काठमाडौँ, १२ असार । औपचारिक रुपमा आगामी सोमबारबाट नेपालमा धान रोपाइँ शुरु हुँदैछ । असार १५ मा दही-चिउरा खाने प्रचलन छ । चिउरा धानबाट तयार गरिने परिकार हो । नेपालीको प्रमुख खाद्यान्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ ।
यसवर्ष “धान उत्पादनमा वृद्धि-आत्मनिर्भरता र समृद्धि” नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ललितपुरको खुमलटारमा आयोजना हुने भएको छ ।
कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिनुभयो । यसअघि २० प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ ।
नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय भएको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । असार १० सम्म आइपुग्दा नेपालको उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भई सकेको छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ ।
नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।
नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ ।
नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ ।
धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ । धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिनुभयो । उहाँले भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुको विकल्प नरहेको जानकारी दिनुभयो ।
विश्वका झण्डै चार प्रतिशत जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल रहेको छ । संसारमा झण्डै १७ करोड हेक्टर जमिनमा धानखेती हुन्छ । सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीन पछि भारत, इन्डोेनेशिया, बङ्गलादेश, भियतनाम प्रमुख धान उत्पादन गर्ने राष्ट्र हुन् । नेपाल विश्वको १७ औँ धान उत्पादन गर्ने देश रहेको अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा चैते, वर्षे र घैया, भदैया र हिउँदे धान (बोरो) का रुपमा धानखेती गरिन्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ ।
संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो ।
हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोष जनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषण गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको छ ।