९ पुस २०८१, मंगलबार

‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लेखक चालिसेलाई विशेष सम्मान


डा. नवराज चालिसे

काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानले ‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लेखक डा. नवराज चालिसेलाई विशेष सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित बेशीगाउँमा आज आयोजित कार्यक्रमबीच शिक्षा सचिव गोपीनाथ मैनालीले विसं २०२१ मा मदन पुरस्कार प्राप्त गर्नुभएका वरिष्ठ अर्थशास्त्री डा. चालिसेलाई विशेष सम्मान गर्नुभएको हो ।

सोही अवसरमा सुरभि–बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारी र सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरियो । यी दुवै पुरस्कारको राशि रु २०–२० हजार रहेको छ । त्यस्तै रु १० हजार राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र रु सात हजार राशिको सुरभि–प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरियो ।

५ हजार राशिको सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार भने वर्षा खड्कालाई प्रदान गरियो । कार्यक्रममा बाजुराम पौडेलेको निबन्ध सङ्ग्रह छोडिएका पाइलाहरू, समिना खनाल ‘पृथा’ को कथा सङ्ग्रह छोरीको डायरीबाट, माधव भण्डारीको इतिवृत्त र सिर्जना तथा पवित्रा अधिकारीको कथा सङ्ग्रह देह उत्सवको विमोचन पनि गरिएको थियो ।

शिक्षा सचिव मैनाली, प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकारहरू शैलेन्द्रुप्रकाश नेपाल, विजय चालिसे, युवराज मैनाली, गोविन्दप्रसाद घिमिरे लगायतले स्रष्टालाई सम्मान गर्ने परम्पराले निरन्तरता दिइनुपर्ने धारणा राख्नुभएको थियो । प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिवार जोरपाटीस्थित बेशीगाउँमा विविध साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !