९ पुस २०८१, मंगलबार

कथा – अमेरिका यात्रा


सरोज मरासिनी
सरोज मरासिनी

कलेजको गेटमा छिर्नै लाग्दा पाले दाईले सोधे-“भर्ना गर्नको लागि आको हो भाइ?” “हो….तर होइन अरु नै काम छ” भन्दै भित्र गएँ । शायद कलिलो देखेर सोधेको हुनुपर्छ ।

इन्टरभ्युको शुरुमै मलाई सोधियो-“तपाई जस्तो मान्छे त अमेरिका जानुपर्ने अथवा निजामति सेवामा लाग्नुपर्ने किन कलेज पढाउने मन गर्नुभयो?” मैले भने-” मलाई पढाउन मनपर्छ । मेरो आत्माले नै मलाई पढाउने काम गर भन्छ । म यो क्षेत्रमा लागि शिक्षा क्षेत्रका विकृतिहरु समेत हटाउन लागि पर्नेछु ।”

अरु पनि धेरै भन्न मन थियो । “तिमीहरु नै युवाहरुले किन पढाउनुपर्यो भन्छौ, अनि कसरी सुध्रिन्छ शिक्षास्तर?”- मनमनै भन्दिएँ । अन्य धेरै प्रश्नहरु गरियो । हामी तपाईलाई फोन गर्छौ भन्ने आस्वासनसँगै म छुट्टिएँ । कहिले कलेजले बोलाउँछ र डेमो क्लास दिउँला भनि कुरिरहेँ । हप्ता दिन बित्यो ।  अह कलेजबाट फोन आएन । मलाई कलेजले रुचाएन भन्ने ठानेँ ।

तीन वर्ष स्कुलमा र एक बर्षदेखि कलेजमा पढाउँदै आएको थिएँ । इन्टरभ्यु पनि राम्रै भएको थियो । बायोडाटा राम्रै थियो । यति हुदाहुँदै पनि किन बोलाएन कलेजले ? शायद अलि बढि नै ठुला कुरा गरेछु कि जस्तो लाग्यो । यसै त हेर्दाखेरि कलिलो मान्छे कन्फिडेन्ट साथ कुरा नगर्ने हो भने त झनै पत्याउँदैनन् । नबोलाओस न त त्यो कलेजले के भो र ! पढाउनुपर्ने भएको भए पनि दश मिनट हिड्नुपर्थ्यो ठिकै भयो भनि मन बुझाएँ ।

यस्तैमा एक दिन लेन्ड लाइनबाट फोन आयो । अरु कुनै टिचर पाएनछ मलाई सम्झ्यो भनि फोन उठाएँ। अर्कै कलेजबाट परेछ । उताबाट केटि बोल्दै थिइ-“फलानो कलेजमा फलानो मितिमा तपाइको डेमो क्लास छ । कुपया समयमै आइदिनुहोला।”

पहिलाको भन्दा चलेको कलेज थियो । भवनहरु आकर्षक थिए । बिद्यार्थीहरु पनि धेरै थिए। कुनै दिन बायोडाटा मेल गरेको हुनुपर्छ आज सम्झियो । मलाई कताकता यो कलेज आत्मिय लाग्न थाल्यो । अरु सबै राम्रो लाग्यो तर दश मिनट बढि हिड्नुपर्ने । केहिबेर हिड्नु स्वास्थ्यको लागि राम्रो हुन्छ भनि डेमो क्लासको तयारिमा लागेँ ।

ठिक साढे एघार बजे म कलेजको गेटमा पुगिसकेको थिएँ । रिसेप्सनिस्टले कोअर्डिनेटरलाई भेट गराएपछि सबा बार्ह बजेको क्लास तय भयो । कोअर्डिनेटर पनि क्लासमा बस्ने दाउ गर्दै थियो । मैले भने- “सर तपाई मेरो क्लासमा नबस्दिनुस । म नर्भस हुन्छु । मैले कस्तो पढाएँ विध्यार्थिसँगै बुझ्नुस । दश प्रतिशत भन्दा बढि बिद्यार्थीहरुले रुचाएनन भने म पढाउदिन ।” उ बाहिरै बसि चियो-चर्चो गर्न लाग्यो । पढाइ कम र सान्दर्भिक गफ धेरै गरि क्लास सकियो । पढाउनु छ भने केटाकेटिलाइ पट्याउन सक्नुपर्छ न कि स्टाफहरुलाई । भनिन्छ नि केटी पट्याउन छ भने शुरुमा केटीको आमालाई पट्याउन सक्नुपर्छ ।

आधा घन्टापछि कोअर्डिनेटरले प्रिन्सिपल समक्ष लगेर गयो । कति सेलरी आस गर्नु भएको छ भनि सोधियो । मैले भने-“हुनत तुलना गर्दा तपाई हामी उपसचिव लेवलकै हौ । कम्तिमा पनि अफिसर लेवलको सुविधा होस भन्ने चाहन्छु ।” केहिबेर कुरा भयो । हामी फोन गर्छौँ भन्ने आस्वासनसँगै छुट्टिएँ । हामी फोन गर्छौँ भन्ने कुरा फोन नगर्नु हो भनेर मैले बुझिसकेको थिएँ । एकपटक फाइलमा पुगेर आउट भएजस्तै लाग्यो ।

एक मनले भन्यो-पैसा अलि कम भन्नुपर्ने। अर्को मनले भन्यो-ठिक छ, थोरै पैसामा त अहिले पनि गरेकै छस त । पढाउने धेरैजसो व्यक्तिहरु नै पढाउने काम भन्दा अरु नै काम गर्न सुझाव दिन्थे । उनीहरु पढाउने काममा सन्तुष्ट थिएनन या त प्रतिस्पधीको रुपमा अरु नआउन् भन्ने चाहन्थे । तर जे भएपनि शिक्षकहरुले कम पारिश्रमिक र सुविधामा पढाएको कुरा सत्य थियो ।

धेरै शिक्षकहरु चाहनाले होइन परिस्थितिले शिक्षक बनेका छन् । अरु काम नहुन्जेल पढाउने धेरै छन् । प्यासनको रुपमा पढाउने कम छन् । त्यसैले धेरै स्कुल कलेजले पनि छोटो समय पढाउने र कम पारिश्रमिक लिने शिक्षक नै चाहन्छन् ।

यस्तैमा एकदिन एकजना साथीले फोन गर्यो र एउटा कलेज खोज्दिन आग्रह गर्यो । आफ्नो पिडा आफैसँग थियो तैपनि हुन्छ म प्रयास गर्छु भन्दिएँ । उसको समस्या के रहेछ भने व्यवस्थापक परिवर्तन हुदाँ धेरैलाई निकालिएको रहेछ । निजी संस्थामा काम गर्नुको सबभन्दा ठुलो समस्या नै स्थायीत्व नहुनु रहेछ जस्तो लाग्यो ।

साथीहरुसँग बुढानिलकण्ठबाट शिवपुरिको जङ्गल हुदै सुन्दरीजलसम्मको हाइकिङ पछि मेरो मन परिवर्तन भयो । जिआरइ र टोफल गरि अमेरिका जाने निर्णय गरे । अबको लागि पढाउने काम साइड जबको रुपमा सिमित भयो । अमेरिका जाने ढुक्क नहुँदा सम्म पढाउने निर्णय गरे ।

प्रयास गरे नहुने के रहेछ र । एक वर्षको मिहेनतपछि टेक्ससको नाम चलेकै युनिभर्सिटिमा मास्टर्स गर्न स्कलरसिप मिल्यो । भन्दाखेरी स्कलरसिप तर त्यसले केहि पनि पुग्दैनथ्यो। फिजिक्समा मास्टर्स गरिसकेको मान्छे अरुलाई देखाउन कै लागि भएपनि अमेरिका जानुपर्ने स्थिति थियो मास्टर्स गर्नकै लागि । गाउँतिर पिएचडिको ढ्याङ्ग्रो ठोकिएछ ।

ऋणधन गरेर पैसाको जोहो गरियो । अमेरिका जाने भनेपछि मन पनि दङ्ग थियो । पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुदै अमेरिका पुगियो । शुरुमा यहाको समाज बुझनै समय लाग्यो । घरपरिवारको यादले सतायो, नेपालको मायाले सतायो ।

मैले नेपालमा बसेर सोचे जस्तो रहेनछ अमेरिका । साथीहरुले फेसबुकमा फोटा राखेजस्तो आनन्दित रहेनछ अमेरिका । जागिर गर्दै पढ्ने भन्ने पनि नमिल्ने रहेछ । पढाइले जागिर गर्न नपाइने । पाए पनि भनेजस्तो नपाइने । अर्को कुरा आफ्नै महत्वाकाङ्क्षाले आफैलाइ थिच्दो रहेछ ।

केहिलाई छोडेर धेरैजसो पिएचडी गर्नेहरुको पनि सन्तोष थिएन यहाँ । नेपालमा फर्केर रिसर्च गर्न चाहन्थे । तर नेपालमा त्यस्तो कुनै व्यवस्था थिएन । नेपाल आएर अरु काम गर्न अथवा पढाउन इज्जतले दिदैन भन्ने सोच हुन्थ्यो । सरकारले बिज्ञानको क्षेत्रमा खासै केहि गर्न सकेको छैन । अब मसँग दुइटा विकल्प छ । पिएचडी गर्ने अथवा जागिर गर्दै यतै सेटल हुने । सोच्दैछु के गर्दा ठिक हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !