१४ आश्विन २०८१, सोमबार

फटाईं गरे अव पनि लागे हुन्छ पाखा


tribendra-timsina त्रिवेन्द्र तिम्सिना

गठवन्धनको नारा लिई आयौ गाउँघरतिर
हात जोड्दै भोट माग्यौ निहुर्याएर शिर
बिजयको माला लगाई छौ है कसम खाका
फटाईं गरे अव पनि लागे हुन्छ पाखा ।

फेरि पनि हुन सक्छ त्यै कुर्सीको खेल
सोझा साझा जनतामाथि वन्न सक्छ झेल
अस्थिरता नै बनाउन छन् है सलवलाका
फटाईं गरे अब पनि लागे हुन्छ पाखा ।

ख्याल राख्नु समयको वित्छ धेरै छिटो
त्यै बिचमा चलखेल हुन्छ बोकि पैसा विटो
दोहोरिने हुन् कि फेरि पुरानै ती भाका
फटाईं गरे अब पनि लागे हुन्छ पाखा ।

अब पनि भयो भने विश्वास माथी धोका
बन्द हुन्छन् जनतासँग आउने सबै ढोका
याद रहोस् जनताले छैनन् दुई छाक खाका
फटाईं गरे अब पनि लागे हुन्छ पाखा ।

सहने नि सीमा हुन्छ भयो अत्याचार
तिमीले नै दिनुपर्छ यो मुलुकलाई पार
आफू-आफू लडी फेरि खोज्ने हौ कि काख
फटाई गरे जनताले नै लगाउनेछन् पाखा ।

त्यागी बन समृद्धिलाई अब जुट्नुपर्छ
देशका लागि बाँच्न अनि मर्न सक्नुपर्छ
हस्तक्षेप हुन्छ भने बन्द गर नाका
नत्र भने देशै छोडी लागे हुन्छ पाखा ।।

*भौतिकशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका त्रिवेन्द्र तिम्सिना नेपालपत्रका लेखक हुन् । उनका लेखहरु साहित्यिक, बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !