७ बैशाख २०८१, शुक्रबार

खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात


काठमाडौं । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्च मात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषि प्रधान देश हो’ का रुपमा संज्ञा दिइन्छ ।

नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७/०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको विवरणले देखाएको छ ।

विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै रु ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको देखिन्छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्रको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बौ रकम विदेशिनबाट जोगिन सक्ने देखिन्छ ।

निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषि उपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशि विदेशिएको छ । पहाडका अधिकांश भूभाग बाँझो छ । नेपालको कूल खेतीयोग्य जमिनमध्ये सात प्रतिशत बराबरको जमिन बाँझो छ । झण्डै रु ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !