७ मंसिर २०८१, शुक्रबार

६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री


६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री

त्रिवेणी, रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिनुभयो । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।

एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई रु चार हजारका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।

व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख आम्दानी गरेको बताउनुभयो । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल रु चार हजारदेखि आठ हजारका दरले बिक्री गरेकोे उनले बताए ।

त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए । तीस वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी गरेको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल रु चार हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल रु आठ हजाार देखि १० हजारसम्म बिक्री भएकामा उनी सी हुन् ।

“पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु”, उनले भने । यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !