२४ बैशाख २०८१, सोमबार

कविता – कोदे जिन्दगी


रामचन्द्र तिम्सिना

भैंसीको थलामा जन्मियो,
कोदो खाएर हुर्कियो,
ढिंडो कोचेर पनि कोदोबारीमा,
कोदो कै धोकेर पनि कोदोवारीमा !
त्यसैले मेरो जिन्दगी
कोदे जिन्दगी !!

जन्म मितिको ठेगान छैन,
बाउ भन्छन September 19 आमा भन्छिन असोज ३ मत बाझियो !
नत अहिलेसम्म केक काटेर Birthday सेलिब्रेट गरियो नत शुभकामना आदानप्रदान नै गरियो !

कोदो कै खाइयो
कोदो मै रमाईयो, कोदो मै सुतियो कोदो नै मेरो सबथोक !
त्यसैले मेरो जिन्दगी कोदे जिन्दगी !

कोदो कै रोटि,
कोदो कै तोर्मे,
कोदो कै भात खाईयो,
देउ पित्र सबैलाई कोदो कै झोल चढाईयो,
त्यसैले मेरो जिन्दगी कोदे जिन्दगी !

तुलसी आँगनमा पुजियो,
धन्सारमा नल ओछ्याएर सुतियो,
Christmas Tree जानिएन !
केक काटेर anniversary मनाईएन !

दाँत कोट्याउँदा कोदोका खोस्ठा अझै भेटिन्छ र ठुस्स गनाउँछ !
त्यसैले मेरो जिन्दगी कोदे जिन्दगी !

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !