काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् ।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन आज आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न चुनौतीपूर्ण भइरहेको बताए ।
उनले आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडा ठुलो हुने भन्दै सङ्कटको यस घडीमा सरकार गम्भीर र संवेदनशील रहेको बताए । नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व भएकाले सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहका अनुसार बाढीपछि हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । राहत तथा उद्धारका लागि आइतबार थप ७२ सहित हालसम्म ३९४ उडान भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रभावित विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ भने रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको उनले जानकारी दिए ।
त्यस्तै, प्रभावित क्षेत्रबाट २६७ घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय तथा काठमाडौँका विभिन्न अस्पतालमा पुर्याइएको छ । तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रधानमन्त्री शाहले राहत तथा उद्धारका लागि स्वदेश तथा विदेशबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त भइरहेको बताए । प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको उनले जानकारी दिए ।
बाढीमा ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको जानकारी दिँदै प्रधानमन्त्री शाहले पहिचान भएका शव आफन्तलाई जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको बताए । प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सरकार, सुरक्षा निकाय, स्वयंसेवक तथा नागरिक सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए ।









