११ आश्विन २०८१, शुक्रबार

तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान


तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान

भक्तपुर, १० वैशाख । चाँगुनारायण नगरपालिका-९ ताथलीका सानुभाई गिरीले बारीमा लगाएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थालेका छन् । बारीमा बिक्री गर्ने बेला भएका काउली र बन्दा बजारमा लैजाने अवस्था नभएपछि घरमा पालेका तीनवटा गाईलाई खुवाउन थालेका हुन् । गिरीले मात्रै होइन, यो ठाउँका धेरै किसानले तरकारी बिक्री गर्न नपाएपछि अचेल दैनिक गाईलाई खुवाउन थालेका छन् ।

अधिकांशको घरमा एकदेखि तीनवटासम्म गाई रहेको र सामान्य रुपमा भएपनि धेरैले तरकारी खेती गरेकाले गाउँमा समेत बिक्री नहुँदा उनीहरु गाईलाई तरकारी खुवाउन बाध्य भएका हुन् । गिरीले भन्नुभयो, “गतवर्ष रु एक लाख मूल्य बराबरको तरकारी बिक्री गरियो, यो वर्ष बिक्री गर्ने बेलामा आएको कोरोनाले लकडाउन हुँदा तरकारी बिक्री गर्न पाइएन, त्यसैले तरकारी गाईलाई खुवाउन थालेका छौ ।”

गाउँमा अधिकांशको घरमा आफ्नै तरकारी भएकाले गाउँमा बिक्री नहुने बताउदै उहाँले लकडाउनका कारण सवारी साधन नहुँदा र बजार पनि नखुलेकाले तरकारी बजार लान नपाएको बताउनुभयो । तरकारी मात्रै हैन, घरमा पालेको गाईको दूध समेत बिक्री गर्न नपाएको उहाँको गुनासो छ । दैनिक ११ लिटर दूध बिक्री गर्दै आउनु भएको उहाँले गाईलाई दाना नहुँदा दूध घटेको र लकडाउन पछि ठेकेदारले दूध नलिदाँ बिक्री नभएको बताउनुभयो ।

गिरी मात्रै होइन, यहाँका अधिकांश किसान तरकारी र दूध बिक्री गर्न नपाउँदा दोहोरो मारमा परेको गुनासो गर्छन् । स्थानीय श्याम खत्रीले दूध र तरकारी बिक्री नहुँदा साना किसान दोहोरो मारमा परेको बताउनुभयो । भक्तपुरका साना किसान यतिखेर दोहोरो मारमा परेका छन् । जिल्लाका ताथली, सुडाल, वागेश्वरी, नगरकोट, छालिङ्ग, चाँगु, सिपाडोल लगायतका किसान तरकारी र दूध बिक्री गर्न नपाउँदा समस्यामा परेको बताउँछन् । सरकारले राहत कार्यक्रम ल्याएर पनि गाउँका साना किसानसम्म नुपुग्ने हो कि भन्ने आशङ्का व्यक्त गर्छन् यहाँका किसान ।

सूर्यविनायक नगरपालिका-८ सिपाडोलका कान्छा श्रेष्ठले खेतमा तरकारी र घरमा दूध भएपनि बिक्री नहुँदा एक लाख रुपैयाँ भन्दा बढी नोक्सान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले राहत दिन्छ रे भन्ने सुनेको छु, राहत आयो भने पनि हामी जस्ता साना किसानसम्म आइपुग्दैन जस्तो लाग्छ, पहुँच हुनेकोमा राहत पुग्ला, हामी किसानलाई नोक्सानको नोक्सान नै त हो नि ।” वर्षौदेखि तरकारी खेतीमा निर्भर हुँदै आएका यहाँका किसानलाई कोरोना भाइरसका कारण यसवर्ष लाखौं रुपैयाँको नोक्सानी परेको छ ।

मध्यपुरथिमि नगरपालिका नगदेशका कृषक रामप्रसाद प्रजापतिले हरियो तरकारी बिक्री गर्न नपाउँदा समस्यामा छन् । हरेक वर्ष रायो साग, चौम्सुर पालुङ्गो, मेथी, धनियाँ, लसुन बिक्री गर्दै आउनु भएका उहाँले यो वर्ष कोरोनाका कारण तरकारी खेर गएको बताउनुभयो । उहाँसँगै नगदेशका सिङ्गो बस्तीका किसान यतिखेर तरकारी हेरेर मन कुटुक्क काट्न बाहेक केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । नगदेशमा उत्पादन भएका तरकारी कोटेश्वरदेखि कालीमाटीसम्म बिक्री हुने गर्दथ्यो तर कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण यो वर्ष तरकारी खेतमै खेर जान थालेको छ ।

लकडाउनका कारण खेतमा भएको तरकारी बिक्री गर्न लैजान नपाएको स्थानीयवासी सुमन श्रेष्ठले बताउनुभयो । लसुन छिप्पिन थालेको बताउदै उहाँले अरु हरिया तरकारी खेर जान थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । स्थानीय बजारमा पनि भारतबाट आयात भएका तरकारी भएकाले यहाँको तरकारी बिक्री नहुने किसानको भनाइ छ । बिक्री नहुँदा कतिपय किसानले स्थानीयवासीलाई सित्तैमा तरकारी बाडेको समेत बताएका छन् ।

भक्तपुर नगरपालिका व्यासीका किसान कान्छा प्रजापतिले बन्दा र काउली खेत मै खेर गएको बताउनुभयो । लकडाउनका कारण तरकारी बिक्री गर्न नपाउँदा खेत मै खेर गएको बताउदै उहाँले तरकारी बिक्री गरेर धान रोप्नका लागि खेत तयारी गर्नुपर्नेमा तरकारी बिक्री नहुँदा समस्या भएको दुखेसो पोख्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !