कविता - बंगुरलाई सुन्दरताको घमण्ड Nepalpatra
१४ मंसिर २०७७, आइतबार

कविता – बंगुरलाई सुन्दरताको घमण्ड


बंगुर

व्यापारीले प्रसंशा गरेको सुनेर मख्ख पर्छ ऊ जसरी कुनै गुलामको तारिफ गर्छ मालिकले ।

सडेका/फ्याँकिएका खाएर मस्त सुतेको ऊ देखाउन चाहन्छ कति मोटो छु म ।
जसरी फ्याँकिएको हड्डी चुसेर नेताले आफुलाई महान सोच्छन् ।

लिलाममा झुन्डिएका आला मासुहरु
ऊ भन्दा ऊ राम्री राता/पंहेला रंगहरु पोतेर बिक्नका लागि तम्तयार छन् !!

दुर्गन्धित शरीरमा कृम/पाउडर पोतेर आफैलाई सुन्दर देखाउन चाहन्छ ऊ ।
जसरी राष्ट्रवादको जलप लेपेर आफुलाई अब्बल सोच्छन नेताहरु ।

छाला, हड्डी, टाउको, खुर, आन्द्रा, भुँडी ,फोक्सो, कलेजो र मुटु अलग अलग भाऊमा बिक्छन र घमण्ड गर्छ,
यस्तो मुल्यवान जनावर हुँ म जसको उचित मुल्य हुन्छ,
नेताले आफ्ना बोली, भाषण, कर्तव्य, निष्ठा र ईमानदारिता बेचेर गर्व गरे जस्तै ।

थुनिएको खोरमा आफ्नो साम्राज्य सोचेका बंगुरहरु टाईसुट लगाएर बन्धनमा बाँधिएका नेताहरु भन्दा खासै फरक देखिदैनन् ।
आफुलाई सामर्थ्यवान देखाउने हुनर नजागेको होईन उनीहरुमा त्यसैले त आफ्ना वरिपरि पर्नेहरुलाई गर्जिन्छन पनि ।

किलोमा तुलो चढ्नु अगाडि होस वा तातो तेलको दिउरे र ताप्केमा चड्नु अघि पनि घमण्ड रहन्छ ऊ भित्र
सोच्छ मनमनै म थोरै भएर पनि कति वजनदार छु जसरी नेताले जनतालाई कौडी र आफुलाई मुल्यवान सोच्छन् ।

टुक्राटुक्रामा बिभाजन भएर प्लेटमा सजिदा पनि घमण्ड रहन्छ ऊ भित्र मानौं कि त्यो चौटा भन्दा यो चौटा स्वादिलो र मीठो ।

अझ भनौं त,

बिदेशिको गुलामी नेता र बंगुरमा खासै फरक रहदैन,
सान सौकत, यस आराम, मोलमोलाई साश रहुन्जेलको घमण्ड मात्र ।
तातो झिरले छातिमा नछेडुन्जेलको दम्भ मात्र ।

रामचन्द्र तिम्सिना
(आवाज)



प्रतिक्रिया दिनुहोस !