
को अन्यायमा पर्यो कस्ले न्याय पाउनु पर्ने थियो फैसला तपाईहरु नै गर्नु होला । अहिलेलाई भने यति नै सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा सिधैं कुकुरहरुको कानमा जाला ….।
रामचन्द्र तिम्सिना
(आवाज)