अनार एक वहुवर्षिय, वहुउपयोगि पुनीकेसि(एगलष्अबअभबभ)परिवार अन्तरगतको फल हो । यो अति उपयोगि पौष्टिक तत्वयुक्त फलफूल मानिन्छ । विश्वका विभिन्न उष्ण तथा उपोष्ण प्रदेशिय देशहरुमा अनारको व्यवसायिक खेती हुदै आएको पाईन्छ । युरोपको स्पेन, अफ्रिकाको मोरक्को, ईजिप्ट, एशियाको अफगानिस्थान वेलाचिस्थान,चीन, जापान, तथा संयूक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा व्यवसायिक रुपमा खेती गरेको पाईन्छ ।
यस्को इतिहाँसलाई हेर्दा अनारको उत्तपत्ति इरानमा भएको मानिन्छ । नेपालको हावापानी तथा माटोको अवस्थालाई हेर्दा अनारको खेति डढेलधुरा, डोटी, आछाम, दैलेख, सुर्खेत, दाँड.,अर्घाखाँचि, पर्वत, नवलपरासि, तनहु, गोर्खा, धादिड., नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीदेखि पुर्वको ओखलढुंगा, भोजपुर, धनकुटा, इलाम सम्म समुन्द्र सतहवाट १८५० मीटर उचाइ सम्मको मध्य पहाडको उपोष्ण हावापानीयुक्त क्षेत्रमा सफलता साथ गर्न सकिन्छ । यस्को स्थानीय जातलाई दारिम भनिन्छ । अनारको खेतीले नेपालमा पनि विस्तारै व्यवसायिक रुप लिन थालेको देखिन्छ ।
अनारखेतीको लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?
गुणस्तरीय फल उत्पादनको लागि यसलाई लामो समयसम्म सुख्खा र तातो मौसमको आवश्यकता पर्दछ। लामो समयसम्म घाम लाग्ने, बसन्त ऋतु केहि सुख्खा हुने र हिउँद चिसो हुने स्थान बढी उपयुक्त मानिन्छ।
अनारलाई न्यूनतम र अधिकतम कतिसम्मको तापक्रम उपयुक्त होला ?
हिउँदको मौसममा अनार सुषुप्त अवस्थामा रहने भएकोले १० डिग्री सेल्सियस भन्दा तलको तापक्रमले पनि नोक्सान पुर्याउँदैन तर फल बढ्ने र पाक्ने समयमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा घामले डढेका दागहरु देखिन्छन्।
वातावरणीय हिसाबले अनारको सबैभन्दा राम्रो गुण के हो ?
अनार बालीले अन्य फलफूल बालीको तुलनामा सुख्खा सहन सक्दछ। यसको विशेषता के छ भने न्यानो हावापानी भएको क्षेत्रमा यो सदाबहार हुन्छ भने चिसो क्षेत्रमा पतझड हुन्छ।
अनार खेती समुद्र सतहबाट कति उचाई सम्म गर्न सकिन्छ ?
यसको खेती समुद्र सतहबाट ५०० देखि १४०० मिटरसम्म सफलताका साथ गरेको पाईएको छ। अनार फूल्न र फल्नको लागि आवश्यक पर्ने हिउँदमा ठण्डी र बाँकी समयमा गर्मी मौसम नेपालको हिमाली क्षेत्र बाहेक सबै भू-भागमा खेती गर्न सकिन्छ।
अनार खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?
वर्षातको समयमा पानी नजम्ने, ५.५ देखि ६.५ सम्मको पि.एच. मान भएको हल्का अम्लिय, गहिरो गरी जरा जानसक्ने दोमट माटो नै उपयुक्त हुन्छ।
हावापानीको दृष्टिकोणले उपयुक्त भएको तर माटोको पि.एच. मापनमा उपयुक्त नदेखिएको जमिनमा अनार खेती गर्ने कुनै उपाय छ?
हावापानीको दृष्टिकोणले उपयुक्त ठहरिएको क्षेत्रमा माटो जाँच गर्दा माटोमा अम्लय वा क्षारियपन बढी देखिएमा अम्लिय माटोमा कृषि चुन तथा क्षारिय माटोमा सिफारिश अनुरुपको जिप्सम प्रयोग गरेर माटो सुधार गरी यसको खेती गर्न सकिन्छ।
अनार बगैंचा लगाउन कुन तरिकाले रेखाङ्कन गर्न उपयुक्त हुन्छ ?
अनारको बगैंचा तराईको समथर जमिन देखि मध्य-पहाडको भिरालो जग्गासम्म लगाउन सकिने हुँदा समथर जमिनमा वर्गाकार/आयताकार/त्रिभुजाकार तरिकाबाट उपयुक्त हुन्छ भने पहाडी भिरालो जमिनमा गह्रा-कान्ला/कन्टुर तरिका अपनाउनु उपयुक्त हुन्छ।
अनार खेती गर्दा बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?
सामान्यतया अनारका बोटहरु धेरै वर्षसम्म नै वृद्धि भैरहने हुँदा कम्तिमा ४ X ४ मिटरको दूरि कायम गर्नु पर्दछ।
अनारको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?
साधारणतया १ घनमिटरको खाड्ल खन्नु पर्दछ तर ढुङ्गा, गेग्रान नभएको ठाउँहरुमा ६० x ६० x ६० से.मि. को खाड्ल भएपनि बिरुवा रोप्न सकिन्छ।
अनारको बिरुवा रोप्दा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको किन आवश्यक पर्दछ ?
बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्ड भएन भने बिरुवालाई उचित स्थान कायम गरी रोप्न सकिन्न। यसको प्रयोग खाड्ल खन्न तथा बिरुवा रोप्ने बेलामा आवश्यक पर्दछ।
अनारको बगैंचामा सिंचाई गर्न जरुरी छ ?
अनारको सानो बोटलाई सिंचाईको आवश्यकता हुन्छ तर हुर्की सकेको र पूराना बोटहरुलाई सिंचाईको सुविधा नभएपनि फल उत्पादनमा बाधा पुग्दैन।
अनार खेतीको लागि मलखादको व्यवस्था कसरी गर्न पर्दछ ?
अनारको बोटलाई उमेर अनुसार खाद्यतत्वको मात्रा फरक पर्दछ। उदाहरणको लागि १ वर्षे बिरुवाको लागि १० के.जी. कम्पोष्ट मल, ६० ग्राम नाईट्रोजन, ३० ग्राम फोस्फोरस र ३० ग्राम पोटास सिफारिश गरिएको हुन्छ भने ५ वर्ष भन्दा माथिका बोटलाई ५० के.जी. कम्पोष्ट मल, ३५० ग्राम नाईट्रोजन,२५० ग्राम फोस्फोरस र २५० ग्राम पोटास सिफारिश गरिएको हुन्छ।
नेपालमा अनारका प्रचलित जातहरु कुन कुन हुन् ?
हाल नेपालमा अनारको खेती बढ्दो क्रममा छ र विभिन्न भौगोलिक क्षेत्रमा विभिन्न जातहरुको खेती हुँदै आएको छ जसमध्ये मृदुला,गणेश,सिन्दुरी, बेदाना,कान्धारी,मस्कट रेड,रुबी,वण्डरफुल आदि मुख्य हुन्।
अनारमा बिरुवा प्रसारणको लागि कुन विधि अपनाइन्छ ?
अनारको बिरुवा बीउ वा बानस्पतिक दुबै तरिकाबाट उत्पादन गर्न सकिन्छ। नेपालमा यी दुबै तरिकाहरु अपनाउँदै आइएको छ।
अनारको बीउबाट तयार गरिएका बिरुवामा के कस्ता अवगुणहरु हुन्छन् ?
बीउबाट उत्पादन गरिएका अनारका बिरुवाहरु स्वयं परागसेचन मात्र नभै आंशिक वा पूर्ण परागसेचन पनि हुने हुँदा जातिय शुद्धता नभै फलमा एकरुपता हुँदैन। बीजु बिरुवा भएकोले फल पनि ढिलो उत्पादन हुन्छ।
अनारमा सबैभन्दा सफल कलमी विधि कुन हो ?
कलमी तरिकाले बिरुवा उत्पादन गर्न लेयरिङ्ग तथा कटिङ्ग दुबै तरिकाहरु अपनाईन्छ तर कटिङ्ग तरिका नै सरल र धेरै उत्पादन गर्न सकिने विधि साबित भएको छ।
अनारको कटिङ्ग सार्न के कुरामा विशेष ध्यान दिनु पर्दछ ?
अनारको कटिङ्ग जहिले पनि सुषुप्त अवस्था वा सुषुप्तबाट सुषुप्तको अन्तिम अवस्थासम्म (पुष-माघ) मा सार्न उपयुक्त हुन्छ। कटिङ्गको प्रत्येक टुक्रामा ५-६ वटा आँख्ला हुन जरुरी हुन्छ जस मध्ये २-३ वटा आँख्ला जमिन मुनि र २-३ वटा आँख्ला जमिन माथि हुनु जरुरी हुन्छ।
अनारको बगैंचामा अन्तरबाली लगाउन सकिन्छ ?
समथर जमिनमा लगाईएको बगैंचामा अतिरिक्त बिरुवा (Filler Plants) को रुपमा बेसार, अदुवा, काउली, बन्दा, मूलाआदि लगाई अतिरिक्त आम्दानी लिन सकिन्छ।
अनार बालीमा काटछाँट र तालिमको आवश्यकता पर्छ ?
अनारमा एकै पटक प्रशस्त काँडहरुको विकास हुन्छ। काटछाँट र तालिमको माध्यमबाट बोटलाई एउटै काण्डमा वा ३-४ वटा काण्डमा विकसित हुने गरी तालिम गर्न सकिन्छ।रोगकीरा लागेका, एक आपसमा टाँस्सिएका हाँगाहरुलाई फल टिपेपछि वा हिउँदमा काटेर हटाउनु पर्दछ।
अनार फल टिप्ने अवस्था भए नभएको कसरी पत्ता लगाउन सकिन्छ ?
अनारका केहि जातरुमा फलहरु पहेंलो रङ्गमा बदलिन्छन्। छिप्पिएका फललाई औंलाले फट्कारेर हाने भने धातुको भाँडा बजे जस्तै आवाज आउँछ। बीउको बाहिरी भागको रङ्ग रातो हुन्छ।
अनार भण्डारण कसरी गरिन्छ ?
भण्डारण गर्दा कुहिने रोगबाट बचाउन ०.२% को बेभिष्टिनले उपचार गर्नु पर्दछ। धेरै मात्रामा फलहरु भण्डारण गर्नु पर्दा फललाई काठको बाकस कागजले लपेटेर तह तह गरी राख्नु पर्दछ।साधारण अवस्थामा पनि अनारलाई अरु फलको तुलनामा बढी समयसम्म भण्डारण गर्न सकिन्छ।
अनारको सबैभन्दा हानिकारक कीरा कुन हो ?
अनारको सबैभन्दा हानिकारक कीरा अनारको पुतली हो। पुतलीले फलको बोक्राको भित्रपट्टी फूल पारेर छोड्छ र फलको विकासको साथै फुलबाटलार्भाको विकास गरी भित्र भित्रै फललाई खान शुरु गर्दछ। अन्त्यमा प्वाल पारेर पुतली बाहिर निस्कन्छ।
अनारको पुतलीको नियन्त्रण कसरी गरिन्छ ?
अनार फललाई कपडा,प्लाष्टिकवा कागजको थैलाले ढाकिदिनु सबै भन्दा उत्तम उपाय हो।कुनै कुनै अवस्थामा मेटासिड ०.५% वा सेभिन ०.२% १०-१५ दिनको अन्तरालमा छरेर पनि कीरालाई नियन्त्रण गर्न सकिन्छ।
अनारमा लाग्ने गवारो कीराले कसरी नोक्सान गर्दछ ?
यसले बोटको काँड र हाँगाहरुमा प्वाल पारेर भित्रभित्रै खाई रहेको हुन्छ। आक्रमण बढी भएमा फल उत्पादन हुन छोड्छ र बोटहरु कमजोर भएर जान्छ।
अनारमा लाग्ने गवारो कीराको नियन्त्रण कसरी गरिन्छ ?
कीराले बनाएको प्वालमा तारले घोचेर वा रुईलाई पेट्रोल/फर्मालिन/मट्टीतेलमा चोपेर प्वालमा राखी लेसिलो माटो वा मैनले प्वाललाई टालेर गवारो कीरालाई नियन्त्रण गर्न सकिन्छ।
अनारमा लाग्ने मिलीबग कीराको नियन्त्रण कसरी गर्न सकिन्छ ?
कीराले बोटको फेद वरपर जमिनमा फूल पार्ने हुँदा गर्मी महिनामा बोटको वरिपरि खनेर फूलहरु नष्ट गर्न सकिन्छ। हिउँद महिनामा चिल्लो पदार्थ ग्रिज वा रोजिन र काष्टरको तेल बोटको वरिपरि लगाई कीरालाई बोटमा माथि जानबाट रोक लगाउन सकिन्छ। यस कीरालाई नियन्त्रण गर्न प्राकृतिक परजीविको प्रयोग गर्न सकिन्छ।
अनारमा लाग्ने रोगहरुमा कुन सबैभन्दा हानिकारक छ ?
अनारमा फलको थोप्ले, पातको थोप्ले, फल कुहिने जस्ता रोगहरु देखा पर्दछन्। यी रोगहरु मध्ये फल कुहिने रोग सबैभन्दा खतरनाक हो। यस रोगमा फलको तलपट्टी कालो वा छेउतिरबाट सुकेजस्तो दाग बढ्दै जान्छ। साता दस दिनमा लगभग आधा फल कुहिएर नष्ट भै झर्छ।
अनारमा लग्ने यो रोगबाट बच्न कस्तो उपाय अवलम्बन गर्नु पर्ला ?
साधारणतया क्याप्टान ५०० ग्राम २०० लिटर पानीमा मिसाई १०-१५ दिनको अन्तरालमा छर्नु पर्दछ र बगैंचालाई रोगी हाँगाबिँगा, फल आदि हटाई सधैं सफा राख्नु पर्दछ।
अनारको फल फुट्ने अवस्था कसरी श्रृजना हुन्छ?
फल फुट्ने कुरामा विभिन्न मतहरु पाईन्छ। कसैको भनाईमा सुख्खा वातावरण र माटोको चिस्यान कम भएमा फलहरु फुट्छन् भने कसैको भनाईमा सुख्खा माटोको वातावरण पछि सिंचाई गरेमा फलहरु फुट्दछन्।फल फुट्ने क्रिया बोरोनको कमी भएमा वा जातिय स्वभावको कारणले पनि फुट्न सक्दछ।
अनार फलमा देखा पर्ने यस अवस्थालाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
यसको नियन्त्रण गर्न माटोमा चिस्यान कायम राखी क्याल्सियम र बोरोन सुक्ष्मतत्व दिँदै गरेमा फल फुट्ने क्रियालाई नियन्त्रण गर्न सकिन्छ।