१२ श्रावण २०८१, शनिबार

कविता – खोई परिवर्तन ?


लोकतन्त्र
रामचन्द्र तिम्सिना
रामचन्द्र तिम्सिना

राणा फाले, पञ्चायत ढाले,
खोई त परिवर्तन ?
राजा लखेटेकै हो, ब्यबस्था फेरेकै हो,
खोई त परिवर्तन ?
प्रजातन्त्र, बहुदल, गणतन्त्र, लोकतन्त्र आएकै हो,
खोई त परिवर्तन ?
बिपि, गिरिजा, मनमोहन, प्रचण्ड प्रधानमन्त्री भाकै हो,
खोई त परिवर्तन ?

बिधिमा समस्या रह्यो कि नीतिमा ?
आचरणमा समस्या रह्यो कि आदतमा ?
निश्चित समयानुकूल ब्यबस्था फेरिएकै हो,
सिंगारिएको राजनेता जन्मिएकै हो,
उथलपुथल गराउने आन्दोलन भएकै हो,
मुटु कमाउने क्रान्ति भएकै हो,
खोई त परिवर्तन ?
जातिय विभेद कायमै छ,
बर्गिय बिभेद कायमै छ,
सामन्ती सोच र निरंकुश शैली कायमै छ,
खोई त परिवर्तन ?

शेरबहादुर फालिनु र माकुने उभिनु नै होत परिवर्तन ?
ओलि फालिनु र प्रचण्ड उभिनु नै होत परिवर्तन ?
नत नारी उत्पिडन रोकियो,
नत हत्या-हिंसा नै,
खोई त परिवर्तन ?

आफुलाई स्थापित गराउन ब्यबस्था र ब्यक्तिलाई दोष दिएको त होईन ?
कम्युनिस्ट मास्न कांग्रेसले र कांग्रेस मास्न कम्युनिस्टले गलत प्रचार गरेको त होईन ?
सोचौं एकपटक ,
अझै गम्भीर भएर सोचौं,
नत्र,
खोई त परिवर्तन ?

खाडी भासिने समस्या फेरिएको छैन,
साडी च्यातिदा मुग्लान भासिनेको अवस्था फेरिएको छैन,
धनिले गरिबलाई र गैरदलितले दलित माथी हेरिने, सोच फेरिएको छैन,
हत्यारालाई उन्मुक्ति र भ्रष्टाचारिलाई मुक्ती दिने परम्परा फेरिएको छैन ,
कुर्सी फेरिनु नै होत परिवर्तन ?
अनुहार फेरिनु नै होत परिवर्तन ?
नत्र भने सोचे जस्तो अझै भाको छैन,
खोई त परिवर्तन ?

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !