राँझा, २९ असार । बाँकेमा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो । “आकाशे पानी र सिक्टा सिँचाइको पानीले समयमा रोपाइँ भएकाले यसवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष असारमै रोपाइँ सकिने भएको छ ।”
उहाँका अनुसार गत वर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने अनुमान गरिएको छ । यहाँ ३६ हजार ५०० हेक्टरमा रोपाइँ हुन्छ । विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यस वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको छ । जिल्लाको जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा रोपाइँ सकिएको छ ।
किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । खजुरा गाउँपालिका–२ का अगुवा कृषक अर्जुन उप्रेतीले यस वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा रोपाइँ सकिएको बताउनुभयो ।
धानखेती हुने ३६ हजार ५०० हेक्टर जमिन मध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् । यस वर्ष सिक्टा सिँचाइले परीक्षणको रुपमा छोडेको पानीले किसानलाई धेरै राहत पुगेको कोहलपुरका समाजसेवी एवं राजनीतिज्ञ सूर्य ढकालले जानकारी दिनुभयो ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई मध्यनजर गर्दै पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्र–शाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताउनुभयो । उहाँकाअनुसार पश्चिमी मूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको छ । “हामीले वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, जेठ १५ पछि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतवारीसम्म पानी पु¥याउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा जसो क्षत्रफलमा सिक्टाको पानी पुगेको छ ।”
अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत १ हजार हेक्टर गरी १६ हजार हेक्टरमा धानखेतीलाई सहजै सिँचाइ दिन सकिने उहाँले जानकारी दिनुभयो ।