१० मंसिर २०८१, सोमबार

कुलो बगाएपछि धान उत्पादन घट्ने अनुमान


dhan_khabarbreak

तनहुँ, २९ भदौ । व्यास नगरपालिका–१० स्थित चिसापानी पातीघारी फाँटको उर्बर खेतमा लगाएको धानबाली सिँचाइको अभावमा प्रभावित भएको छ ।

कलेस्ती खोलामा आएको बाढीले सिँचाइ हुँदै आएको कुलो बगाएपछि सिँचाइमा समस्या भएको छ । अविरल वर्षासँगै उक्त खोलामा आएको बाढीले कुलो बगाएपछि व्यास नगरपालिका ९ र १० का किसानले करिब पाँच सय रोपनी खेतमा रोपिएको धानबाली प्रभावित भएको हो । अविरल वर्षाका कारण ती खोलामा आएको बाढीले पोख्रेल फाँटका पक्की पुलदेखि पूर्व दिशामा रहेको पानीको कुलो पूर्णरुपमा भत्काइ दिएको व्यास– १० वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

खेतमा सिँचाइ गरिँदै आएको बाँध कुलो बाढीले बगाएपछि वडा कार्यालयको पहलमा खेत सिँचाइका लागि ६५ मिटर लामो चार इन्चको दुई वटा पोलिथिन पाइप प्रयोग गरेर अस्थायी रुपमा व्यवस्था मिलाइएको वडाध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार बाढीले २५० मिटर लामो कुलो बगाउनुका साथै केही क्षेत्र समेत कटान गरेकाले तत्काल निर्माण गरी पानी सञ्चालनमा ल्याउन नसक्ने अवस्था रहेको छ । सो कुलो निर्माणका लागि प्राविधिकको सहयोगमा उक्त क्षेत्रको स्थलगत सर्भे गरी करिब रु ४७ लाखको लागत इष्टिमेटसहित कृषि ज्ञान केन्द्र तनहुँमार्फत गण्डकी प्रदेश सरकारलाई परिपत्र गरिएको छ ।

प्रदेश सरकारबाट यसै आर्थिक वर्षभित्र पक्की नहर र ग्याबिन भरेर तटबन्धन गरी पुनःनिर्माणको कार्य गरिने आश्वासन पाएको अध्यक्ष सापकोटाको भनाइ छ । व्यासनगरपालिका–९ माफ फाँटका उपभोक्ता नारायणप्रसाद न्यौपानेले खेत सिँचाइ गरिँदै आएको कुलो बाढीले पूर्ण रुपमा क्षति हुँदा सोचे अनुरुप धानबालीमा सिँचाई गर्न नसकिएको हुँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !