७ बैशाख २०८१, शुक्रबार

बाख्रापालक किसानलाई बोयर बोका उपहार


बोयर बोका उपहार

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक/एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

वरपर बाक्लै वनक्षेत्र रहेको बर्दिबास नगरक्षेत्रमा बाख्रापालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ । किसानलाई व्यावसायिकरुपमै बाख्रापालनतर्फ आकर्षित गराउन बीउको बोयर बोका वडैपिच्छे एक÷एकवटा दिइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । बोका पाल्ने किसानले पालेको व्यवस्थापकीय खर्च जुटाउन प्रतिबाख्रा प्रजननबापत बढीमा रु २५० लिन पाउने गरी नियम बाँधिएको जनाइएको छ । वडैपिच्छे एक/एकवटा बीउ बोका पु¥याउन खरिददेखि ढुवानीसमेत १४ वटा बोकामा रु १४ लाख १० हजार खर्च भएको पराजुलीले जानकारी दिनुभयो ।

अब चार महिनापछि प्रजनन क्षमताका हुने बोयर बोकाले नगर क्षेत्रमा उन्नत जातका बाख्राको वंश वृद्धि हुने नगर कार्यपालिकाको कार्यालयको अपेक्षा छ । खँदिलो जिउडालको हुने बाख्रामा बोयर जात उन्नत र चाँडै मासु बढ्ने मानिएको छ । वडैपिच्छे वितरण गरिएका बोयर बोकाबाट एक वर्षभित्र बस्ती बस्तीमा उन्नत जातका पाठापाठी ह्वात्तै वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउनुभयो । बीउका लागि उन्नत जातको बोयर बोका आफ्नै बस्तीमा पाएपछि बाख्रापालक किसान उत्साहित भएका छन् ।

नगर कार्यपालिकाको कार्यालयले एक साता पहिलेमात्र नगरक्षेत्रका विभिन्न कृषक समूहमा आबद्ध किसानलाई सम्बन्धित वडा समितिको सिफारिसमा मासुजन्य पशु प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५० राँगा र २५० वटा बाख्रा वितरण गरेको थियो । सो कार्यक्रम सङ्घीय सरकारको साझेदारीमा गरिएको पराजुलीले जानकारी दिनुभयो । यो कार्यक्रमबाट कृषक समूहमा आबद्ध १०० परिवार किसान लाभान्वित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !