१४ पुस २०८१, आइतबार

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा


जुम्ली काँचो स्याउ

खलङ्गा । परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु ५० का दरले स्याउ बेचेका छन् ।

सो काँचो स्याउ कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत, नेपालगञ्जका बजारसम्म पुगिसकेको छ । स्याउ पूर्ण रुपमा कलर वा परिपक्का भएको छैन । गुलियोको मात्रा पनि कम छ । काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्न खडा भएको यहाँका स्थानीय तहका कृषि प्राविधिकहरु बताउँछन् ।

जुम्ला अर्गानिक स्याउको राजाधानी हो । स्याउको पहिचानको जिल्ला जुम्ला हो । यहाँका हरेक घरमा न्यूनतम ५० स्याउका बिरुवादेखि एक हजारभन्दा बढी बिरुवाका स्याउका बगैँचा छन् । यहाँका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत समेत रहेको स्याउ पछिल्लो समयमा अपरिपक्व हुँदै काँचो टिप्नाले समस्या देखिन थालेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

यही भदौ १० गतेभन्दा अगावै स्याउ नटिप्न किसानलाई आग्रह गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, “देशका ठूला नाम चलेका बजारमा जुम्ली स्याउको पहिचान निकै राम्रो छ । पूर्ण रुपमा पाकेको स्याउ लैजाँदा बजारीकरणमा समस्या पनि आउँदैन ।

नपाकेको स्याउ बजारसम्म पुर्याउनु किसानका लागि फाइदाजनक हुँदैन । यसमा सबै किसान सचेत हुन जरुरी छ ।” नपाकेको स्याउ लैजान नदिन सडक सञ्जालसँग जोडिएका स्थानीय सरकार र प्रहरी चौकीलाई भनिएको छ ।

किसान र व्यापारीको अटेरिपनका कारण जुम्लाको काँचो स्याउ बजारमा पुगेको छ । सो स्याउले यहाँको पहिचान गुम्ने खतरा देखिएको उनको भनाइ छ ।
भदौ महिनाको दोस्रो सातादेखि मात्र जुम्ली स्याउ परिपक्व हुन्छ । एउटा स्याउमा हुनुपर्ने गुलियोपनाले पूर्णता पाउँछ । स्याउमा पूरै कलर भरिन्छ ।

हेर्दे आकर्षक देखिने जुम्ली स्याउ हरियो कलरमा, टर्रो स्वादमा बिक्री हुन थालेपछि समस्या हुन थालेको छ । जिल्लाबाहिर स्याउ निर्यातका लागि सम्बन्धित गाउँपालिका तथा वडापालिकाको सिफारिस अनिवार्य हुनुपर्छ । यहाँका स्थानीय तहले स्याउ पाके÷नपाकेको ख्याल नराखेर सिफारिस दिनाले समस्या भइरहेको छ ।

“हरेक वर्ष नपाकेको स्याउ निर्यात गर्न सिफारिस नदिनू होला भनिराखेका हुन्छौँ । तर स्थानीय सरकारले धमाधम सिफारिस दिन्छन्”, प्रमुख देवकोटाले भने, “जुम्ली स्याउको पहिचान बचाउन स्थानीय सरकार संवेदनशील हुनैपर्छ ।”

अहिले नै जुम्लाको व्यापारी स्याउ खोज्दै बगैँचामै पुग्छन् । बगैँचामै पुगेको व्यापारीलाई किसानले स्याउ सहजै रुपमा दिने गरेका छन् । कृषि विकास कार्यालय जुम्लाका अनुसार बगैँचामै किसानले प्रतिकिलो रु ५० देखि ६० सम्ममा स्याउ बेचिरहेका छन् ।

यहाँको स्याउ सुर्खेत र नेपालगञ्ज बजारमा रु एक सय १० मा किनबेच भइरहेको छ । व्यापारीले किसानबाट स्याउ लगेर दोब्बर फाइदा असुली गरिरहेका छन् तर यहाँका किसान नपाक्दै स्याउ व्यापारीलाई दिएर पहिचान धरापमा पार्दैछन् ।

परिपक्व भइसकेपछि टिपेको स्याउको मूल्य अझै बढ्न सक्ने कृषि प्राविधिकको भनाइ छ । यहाँ स्थानीय रेड, गोल्डेन, जनाथन र रोयल जातको स्याउ फल्छ । उन्नत जाततर्फ रेड र गोल्डेन जातको स्याउ फल्छ । उन्नत जातको स्याउ पूर्णकलर भरिसकेपछि मात्र टिपिन्छ ।

स्थानीय जातको स्याउ नपाक्दै टिप्न थालिएको छ । स्याउले बर्सेनि करोडौँको आम्दानी भित्र्याउँछ तर स्याउको गुणस्तरमका बारेमा किसानले चासो राखेको पाइँदैन । जुम्ली स्याउ काँचो टिप्ने परिपाटीको अन्त्य हुनुपर्ने यहाँका सरोकारवाला बताउँछन् ।

जुम्लामा अहिले तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । कृषि कार्यालयका अनुसार बर्सेनि स्याउको क्षेत्रफलमा वृद्धि भइरहेको छ । यो वर्ष जिल्लामा रु १६ करोड मूल्य बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !