१३ बैशाख २०८१, बिहिबार

कविता – प्रेम


प्रेम
गोपाल प्रसाद भण्डारी
गोपाल प्रसाद भण्डारी

प्रेम हो प्रणवको अवतार
प्रेम हुन्छ अनमोल अपार ।
प्रेममा छ सबको अधिकार
प्रेम पार्छ सुकिलो अनुहार ।।१।।

प्रेम गर्दछ सधैं उपकार
प्रेमहो अमलको उपहार ।
प्रेम दिन्छ गुनिलो उपचार
प्रेम हुन्छ रसिलो र उदार ।।२।।

प्रेमले सुखद पार्छ विचार
प्रेम पूर्वक गरौं व्यवहार ।
प्रेम हो भुवनको सब सार
प्रेम हो अमृत दीपित हार ।।३।।

प्रेम हो सुखद सौम्य अनन्य
प्रेमले हृदय पार्दछ धन्य ।
प्रेम हो चहकिलो अति मान्य
प्रेमले लिन सकौं धनधान्य ।।४।।

प्रेम कृष्णतिर दिव्य लगाऔं
प्रेमदीप मनभित्र जगाऔं
प्रेमले मयल पाप भगाऔं
प्रेमले विमल काव्य बनाऔं ।।५।।

प्रेम छन्द कवितातिर
लाऔं प्रेमपूजन गरेर रमाऔं ।
प्रेममन्त्रजपबाट उदाऔं
प्रेमले सफल कीर्ति कमाऔं ।।६।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !