५ जेष्ठ २०८१, शनिबार

खडेरी पीडित किसानलाई मकैको बीउ


chiniya makai

खोटाङ, ३ वैशाख । गत वर्षको खडेरी पीडित किसानलाई हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाले मकैको बीउ वितरण शुरु गरेको छ । गत वर्ष भएको लामो समयको खडेरीका कारण मकै छर्न नपाएका र छरेका मकैको बिरुवासमेत खडेरीले मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई बाहिरी जिल्लाबाट खरिद गरेर ल्याइएको मकैको बीउ वितरण शुरु गरिएको हो ।

खडेरीका कारण मकैको बीउविहीन बनेका किसानलाई बाहिरी जिल्लाबाट खरिद गरेर ल्याइएको मकैको बीउ प्रतिघर चार केजीका दरले वितरण शुरु गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “खडेरीका कारण मकैको बीउ मासिएको क्षेत्र, आवश्यक पर्ने बीउको परिमाण र बीउ खरिदका लागि आवश्यक बजेट निकासाका लागि माग गर्न ११ वटै वडा कार्यालयलाई पत्राचार गरिएको थियो”, उहाँले भन्नुभयो, “बीउ नै मासिएपछि समस्यामा परेका किसानलाई ध्यानमा राखेर वडा कार्यालयको मागको आधारमा नगरपालिकाको तर्फबाट निःशुल्क मकैको बीउ वितरण शुरु गरिएको हो ।”

जिल्लाको प्रमुख बालीका रुपमा लगाइने मकै छर्ने बेला शुरु भएको अवस्थामा नगरपालिकाले मकैको बीउ खरिद गरेर खडेरीपीडित किसानलाई निःशुल्क वितरण शुरु गरेपछि किसानसमेत हर्षित बनेका छन् । नगरपालिकाको हावापानी सुहाउँदो ठाउँबाट खरिद गरेर ल्याइएको मकैको बीउ किसानलाई वितरण शुरु गरिएको जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, मङ्गलटार, दुर्छिम, सल्ले, राजापानी, अर्खौलेलगायत ११ वटै वडामा गत वर्षको वैशाख र जेठमा छरेको मकैको बिरुवा लामो समयको खडेरीले सुकेर सोत्तर भएको थियो । खडेरीका कारण कतिपय किसानले मकै छर्नसमेत पाएका थिएनन् ।

जिल्लामा मकै छर्ने सिजन गएपछि वर्षा हुँदा कतिपय किसानले असार लागेपछि मात्रै मकै छरेका थिए । तर, बेमौसममा छरिएको मकैको बीउ उम्रिए पनि उत्पादन भने नदिएको किसानहरुले बताएका छन् ।

नगरपालिकाको दूधकोशी र सुनकोशी किनार आसपासमा छरिएको मकै खडेरीले सबैभन्दा बढी सोत्तर बनेको थियो । विसं २०६८ मा सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा विसं २०१८ र २०३४ पछि २०७६ सालमा लामो समयसम्म खडेरी गएको स्थानीयवासीले बताएका छन् ।

खडेरीले मकैको विरुवा सुकेपछि कतिपय किसानले उखालेर गाईवस्तुलाई घाँस खुवाएका थिए भने कतिपय किसानले उखालेर बारीमै छाडेका थिए । मकैको बीउ नै मासिएपछि नगरपालिकामा खाद्यान्न सङ्कट निम्तिएको छ ।

उता, खोटेहाङ गाउँपालिकाले पनि यसअघि नै खडेरीपीडित किसानलाई ७५ प्रतिशत अनुदानमा ८०० केजी मकैको बीउ वितरण गरेको थियो । काठमाडौँबाट रु एक लाख २० हजारमा खरिद गरेर ल्याइएको मकैको बीउ किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो ।

गाउँपालिकाले वडा नम्बर–३ सावाकटहरे, वडा नम्बर–७ खोटाङबजार तथा वडा नम्बर–९ लिच्कीराम्चेका किसानलाई मनोकामना–३ र देउती जातको मकैको बीउ वितरण गरेको थियो । किसानलाई वितरण गरेको मकैको बीउले डढुवा सहन सक्ने, ध्वाँसे लाग्न नदिने र घोगा नकुहिने गाउँपालिकाले दाबी गरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्षको खडेरीले ठूलो क्षति गरेको थियो । पूर्वी पहाडी भेगमा पर्ने खोटाङ जिल्लामा खडेरीले अन्नबाली सखाप भएपछि अधिकांश स्थानीय तहमा भोकमरी शुरु भएको छ ।

गाउँमा भोकमरी शुरु भएपछि जिल्लाका अधिकांश युवापुस्ता दैनिक ज्यालादारी काम गर्न भारत गएका छन् । कोरोना भाइरसको महामारी भारतमा समेत फैलिएसँगै लकडाउन घोषणा गरिएपछि उनीहरु जिल्ला फर्कन पाएका छैनन् ।

जिल्लामै दैनिक ज्यालादारी काम गरेर बिहान÷बेलुकाको छाक टार्दै आएकालाई सम्बन्धित स्थानीय तहले राहत वितरण गरिरहेको छ । जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको हलेसी तुवाचुङ नगरपालिकाले राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरेर खाद्यान्न वितरण गरिहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !