आफ्नै देश नभएर के भयो र,
बाँधिएका छैनन्
हात्ती र गैंडाका बथानहरु !!
खुशी छन् बादलका लस्करहरु
स्वतन्त्र छन् चराका हुलहरु !!
महत्व नभएर के भयो र …
हाँसेका छन् मन्दिरमा नपुजिने फूलहरु पनि !
खान नमिल्ने फलहरु पनि !!
एउटै रुखले सत्य थाम्ने भए
किन उम्रनु हजारौं वृक्षहरु ?
एउटै भोकले जीवन थेग्ने भए
किन गर्नु दैनिक मिहिनेतहरु ?
एउटै साँझले जुनी बित्ने भए
किन उदाउनु लाखौं दिनहरु ?
साथी,
सुकेको हाँगा टेकेर
कसरी माथि चढिन्छ र ?
जमिनमा टाउको जाेतेर
कसरी आकाश देखिन्छ र ?
सम्झिनुहोस्,
अन्त्य हुँदैछ छेपाराको शताब्दी
जो अँध्यारोमा
घर बनाउने सपना देख्छ,
उज्यालोमा बिर्सन्छ !!
झरिरहेछ हाँगाबाट
म्याद सकिएपछि पतिंगर
रुखलाइ थाहा छ,
शीतलता बाँड्न
नयाँ पातहरु चाहिन्छ !
मनमा घाम राख्नुपर्छ
संसार आफै उज्यालो देखिन्छ !
जब भुँइको धुलौटो माटो बन्न सक्छ भने !
झुसिल्किरो पुतली बनेर उड्न सक्छ भने !
सायद साबित हुनेछ
ढुङ्गा सिर्फ ढुङ्गामा मात्र सिमित रहने छैन
भगवान पनि बन्नेछ !
चाल्नुहोस् कदमहरु
सिक्नुहोस् आयामहरु !
जस्तै हेर्नुहोस्
कमिलाको एकता
कसरी उचाल्दैछ झुसिल्किरा ?
हेर्नुहोस मौरिको मिहेनत,
कणकण जम्मा गरेर
कसरी बनाउँदैछ मह !
हेर्नुहोस् गौथलीको मेहनत
कसरी बनाउँदैछ घर ?
हेर्नुहोस् चराहरुको निरंन्तरता
कसरी सिन्का सिन्का जोडेर
मजबुत पार्दैछ गुँड ?
साथी ,
आफ्नै नङ्ग्रा जोतेर
घरबारीका बाँझो फोर्नुहोस !
फुटाएर आफ्नै पसिनाले
पाखा पखेरो करेसाहरु
अलिकति उमार्नुस
रायोका बेर्ना,
अलिकती उमार्नुस
खुर्सानीका ढेंडिहरु !!
बनाउनु पर्दैन ,
आफैँ बन्छ देश !!
रामचन्द्र तिम्सिना
(आवाज)