४ भदौ २०८३, बिहिबार

धुर्मुसको पीडा : १८ करोडको ऋण बोकेर फेरि फर्किए अमेरिका


सीताराम कट्टेल

काठमार्डाैँ । कलाकार सीताराम कट्टेल (धुर्मुस) अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन् ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडिएको ऋण तथा समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा पहल गरेपनि अपेक्षित परिणाम नआएको भन्दै उनी अमेरिका फर्किएका हुन्। धुर्मुसले सामाजिक सञ्जालमार्फत आफ्नो नेपाल बसाइका क्रममा रंगशालाको समस्या समाधानका लागि निरन्तर प्रयास गरेको बताएका छन्।

उनका अनुसार समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा पुगे पनि आफूले न्यायको अनुभूति गर्न सकेनन्। उनले रंगशालाका लागि विनियोजित १५ करोड रुपैयाँसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आएको बताएका छन्।

उनले १८ करोड ४३ लाख रुपैयाँको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन् । उनले १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन भनेर कटाक्ष गरेका छन् ।

‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ’ भन्ने आशाका साथ छोरीसहित नेपाल फर्किएको उल्लेख गर्दै धुर्मुसले दुई महिनासम्म निरन्तर प्रयास गर्दा पनि समस्या समाधान हुन नसकेको बताएका छन्।

उनले आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवास्तामा परेको अनुभूति भएको बताएका छन्। समाज र राष्ट्रका लागि आफ्नो जीवनको करिब १० वर्ष समर्पण गरे पनि राज्यबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले कटाक्षसमेत गरेका छन्। यद्यपि, धुर्मुसले भविष्यप्रतिको आशा भने नछाडेको बताएका छन्।

कुनै दिन राज्यले आफ्नो समस्या बुझ्ने र समयले सत्य बाहिर ल्याउने विश्वास व्यक्त गर्दै उनले आफ्नो पीडा सुनिने तथा संघर्षको मूल्यांकन हुने दिनको प्रतीक्षा गर्ने बताएका छन्। रंगशाला निर्माणका क्रममा आर्थिक दायित्व बढ्दै गएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले समस्या समाधानका लागि सरकारसँग पटक–पटक सहयोगको आग्रह गर्दै आएको छ।

पछिल्लो समय सरकारले रंगशालासँग सम्बन्धित दायित्व व्यवस्थापनका लागि बजेट विनियोजन गरे पनि आफू ऋणमुक्त हुन नसकेको धुर्मुसको भनाइ छ।अमेरिका फर्किँदै गर्दा उनले आफू नेपालबाट टाढा भए पनि आफ्नो देश र यहाँका शुभेच्छुकप्रतिको माया तथा आशा जीवित रहेको बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !