२२ जेष्ठ २०८३, शुक्रबार

बालेनप्रति राजेश हमालको कटाक्ष : अदूरदर्शी नेतृत्वले राष्ट्रलाई गम्भीर संकटतर्फ लैजानसक्छ


राजेश हमाल र बालेन शाह

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले प्रधानमन्त्री बालेन शाहप्रति कडा टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै हमालले आजको ढामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गरेका छन् ।

हालै संसद् बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीति तरंगित बनेको बेला महानायक हमालको टिप्पणी बाहिर आएको हो । उनले नेपालको सीमासम्बन्धी बहसमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको भनाइप्रति घुमाउरो रूपमा असहमति प्रकट गरेका हुन् ।

उनले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना आउन सक्ने बताएका छन् । हमालले नेपालको सीमा सम्बन्धी विवादमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक विषय भएको उल्लेख गरेका छन् ।

उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय नागरिक, खुला सीमा, नदीको धार परिवर्तन, हराएका सीमा स्तम्भ वा बस्ती विस्तारजस्ता कारणसँग सम्बन्धित हुन्छ । यस्ता समस्या प्रशासनिक तथा स्थानीय प्रकृतिका हुने भएकाले संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिने उनले बताएका छन् ।

हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन् । हमालको यो अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री बालेन शाहको हालैको विवादास्पद भनाइप्रतिको अप्रत्यक्ष प्रतिक्रिया र आलोचनाका रूपमा व्याख्या गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु